ब्लगशनिबार, २९ मंसिर , २०७५

३०० अक्षरको पत्रकारिता

भैरव रिसाल

आकाशवाणीको समय सीमाका कारण समाचार पठाउन नसकेपछि प्रधानमन्त्री कीर्तिनिधि विष्टका सचिवले झोक्किंदै भने– ‘समाचार किन आएन रेडियोमा ?’

पत्रकारितामा के आकर्षण र जादू छ, कुन्नि ! प्रायः मानिस यसप्रति लट्ठिन्छन् । जति नै ठूलो ओहोदाका मानिस पनि मोहित हुन्छन् । तर, पत्रकारका लागि भने जुनसुकै समय चुनौती र संकटपूर्ण हुन्छ ।

कुरो हो, ५० वर्षअघिको । २०२५ सालतिर नेपालमा टेलिफोन सेवा सहज थिएन । जिल्ला–जिल्लाबाट काठमाडौंमा समाचार छिटो पठाउने माध्यम आकाशवाणी मात्र थियो । प्रायःजसो जिल्ला सदरमुकाममा आकाशवाणी सेवा हुन्थे, तर दिनमा एक–डेढ घण्टाभन्दा बढी चल्दैनथे ।

श्री ३ पद्मशमशेरकै पालामा २००४ सालमा आकाशवाणी सेवाका लागि उपकरण ल्याइसकिएको रहेछ । तर, मोहनशमशेरले आफ्नो राज्यकालमा स्थापना भएको देखाउन सो योजना रोकेछन् । अन्ततः त्यो सेवाको नाम नै ‘मोहन आकाशवाणी’ राखियो ।

कीर्तिनिधि विष्ट ।

आकाशवाणी सेवा सञ्चालन भएपछि जिल्लाहरूबाट केन्द्र अर्थात् काठमाडौंमा समाचार पठाउन त सजिलो भयो । तर, त्यसको जटिलता पनि आफ्नै प्रकारको थियो । सबै जिल्लाहरूबाट खबर टिप्नुपर्ने भन्दै केन्द्रले एउटा जिल्लालाई दिनमा एक–डेढ घण्टाभन्दा बढी समय दिंदैनथ्यो ।

समयको त्यही सीमा अनुसार आकाशवाणीबाट समाचार पठाउँदा जम्मा ३०० अक्षरमा अटाउनुपथ्र्यो । त्यसरी अक्षरमा बाँधिनुपर्ने पत्रकारिताको सकस धेरै वर्ष भोगियो ।

आकाशवाणीका कारण अवगाल
प्रधानमन्त्री, वरिष्ठ मन्त्री जिल्ला भ्रमणमा जाँदा समाचार संकलनका लागि राष्ट्रिय समाचार समिति (रासस) बाट प्रायः जानैपथ्र्यो । ती विशिष्ट व्यक्तिहरूको मानसिकता हुन्थ्यो, आफूसम्बन्धी समाचार धेरै अर्थात् विस्तारमा आओस् । तर, समस्या त उही थियो, ३०० अक्षरको बन्धन ।

त्यस्ता विशिष्ट व्यक्तिको भ्रमणमा तिनका सचिवहरू पनि जाने नै भए । उनीहरू लामा समाचार दिएन भनेर हामीलाई रुचाउँदैनथे । कुनै–कुनै सचिव त ‘कति छोटो खबर दिएको’ भनेर मुखै फोरेर भन्थे ।

मेरो बानी नै थियो, आकाशवाणीबाट लामो समाचार पठाउन सकिंदैन भन्ने बुझेर उक्त सीमाबारे पहिल्यै विशिष्ट व्यक्तिलाई सुनाइहाल्थें । त्यति गरेपछि जसले जति कुरा लगाए पनि गाल नपर्ने ।

मेरो ६३ वर्षको पत्रकारिता यात्राले के सिकाएको छ भने, जो मानिस आफूलाई प्रचार चाहिंदैन भन्छन्, उनीहरू नै प्रचारका बढी भोका हुन्छन् ।

प्रचार नचाहने व्यक्ति प्रचार चाहन्नँ वा चाहन्छु केही भन्दै भन्दैन । कीर्तिनिधि विष्ट प्रधानमन्त्री छँदा उनका सचिव थिए, प्रा.डा. दिव्यदेव भट्ट । एउटा हिउँदमा उहाँहरू इलाम भ्रमणमा जाँदा म पनि साथै गएको थिएँ ।

त्यहाँको कार्यक्रम सकेर समाचार पठाउन म आकाशवाणीको कार्यालय पुगें । तर, काठमाडौंमा आकाशवाणी गर्ने समय सकियो भनेर समाचार लिंदै लिएनन् । मैले ‘प्रधानमन्त्रीज्यूको समाचार हो, पुनर्विचार गर्न सकिन्छ कि ?’ भनेर जोड गरें । मसँगै रहेका तत्कालीन चर्चा साप्ताहिकका सम्पादक नेपालभूषण न्यौपानेले घरी अनुनय र घरी कडाइका साथ कुरा गर्दा पनि समाचार पठाउन सकिएन ।

प्रधानमन्त्रीका सचिव डा. भट्ट रेडियोमा समाचार नबजेपछि रिसले आगो भएछन् । हामीलाई देख्नासाथ उनी कराए, “समाचार किन आएन रेडियोमा ?” मैले कुरा बुझाउन खोज्दा कुरै नसुनी सचिव भट्ट एकोहोरो पड्किरहे ।

सचिवको व्यवहार नेपालभूषणलाई पचेनछ र ठाडै भने, “हामीले सकेनौं, शक्ति भए तपाईं गएर पठाउनोस् ।” तब प्रधानमन्त्री विष्टले डा. भट्टलाई सम्झाए, “आकाशवाणीले पठाएनछ । भोलि बेलैमा पठाउनुहुन्छ, भैहाल्छ नि !” यति भनेपछि बल्ल साम्य भयो ।

कीर्तिनिधि नै प्रधानमन्त्री भएको बेला सर्लाही, धनुषा, महोत्तरी जिल्लाको भ्रमणमा गएका थियौं । त्यसबेला प्रधानमन्त्रीका सचिव वासुदेव प्याकुरेल थिए । भाषण गरेको बेला थोरै मात्र टिप्यो भनेर उनले प्रधानमन्त्री विष्टलाई मेरो बारे उजुरी गरेछन् ।

३०० अक्षरमा गनेर समाचार पठाउनुपर्ने भएकाले अनावश्यक लम्बेतान भाषण टिपेर के काम भनेर म महत्वपूर्ण बुँदा मात्र टिपोट गर्थें । यो गाँठी कुरा सचिव प्याकुरेलले नबुझ्े पनि प्रधानमन्त्री भने बुझ्थे । विष्टले प्याकुरेललाई सम्झएछन् र कुरा त्यहीं टुंगियो ।

प्रतिकृया दिनुहोस