योगेश भट्टराईको गुनासो- घर भएको बताउँदा पनि घरभाडा जोडियो
ताप्लेजुङबाट निर्वाचित नेकपा सांसद योगेश भट्टराईले आफ्नो व्यक्तिगत विवरणमा काठमाडौंमा घर भएको उल्लेख गर्दा पनि संसद सचिवालयले आफूले पाउने रकममा घरभाडा जोडिदिएको गुनासो गरेका छन्।
“संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरूको विवरण फारम भराउँदा मैले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रूपमा उल्लेख गरेको छु,” सांसद भट्टराईले १ पुसमा प्रकाशित विज्ञप्तिमा भनेका छन्, “घरभाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु।”
संसदीय क्षेत्रमा अनुभवको कमी तथा सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकामा उनले दुःख व्यक्त गरेका छन्। हालसम्म घरभाडावापत आफूलाई आएको रु. ९० हजार फिर्ता लिन तथा आगामी महीनामा प्राप्त हुने पारिश्रमिकबाट उक्त शीर्षकको रकम हटाउन उनले आग्रह गरेका छन्।