जनकपुरमा योगी आदित्यनाथले गरे भारतीय प्रधानमन्त्री मोदीकै सिको
राम-जानकी विवाह महोत्सवमा सहभागी हुन जनकपुर आएका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै सिको गर्दै नेपाली भाषामै आफ्नो मन्तव्य शुरु गरे। र, बाह्रबिघामा श्रद्धालुहरूलाई सम्बोधन गर्दै भने, “म प्रधानमन्त्री मोदीको दूत बनेर आएको हुँ।”
नेपाल आउँदा आफूलाई अपनत्व महशूस भएको उनले खुलाए। राम-जानकी स्वयम्बर समारोहमा झण्डै डेढ घण्टा बिताएका योगी आदित्यनाथलाई जानकी मन्दिरले सम्मान र जनकपुर उपमहानगरपालिकाले अभिनन्दन गरे।
जनकपुर बसाइका क्रममा योगीले संस्कृति मन्त्री रवीन्द्र अधिकारी, प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेशका मन्त्रीहरूलाई प्रयागराजमा लाग्ने कुम्भमेलामा आउन आमन्त्रण गरे। त्यसअघि प्रदेश-२ का मुख्यमन्त्री राउतले आयोजना गरेको दिवाभोजमा योगी आदित्यनाथले अयोध्याबाट जन्ती आएका दुई दर्जन बढी साधु सन्तहरूसँगै बसेर मिथिला भोजन गरे ।
जनकपुर विमानस्थलमा बिहान ११ बजे अवतरण गरेका उनी त्यहाँबाट सीधै जानकी मन्दिर पुगेर पूजा आराधना गरे। निजी जहाजमा लखनऊबाट जनकपुर उत्रिएका योगी आदित्यनाथ २६ मंसीरमा लखनऊ फर्किए।
बाह्रबिघामा सम्बोधनका क्रममा उनले रामायण सर्किटमा पर्ने अयोध्याबाट जनकपुरसम्मको यात्रा सहज बनाउन ४ लेनको सडक निर्माण शुरु भइसकेको बताए। भारतको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्ने बताउँदै दुवै मुलुकको सांस्कृतिक सम्बन्धलाई विकास गरी रोजगार, पर्यटन र आर्थिक गतिविधिसित जोड्नुपर्ने सुझाए।
ईश्वरचन्द्र झा, जनकपुर