ओलीको ठट्टा- मिल्ने भए दुई प्रधानमन्त्री भएर देश चलाउँथ्यौं
प्रधानमन्त्री केपी शर्मा ओली ठट्टा गर्न माहिर नेता मानिन्छन्। त्यसक्रममा आलोचना र वाहवाही दुवै बटुल्दै आएका छन् उनले। १ पुसमा उनले यस्तै ठट्टा गरेका छन्- दुई प्रधानमन्त्री भएर देश चलाउने।
तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी संगठन र माओवादी केन्द्र निकट गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएशनबीच एकीकरणबाट गठित नेपाल कानून व्यवसायी संगठन घोषणा सभामा ओलीले त्यसका लागि संविधान वाधक रहेको अभिव्यक्ति दिए। उनले भने, “संविधानले दिँदैन, नत्र दु्ई जना मिलेर प्रधानमन्त्री भई देश चलाउथ्यौं।”
नेकपामा दुई अध्यक्ष भएर राम्ररी पार्टी चलाएको र यत्तिको राम्रो उदाहरण संसारमा कहीं देखिएको उनको दाबी थियो। उनले थपे “प्रजातन्त्रको नमूना काम गर्ने हाम्रो पार्टी नै हो।” मुलुकमा गणतन्त्रलाई संस्थागत गर्न नचाहनेहरूले 'अकारण प्रचार युद्ध' शुरु गरेको उनको भनाइ थियो।
नेपाल प्रहरीले तालिम केन्द्र काभ्रेको पनौतीमा सार्ने भनेर १५ सय रोपनी जग्गा किन्ने तीन दशक अगाडिको निर्णय भएको उनले उल्लेख गरे। “राष्ट्रपतिले प्रहरीको ठाउँ लिन खोजेको रे, यो राष्ट्रपतिका विरुद्ध होइन, गणतन्त्रका विरुद्ध हो, गणतन्त्रका विरुद्ध बोल्ने र राजतन्त्र ब्युँत्याउँछौं भन्ने सपना नदेखे हुन्छ,” ओलीले भने। नागरिकको अधिकार र प्रेस स्वतन्त्रता खुम्चिएको भन्ने गलत प्रचार गरिएको दाबी गर्दै प्रधानमन्त्रीले कम्युनिष्ट सरकारले यस्तो नगर्ने बताए।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले देशलाई समृद्ध बनाउने अभियानमा कानून व्यवसायीले काम गर्नुपर्नेमा जोड दिए।