शेयर बजार सामान्य अंकले वृद्धि
धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अंकले वृद्धि भएको छ ।
आज कारोबार मापक नेप्से परिसूचक ७ दशमलव ६ बिन्दुले बढेर एक हजार १४८ दशमलव ७८ बिन्दुमा पुगेको हो ।
त्यस्तै, ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६४ बिन्दुले बढेर २४४ दशमलव ७० बिन्दुमा पुगेको छ ।
आज कूल १५४ कम्पनीको ९ लाख ९७ हजार ६७२ कित्ता शेयर रु ३२ करोड ३७ लाख ५८ हजार ७४ मूल्यमा खरीद बिक्री भएको छ ।
कारोबार भएका दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ ।
होटल १ दशमलव ८५, वित्त शून्य दशमलव ४४ र अन्य उपसमूह २ दशमलव ५७ बिन्दुले घटेको छ ।
ब्यांंकिङ ८ दशमलव ५५, विकास ब्यांक ८ दशमलव ८७, जलविद्युत् ८ दशमलव ८, निर्जीवन बीमा ६५ दशमलव ७८, उत्पादन ५ दशमलव ३८, लघुवित्त ११ दशमलव ६१ र जीवन बीमा ३० दशमलव २७ बिन्दुले बढेको छ ।
साताको कारोबार हुने आज अन्तिम दिन नागबेली लघुवित्त वित्तीय संस्था, रैराङ हाइड्रोपावर कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था, काबेली विकास ब्यांकका शेयरधनीले कमाएका छन् ।
त्यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । रासस