ओबामासँग भेट ‘सम्मान’ को विषयः ट्रम्प
अमेरिकी राष्ट्रपति बाराक ओबामा र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ट्रम्पले ओबामासँग भेट्नु आफ्नाका लागि ‘सम्मानको विषय’ भएको बताएका छन् । ओबामाले यो भेटलाई ‘शानदार’ भनेका छन् ।
ओभल कार्यालयमा डेढ घण्टासम्म चलेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ओबामाले बैठकमा आन्तरिक र विदेश मामिलामा छलफल भएको बताए ।
“म नव–निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प सफल होउन भन्ने चाहन्छु, उनको सफलतामा नै अमेरिकाको सफलता निहित छ,” ओबामाले भने ।
उनले ट्रम्पसँग सत्ता हस्तान्तरणसँगै विदेश नीतिमाथि पनि छलफल भएको र ट्रम्पले आफ्नो टिमसँग मिलेर काम गर्न चाहेको बताउँदा आफू प्रभावित भएको उल्लेख गरेका छन् ।
ट्रम्पले भेटका लागि ओबामाप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि ओबामाको सल्लाह–सुझाव अपेक्षित रहने बताएका छन् ।
“हामीले अमेरिकाका उपलब्धिहरु सँगै वर्तमान चुनौतिबारे पनि छलफल ग¥यौं । म राष्ट्रपति बाराक ओबामासँग मिलेर काम गर्न चाहन्छु । मलाई भविष्यमा उनको सल्लाह चाहिनेछ । उनीसँग भेट्नु मेरालागि सम्मानको विषय हो । भविष्यमा पनि लगातार उनीसँग भेट भइरहने अपेक्षा राखेको छु,” ट्रम्पलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
राष्ट्रपति ओबामा र ट्रम्पबीच भएको ९० मिनेटको कुराकानीपछि ट्रम्प त्यहाँबाट बाहिरिएका थिए ।
सञ्चारमाध्यमहरुका अनुसार दुवै नेताहरुले आफ्ना व्यक्तिगत मतभेदलाई थाँती राखेर सौहार्दपूर्ण वातावरणमा भेट गरेका छन् ।
डोनाल्ड ट्रम्प न्यूयोर्कबाट आफ्नो निजी विमानमा रिगन नेशनल एयरपोर्टमा उत्रेका थिए । उनीसँग उनकी पत्नी मेलानिया पनि थिइन् । मेलानिया र वर्तमान प्रथम महिला मिशेला ओबामाबीच पनि भेटवार्ता भएको थियो ।
राष्ट्रपति पदको चुनाव प्रचारका बेला नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बाराक ओबामाको अमेरिकी नागरिकतामाथि नै प्रश्न उठाएका थिए । उनले ओबामाका कैयन महत्वपूर्ण नीतिहरु खारेज गर्ने पनि बताएका थिए ।
यता राष्ट्रपति ओबामाले पनि प्रचारका बेला ट्रम्पलाई राष्ट्रपति पदका लागि अयोग्य भनेका थिए ।
यसैबीच अमेरिकाका कैयौं शहरहरुमा मानिसहरु सडकमा उत्रेर नवनिर्वाचित राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन गरेका छन् ।
ओबामा र हिलरी क्लिन्टनले ट्रम्पलाई एक मौका दिन जनतासँग अपिल गरे पनि अमेरिकी शहरहरुमा ‘ट्रम्प मेरा राष्ट्रपति होइनन्’ भन्दै प्रदर्शनहरु भैरहेका छन् ।
न्यूयोर्कमा बुधबार हजारौं मानिसहरु ट्रम्प टावरसम्म मार्च गर्दै आप्रवासन, समलैंगिकका अधिकारजस्ता मुद्दाहरुमा ट्रम्पका नीतिहरुको विरुद्ध नाराबाजी गरे । न्यूयोर्क टाइम्सका अनुसार प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।