देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस ६
बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाले पहाड र तराईको केही भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ ।
चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको कारण आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा बदली भई केही भू–भागमा हल्का वर्षा हुनेछ ।
आज बिहानैदेखि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बदली रहेको छ ।
आज काठमाडौंको न्यूनतम २.५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।
अघिल्लो साता काठमाडौंको न्यूनतम तापक्रम ५ र ६ डिग्रीको हाराहारीमा थियो ।
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस मापन गरिएको छ । रासस