एसियाली भारोत्तोलन प्रतियोगिता नेपालमा हुने
एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपको अर्को संस्करण नेपालमा ६–१५ साउन २०७४ मा हुने भएको छ । जापानको टोकियोमा भइरहेको एसियाली युथ तथा जुनियर भारोत्तोलनका दौरान २५ कात्तिकमा भएको एसियाली भारोत्तोलन महासङ्घको कार्यकारी बैठकले उक्त प्रतियोगिता आयोजना गर्न नेपाललाई अवसर दिएको नेपाल भारोत्तोलन सङ्घले जनाएको छ ।
नेपालले युथ, जुनियर तथा सिनियर भारोत्तोलन च्याम्पियनसिपका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेको थियो । त्यसमा एसियाली सिनियर च्याम्पियनसिप आयोजनाको अवसर भने दक्षिण कोरियालाई प्रदान गरिएको बताइएको छ ।
बैठकमा दक्षिण एसियाली भारोत्तोलन सङ्घका उपाध्यक्ष एवम् एसियाली भारोत्तोलन महासङ्घका अध्यक्ष मोहम्मद युसुफ र नेपाल भारोत्तोलनका अध्यक्ष रतनकुमार टण्डनले भाग लिएका थिए ।
१३ भदौ ०७२ मा सिनियर एसियाली भारोत्तोलन च्याम्पियनसिप आयोजनाको जिम्मेवारी नेपालले पाए पनि १२ वैशाखको विनासकारी भूकम्पका कारण प्रतियोगिता थाइल्यान्डमा सारिएको थियो ।रासस