राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन- ‘राष्ट्रिय-क्षेत्रीय सुरक्षा चुनौतीबाट खतरा छैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले २८ मंसीरमा राष्ट्रपति विद्यादेवी भण्डारीलार्इ राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन बुझाएका छन् । प्रतिवेदनमा राष्ट्रिय एवं क्षेत्रीय सुरक्षा चुनौतीबाट कुनै खतरा नदेखिएको र राष्ट्रको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको उल्लेख छ।
मुलुकमा संघ, प्रदेश र स्थानीय तीनै तहको निर्वाचन भई कार्यान्वयनमा आएको अवधिका विषयवस्तु प्रतिवेदनमा समेटिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका आतंकवाद, जलवायु परिवर्तनको असर, क्षेत्रीयलगायत आन्तरिक सुरक्षा चुनौती, विखण्डनकारी एवं सशस्त्र समूहका आपराधिक गतिविधि, शरणार्थी समस्या तथा क्षेत्रीय मुलुककबीचको आपसी सहकार्यसमेतका विषयवस्तु प्रतिवेदनमा गहन विश्लेषण गरिएको छ ।
त्यस अवसरमा परिषद्का सदस्य उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानसेनापति पूर्णचन्द्र थापा र परिषद्का सदस्य सचिव एवं रक्षा सचिव विष्णुप्रसाद लम्साल उपस्थित थिए ।
राष्ट्रपति भण्डारीले परम्परागत नवीनतम सुरक्षा चुनौती सामना गर्दै मुलुकको समग्र सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नीति निर्माणलगायत सबै व्यवस्थापनका काम गर्न परिषद्का पदाधिकारीलाई सुझाव दिइन् । रासस