रिपोर्टशनिबार, २९ मंसिर , २०७५

बालबालिकाको प्रश्न- ‘मिस, गरीबको सपना पूरा हुन्छ कि हुँदैन?’

सविना देवकोटा

फरक-फरक सामाजिक-आर्थिक परिवेशमा हुर्कंदै गरेका ग्रामीण बालबालिकाहरूमा आत्मविश्वास भर्न परिवेश सुहाउँदो पाठ्यक्रम, शिक्षक र शिक्षण पद्धति निर्माण गर्नु आवश्यक छ।

“मिस, गरीबको सपना पूरा हुन्छ कि हुँदैन?” १० कक्षामा पढ्ने रामबाबु मण्डल (१६) को यो प्रश्नले कक्षालाई नै अवाक बनाइदियो। धनुषाको मिथिलेश्वर मौवाही माविमा एकदिने कक्षा लिन पुगेकी सञ्चारकर्मी सरिताश्री ज्ञवालीलाई यो प्रश्नले अशान्त बनायो।

डाक्टर बन्ने चाहना राखेका रामलाई गरिबीकै कारण आफ्नो सपना पूरा हुँदैन कि भन्ने लागेको थियो। जवाफमा ज्ञवालीले उत्कृष्ट विद्यार्थीलाई सरकारले छात्रवृत्तिमा पढाएर डाक्टर बनाउन सक्ने भन्दै रामको चित्त बुझाउने प्रयास गरिन्। तर, रामको अनुहारबाट अन्योलको भाव हटेन। उनले थपे, “मलाई त गरीबका सपना पूरा हुँदैनन् जस्तो लाग्छ।”

“मिस, हामीले पढेर पनि केही हुँदैन। हामीलाई गाह्रो छ,” आफू महिला भएकै कारण पढेको काम लाग्दैन भन्ने मानसिकता बनाएकी कक्षा ९ की रागिनी ठाकुरको गुनासो थियो, काठमाडौं विश्वविद्यालयकी पूर्वसहायक प्राध्यापक अमिना सिंहसँग।

महिला भएकै कारण मन लागेको काम गर्न नपाइने र भनेको ठाउँमा जान नपाइने परिवेशमा हुर्किंदै गरेकी रागिनी पढेर पनि पाउन नसकिने ठानिएको स्वतन्त्रताको खोजीमा छिन्। “आमाबुवासँग रिसाउन मन लाग्दैन। नरिसाइरहन पनि सक्दैनौं,” रागिनीले फेरि प्रश्न गरिन्, ‘हामीले के गर्नुपर्छ, मिस?”

“मिस, हामीले कस्तो सपना साँच्ने?” जनकपुरधाम-२०, रूपैठ बेल्हीस्थित श्रीराष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढिरहेकी एक छात्राले टिच फर नेपालकी अध्यक्ष रेसु अर्याल ढुंगानालाई सोधिन्।

“फरक-फरक परिवेशमा विद्यार्थीहरूको समस्या पनि फरक हुँदा रहेछन्,’ रेसु भन्छिन्। भिन्न सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवेशका विद्यार्थीहरूको प्रश्नले नै सग्लो समाजको प्रतिनिधित्व गर्ने उनको बुझाइ छ।

“यी प्रश्नहरूमा समाज देखिन्छ। डर भेटिन्छ। शंका छ। संस्कृति र अर्थतन्त्र पनि छ,” उनी भन्छिन्, “त्यसैले काठमाडौंका र धनुषाका बालबालिका लागि एउटै पाठ्यक्रम र उस्तै पद्दतिमा पढाएर हुँदैन।” स्थान विशेषअनुसार पाठ्यक्रम र शिक्षण पद्दतिमै परिमार्जन गर्नुपर्ने अर्यालको सुझाव छ। उनका अनुसार धनुषाका बालबालिकाका सपना पढाइभन्दा बलिया छन्। भन्छिन्, “राजधानीमै हुर्केका बालबालिकामा पढाइ बलियो भएर पनि सपना कमजोर हुन सक्छ।”

सपनाको उडान
“पढेर ठूलो भएपछि म खलासी बन्छु सर !”

