श्रीलंकाको संसद्मा अपदस्थ प्रधानमन्त्री विक्रमासिंगेलार्इ पुनःस्थापित गर्नुपर्ने प्रस्ताव पारित
श्रीलंकाको संसद्ले अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंगेलाई पुनःस्थापित गर्नुपर्ने प्रस्ताव पारित गरेको छ।
१२ डिसेम्बर (बुधवार) भएको मतदानमा बहुमत सांसदले विक्रमासिंगेलाई पुनःस्थापित गर्नुपर्ने पक्षमा मत दिएका हुन्। शक्ति संघर्ष थप चर्किन नदिन यो नै सबैभन्दा उपयुक्त र वैधानिक उपाय भएको संसद्द्वारा पारित प्रस्तावमा उल्लेख छ।
विक्रमासिंगेको युनाइटेड नेशनल पार्टी र गठबन्धन दलका गरी ११७ सांसदले प्रस्तावका पक्षमा मत दिएका छन्। संसद्ले पारित गरेको प्रस्ताव तत्काल कार्यान्वयन गर्न उनीहरूले राष्ट्रपति मैत्रीपाला सिरिसेनाको ध्यानाकर्षणसमेत गराएका छन्।
“मलाई विश्वासको मत दिएर संसद्ले मेरो पुनःस्थापनाको निर्णय गरेको छ, त्यसबाट २६ अक्टोबरमा भएको गलत काम सच्याउने मौका दिएको छ,” संसद्को निर्णयपछि विक्रमासिंगेले भने। सिरिसेनाले विक्रमासिंगेलाई अपदस्थ गरेर पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।
तर, संसद् र अदालत दुवैले त्यो नियुक्तिलाई अवैध भन्दै खारेज गरिदिएका थिए । अहिले विक्रमासिंगे र राजापाक्षे दुवैले आफू प्रधानमन्त्री भएको दाबी गर्दै आएका छन्। एएफपी-रासस