कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा
प्रमुख विपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ।
कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न २८ मंसीर–३ पुसमा महासमिति बैठक बोलाएको हो। बैठकको तयारीका लागि सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा सांगठनिक प्रस्ताव समिति गठन गरिएको थियो।
यस्तै, अर्का महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा, सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा समग्र आर्थिक नीति प्रस्ताव, कोषाध्यक्ष सीतादेवी यादवको संयोजकत्वमा पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन र काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) को संयोजकत्वमा उपत्यकाका तीनै जिल्ला कार्यसमिति रहने गरी स्थानीय व्यवस्थापन समिति गठन गरिएको थियो।
विधान मस्यौदाका सम्बन्धमा १३ मंसीरदेखि केन्द्रीय समिति बैठकमा निरन्तर छलफल भइरहे पनि प्रतिवेदन पारित हुन सकेको छैन।
खासगरी, पदाधिकारी संख्या बढाउने-नबढाउने, पदाधिकारी निर्वाचित हुनुपर्ने वा मनोनयन हुनेलगायत विषयमा बहस जारी छ। आर्थिक नीति केन्द्रीय समितिबाट पारित भइसकेको छ भने राजनीतिक प्रस्तावमाथिको छलफल जारी छ।
केन्द्रीय समितिबाट पारित सबै प्रतिवेदन महासमिति बैठकमा पेश हुने र छलफल गरी पारित हुनेछन्।
महासमिति बैठकमा महासमिति सदस्य तथा केन्द्रीय समिति गरी करीब एक हजार ४०० जना सहभागी हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। बैठकको प्रचारप्रसार, स्वागतद्वार निर्माण, प्रकाशनलगायत अन्य सामग्रीको तयारी र सहभागीको खाना, चिया, खाजाको व्यस्थापनको तयारी भइसकेको काठमाडौं कांग्रेसका सभापति बानियाँले जानकारी दिए।
महासमितिको तालिकाअनुसार २८ मंसीरमा कांग्रेस केन्द्रीय कार्यालयमा महासमिति सदस्यको दर्ता तथा स्वागत हुनेछ। २९ मंसीर बिहान ११ बजे सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा बैठकको उद्घाटन हुनेछ।
उद्घाटनलगत्तै सोही स्थानमा बन्दसत्र प्रारम्भ हुने र त्यसपछि १–३ पुसमा बन्दसत्र सञ्चालन हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। रासस