जयकृष्ण गोइतको समूहबाट ११ जना शान्ति प्रकृयामा
जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का ११ जना नेताहरू शान्तिपूर्ण प्रकृयामा आएका छन्।
गोइतसँग विद्रोह गरी उनीहरू राजनीतिक वार्ता समितिका पदाधिकारीहरूको उपस्थितिमा २६ मंसीरमा राजविराजमा सार्वजनिक भएका हुन्।
६ बुँदे सहमति भएपछि शान्तिपूर्ण बाटो अंगीकार गरेको उक्त समूहका संयोजक अविनाश भनिने उपेन्द्र यादवले बताए। स्थानीय प्रशासनलाई हतियार बुझाएर २६ मंसीरमा सार्वजनिक भएका छन्।
सानो नालको कटुवा पेस्तोल १०, लामो नालको कटुवा पेस्तोल एक, रिभल्भर दुई, कटुवामा प्रयोग हुने ९ राउण्ड गोली, रिभल्भरमा लोड भएको एक राउण्ड गोली उनीहरूले स्थानीय प्रशासनलाई बुझाएका छन्।
सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा समूहका संयोजक उपेन्द्र यादव ‘अविनाश’ सहित ११ जनाले अब शान्तिपूर्ण तरिकाले आन्दोलन गर्ने बताएका छन्। उक्त समूहले गत २ जेठमा गोइतको समूहबाट विद्रोह गरेको खुलेको छ। गोइतको १५ सदस्यीय केन्द्रीय समितिमध्ये ११ जनाले विद्रोह गरेका हुन्।
सरकारी वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डे, सदस्य ताराकान्त चौधरी र सुरेश आले मगरसहित राष्ट्रियसभाका सांसद सुमनराज प्याकुरेल, प्रदेश सांसद गोविन्द न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा निकायका अधिकारीहरूको उपस्थितिमा उनीहरू सार्वजनिक जीवनमा फर्केका हुन्।
श्रवणकुमार देव, राजविराज