जेनेरेटर बिग्रिएपछि बन्द भयो मौसमी बेलुन
मौसमी सूचना संकलनका लागि शुरु गरिएको ‘मौसमी बेलुन’ उडाउने काम बन्द भएको छ।
त्यसका लागि आवश्यक हाइड्रोजन ग्यास उत्पादन गर्ने जेनेटर बिग्रिएपछि बेलुन उडाउन बन्द भएको हो। जल तथा मौसम विज्ञान विभागले गत ६ असारदेखि हरेक बिहान साढे ५ बजे काठमाडौं कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हाताबाट बेलुन उडाएर त्यसमार्फत उपत्यकाको मौसमी सूचना लिने गरेको थियो।
त्यसमार्फत वायुमण्डलमा हावाको गति, आर्द्रता र तापक्रम संकलन गरी मौसमको भविश्यवाणी गर्ने गरिएको थियो। उडाउन शुरु भएको डेढ महीनामै आवश्यक संरचना अभावमा विभागले बन्द गरेको हो।
विभागका महानिर्देशक ऋषिराम शर्माका अनुसार विनासंरचना बेलुन उडाउन शुरु गरिएको थियो। “उपकरण राख्ने घर निर्माण अन्तिम चरणमा पुगेको छ,” शर्मा भन्छन्, “पुसको अन्तिम साताबाट फेरि सञ्चालनमा ल्याउँछौं।”
विश्व ब्यांकको जलवायू लगानी कोषबाट प्राप्त रकमबाट विभागले मौसमी बेलुन उडाउन थालेको थियो। कीर्तिपुरबाट छाडिने बेलुन ३० किलोमिटर माथिसम्म पुग्ने गरेको थियो। विभागका अनुसार एउटा बेलुन उडाउन दैनिक रु. २० हजार खर्च लाग्छ।