'ए' डिभिजन फुटबल- पुलिसद्वारा फ्रेन्डस पराजित
शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत २८ मंसीरको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फ्रेन्डस क्लबलाई पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा पुलिसले फ्रेन्डसलाई ५-० को फराकिलो गोलअन्तरले पराजित गरेको हो। पुलिसका लागि पहिलो गोल अभिषेक रिजालले गरे। उनले खेलको तेस्रो मिनटमै रवि पासवानको पासलाई सदुपयोग गर्दै गोल गरे। पहिलो हाफको २०औं मिनटमा अर्का खेलाडी रवि पासवानले एक गोल थप्दै पुलिसको अग्रता दोब्बर बनाए। उनले हेम तामाङको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
पहिलो हाफसम्म २-० गोलअन्तरले अगाडि रहेको पुलिसले दोस्रो हाफमा ३ गोल थप्यो। खेलको ५९ औं मिनटमा कप्तान भरत शाहले गोल गर्दै पुलिसको अग्रता तेब्बर बनाए। उनले पनि रवि पासवानको पासमा गोल गरेका थिए।
खेलको ६३ औं मिनटमा पुलिसका तेज तामाङले गोल गरे भने ८७ औं मिनटमा नीरकुमार राईले एक गोल थपे। यो जितसँगै आठ खेल खेलेको पुलिसले १४ अंक जोडेको छ भने समान खेल खेलेको फ्रेन्डसको पाँच अंक छ। रासस