टिप्पणीशुक्रवार, मंसिर २८, २०७५

धरहराको पुनर्निर्माण कि नवनिर्माण ?

वसन्त महर्जन

भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माण भनिए पनि नयाँ प्रविधिबाट नयाँ धरहरा निर्माण गर्ने तयारी, पुरातत्व र इतिहासको सरोकारबाहिरको कुरा हो।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त ऐतिहासिक धरहराको पुनर्निर्माण गर्ने भन्दै काम अगाडि बढेको छ। तर, कामकारबाही तथा योजना हेर्दा त्यसलाई पुनर्निर्माण भन्न मिल्दैन। कार्ययोजनामै धरहराको भग्नावशेषको ठुटो संरक्षण गर्ने र त्यसैको छेउमा नयाँ धरहरा बनाउने उल्लेख छ। तर, नयाँ निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा पुरातत्व विभागले प्राथमिकता दिएर काम गरिरहनु अचम्मको कुरा हो।

तत्कालीन मुख्तियार भीमसेन थापाको पालामा वि.सं. १८८१ र ८२ मा दुई वटा धरहरा बनाइएको थियो। यी दुईमध्ये वि.सं. १८९० सालको भूकम्पले भीमसेन थापाको निवास वागदरबार छेवैको धरहरालाई पूर्ण रूपमा ध्वस्त पार्‍यो। राजमाता ललितत्रिपुरासुन्दरीको नाममा निर्माण गरिएको धरहरामा भने केही मात्र क्षति भयो। उक्त धरहरा पनि पछि चट्याङका कारण क्षतिग्रस्त हुँदै १९९० सालको भूकम्पले ढालेको थियो। तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले १९९२ सालमा ११ तले धरहरालाई ९ तलामा पुनर्निर्माण गरेका थिए।

धरहरा नेपालमा विदेशी वास्तुकलाको अनुकरणको एउटा नमूना हो। मुगल मिनारको नक्कलका रूपमा रहेको धरहरा कुन प्रयोजनका लागि निर्माण गरिएको भन्ने कुरा नखुले पनि पछि बिगुल बजाउन प्रयोग गरियो। लामो समयदेखि विनाप्रयोजन ठडिएको धरहरामा शुल्क लिएर सर्वसाधारणलाई चढ्न दिने तथा वरिपरिको क्षेत्रलाई व्यापारिक प्रयोजनमा लगाउने गरी काठमाडौं महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो। भूकम्पले ढलेपछि सरकारले यसलाई राष्ट्रिय धरोहरका रूपमा लिँदै पुनर्निर्माणमा जोड दिँदै आएको थियो।

धरहराले सांस्कृतिक रूपमा नेपालको केही प्रतिनिधित्व नगर्ने पाटोलाई एकछिन भुले पनि यसको अस्तित्वमा ऐतिहासिकता रहेको कुरा भने मान्नैपर्छ। मुगल शैलीको अनुकरणलाई पनि नेपालमा कला इतिहासको एउटा अध्यायको रूपमा लिन सकिन्छ। यही दृष्टिले केही उच्चपदस्थ व्यक्तिहरू धरहराप्रति चिन्तित रहेको हो कि भन्ने बुझ्न सकिन्छ। तर, यो बुझाइलाई पुनर्निर्माणका नाममा हुन लागेको नवनिर्माणले गलत साबित गरिदिएको छ।

धरहराको पुनर्निर्माण भनेर आधुनिक प्रविधि प्रयोग गरी नयाँ धरहरा बनाउने काम भइरहेको छ, जसले इतिहास तथा पुरातत्वसँग कुनै सरोकार राख्दैन।

भूकम्पले क्षतिग्रस्त धरहराको ठुटोलाई यत्तिकै राखी त्यही स्वरूपको नयाँ धरहरा बनाउने योजना छ। ड्रइङ डिजाइनअनुसार त्यहाँ बगैंचा पनि बनाइने र त्यसको छेउमा तीनतले पार्किङ स्थल हुनेछ। धरहरा क्षेत्रभित्रै राखिने गरी सुन्धारालाई पुनर्निर्माण गरी ३०० जनासम्म हिँड्न सक्ने क्षमताको भर्‍याङ बनाउने योजना पनि छ।

यस्तै, धरहरामा भएका पुरातात्विक वस्तु, टक्सार विभागमा भएका सिक्का छाप्ने मेशीनलगायत सामग्री राख्न दुईतले संग्रहालय, सानो थिएटरलगायत संरचना बनाइनेछ। यसका लागि गोश्वारा हुलाक कार्यालय र टक्सार विभागको जग्गा धरहराका लागि दिने निर्णय सरकारले गरिसकेको छ। भूकम्पअघि पाँच रोपनी जग्गामा रहेको धरहरा वरिपरिको क्षेत्रफल नवनिर्माणका क्रममा ४४ रोपनीमा फैलिनेछ।

सम्पदाहरूको पुनर्निर्माणको सामान्य अर्थ हो, पहिला जस्तो थियो त्यस्तै बनाउने। जुद्धशमशेरले ९ तलामा खुम्च्याएको धरहरालाई पुनः ११ तलामै फर्काएर अझ पुरानो स्वरूपमै ल्याउन पनि सकिन्थ्यो। तर, अहिले पुनर्निर्माण भनेर आधुनिक प्रविधि प्रयोग गरी नयाँ धरहरा बनाउने काम भइरहेको छ, जसले इतिहास तथा पुरातत्वसँग कुनै सरोकार राख्दैन।

ऐतिहासिक तथा पुरातात्विक स्थलहरूको संरक्षण तथा पुनर्निर्माण गर्ने आधिकारिक निकाय पुरातत्व विभाग हो। तर, पुनर्निर्माण भन्दै नवनिर्माणतिर लाग्नु यस विभागको अधिकार क्षेत्र होइन। यसरी नै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा महाशाखाको जिम्मेवारी पनि भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माण मात्र हो।

पुनर्निर्माण प्राधिकरण तथा पुरातत्व विभागको पहिलो प्राथमिकता धरहराको ठुटोलाई संरक्षण गर्ने मात्र नभएर पुनर्निर्माण गरी पहिलेकै स्वरूपमा ल्याउने हो। यस स्थलको ऐतिहासिकता जोगाउनकै लागि पनि नवनिर्माण गरिनुहुँदैन भनेर सरकारलाई सुझाव दिनुपर्ने हो। तर, इतिहाससँग सम्बन्धित यो कुरालाई बेवास्ता गर्दै नवनिर्माण गर्न कस्सिएको हो भने दुवै निकायले हात झिक्नुपर्थ्यो। किनभने त्यहीं वा अन्यत्र यस्ता नयाँ निर्माण कार्यका लागि सरकारका अन्य निकायहरू छँदैछन्।

प्रतिकृया दिनुहोस