च्याम्पियन्स लिगः अलिसनको चमत्कारले जोगियो लिभरपुल
कम्तीमा २ गोलको अन्तरमा जित वा १-० को स्पष्ट नतीजा । बुधबार बिहान सम्पन्न युरोपेली च्याम्पियन्स लिग अन्तर्गत् समूह 'सी'को अन्तिम खेलमा इङलिस क्लब लिभरपुल यो नतीजा हासिल नगरे युरोपको सर्वाधिक ठूलो प्रतियोगिताबाटै बाहिरिने निश्चित थियो ।
खेल अन्ततः १-० गोलले लिभरपुलको पक्षमा गयो । र, त्यसका नायक बने- लिभरपुलका ब्राजिलियन गोलरक्षक अलिसन बेकर ।
इन्जुरी समयमा अलिसनले इटालियन क्लब नापोलीका स्ट्राइकर अरेक मिलिकको निश्चित गोलजस्तै रहेको प्रहारलाई अविश्वसनीय ढंगले बचाएका थिए । लिभरपुलको बलियो रक्षापंक्ति तोडेर सिक्स यार्ड बक्सबाट मिलिकले गरेको प्रहार जोगाएपछि लिभरपुलका प्रशिक्षक योर्गन क्लोपको प्रतिक्रिया थियो- “अलिसनको त्यो बचाउ गोलको मात्र बचाउ थिएन, हाम्रो ज्यान बचाएसरह थियो ।”
लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा मोहम्मद सलाहको गोलमा घरेलु टिमले ३४ औं मिनटमा अग्रता लिएको थियो । तर, दोस्रो हाफमा नापोलीले पटक-पटक खतरनाक काउन्टर अट्याकमार्फत् गोल गर्ने प्रयास गरिरह्यो । त्यसलाई रोक्न अलिसन र लिभरपुलको रक्षापंक्तिलाई हम्मेहम्मे पर्यो ।
खेलपछि नापोलीका प्रशिक्षक कार्लो एन्सेलोट्टीले रेफ्रीको गलत निर्णयको शिकार बनेको प्रतिक्रिया दिए । बेल्जियन स्ट्राइकर मार्टिन्समाथि लिभरपुलका रक्षक भान डाइकले गरेको ट्याकललाई लक्ष्यित गर्दै उनले भने, “त्यो रेड कार्ड नै थियो ।”
बुधबार बिहानको खेल हुनुअघि यो समूहमा नापोली ९ अंकसहित शीर्षस्थानमा थियो । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको ८ र लिभरपुलको ६ अंक थियो । रेडस्टार बेलग्रेडमाथि ४-१ को जितपछि समूह बिजेताका रूपमा पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्दा अंक बराबर भए पनि गोलमा नापोलीलाई उछिन्दै लिभरपुल पनि उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह 'ए'बाट एटलेटिको मड्रिड र बोरुसिया डर्टमुन्ड, 'बी'बाट बार्सिलोना र टोटनहम, 'डी'बाट पोर्टो र साल्के पनि अन्तिम १६ मा पुगेका छन् ।