पाँच वर्षअघि ललितपुरको दुर्गम गाउँ गिम्दीस्थित नारायणी माविमा पढाउन पुगेका शिक्षक प्रज्वल खड्काको प्रश्नमा धेरै विद्यार्थीले यस्तै जवाफ दिएका थिए। टिच फर नेपालबाट खटिएका ती स्वयंसेवी शिक्षक विद्यार्थीको उत्तरले झसंग भए।

गाडीमा खलासी काम गर्ने युवालाई रोलमोडल बनाएर हुर्कंदै गरेका गिम्दीका बालबालिकाको सपनाको हद त्यति नै थियो त्यसबेला। खलाँसी बन्न चाहने ती बालकहरूमध्ये एक भने पाँच वर्षपछि विज्ञान विषय लिएर १२ कक्षा उत्तीर्ण भइसकेका छन्। कम्प्यूटर इञ्जिनियरिङ पढ्न अमेरिका जाने तयारीमा रहेका उनलाई देखेर खुशी भएका खड्का भन्छन्, “शिक्षा र चेतनाले आकांक्षाको उडानलाई सोच्दै नसोचेको उचाइमा पुर्‍याउँदो रहेछ।”

टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाल भन्छन्, “राम्रो मार्गदर्शन पाएका विद्यार्थीको आकांक्षा बढ्ने मात्रै होइन, उसले समाजकै आत्मविश्वास बढाउँदो रहेछ।” त्यसैले सरकारले गुणस्तरीय शिक्षक उत्पादन र शिक्षण पद्दति सुधारमा बढी गृहकार्य गर्नुपर्ने खनालको सुझाव छ।

धनुषाकै जनकपुरधामको श्री माध्यमिक विद्यालय, बक्चौडामा एक वर्षअघि छात्रवृत्ति पाएकी छोरीलाई परिवारले थप शिक्षा लिन शहर पठाउन मानेन। तर, अहिले ती छात्राले काठमाडौंमै निशुल्क पढ्न थालेपछि भने परिवारका सदस्यमा मात्र नभई विद्यालयका अरू छात्रा, शिक्षक र समाजमा पनि छोरीले चाहे भने गर्न सक्छन् भन्ने आत्मविश्वास जाग्न थालेको टिच फर नेपालका शिक्षक शैलेन्द्र झा बताउँछन्।

यसरी समाजको आत्मविश्वास उठाउन अब शिक्षकको परिभाषा पनि परिवर्तन गर्नुपर्ने खनालको तर्क छ। “बिहान १० बजे घण्टी लागेपछि विद्यालयमा छिर्ने र साँझ चार बजेपछि बाहिरिने मात्रै शिक्षकको दायित्व होइन। शिक्षकले आफूलाई परिवर्तनको संवाहक बनाउन सक्नुपर्छ,” उनी भन्छन्।

टिच फर नेपालकी अध्यक्ष अर्यालको विचारमा शिक्षकलाई जागिरे हुने छुट छैन। जबसम्म शिक्षा लिने र दिने दुवै जागिरे हुने लक्ष्यमा मात्रै सीमित रहन्छन्, तबसम्म शिक्षाले फड्को मार्न नसक्ने निष्कर्ष उनी सुनाउँछिन्।

पाठ्यपुस्तक नै पाठ्यक्रम हो भन्ने बुझाइ गलत भएको स्वयंसेवी शिक्षक अमिना सिंह टिप्पणी गर्छिन्। विषयगतभन्दा पनि समसामयिक घटना, परिवेश र समाजलाई शिक्षकले जोडेर पढाउनुपर्ने उनको सल्लाह छ। भन्छिन्, “विषयवस्तु नै ज्ञान हो भन्ने भ्रमबाट शिक्षकलाई मुक्त गर्न शिक्षण विधिमै परिवर्तन ल्याउनु जरुरी छ।”

अमिनाको बुझाइमा नेपालमा कोही व्यक्ति शिक्षक किन हुन चाहन्छ? विद्यालय खोल्नुको मूल उद्देश्य के हुन्छ? कुनै शिक्षक विद्यालयको प्रधानाध्यापक किन हुन चाहन्छ? भन्नेजस्ता प्रश्नहरूको खोजी गरेरै हाम्रो शिक्षण पद्दत्तिको उपचारको बाटो पहिल्याउनुपर्छ। शिक्षा र शिक्षण पद्दतिमा सुधार ल्याउनका लागि स्थानीय सरकारले नै पहल गर्नुपर्ने अधिकांश शिक्षकहरूको सुझाव छ।

प्रतिकृया दिनुहोस