विवाह महोत्सवमा भाग लिन उत्तरप्रदेशका मुख्यमन्त्री आउँदै
राम-जानकी विवाह महोत्सवमा भाग लिन भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अयोध्याका जन्तीको अगुवाइ गर्दै २६ मंसीरमा जनकपुर आउँदैछन्।
साढे १० बजे निजी जहाजबाट जनकपुर विमानस्थलमा अवतरण गर्ने आदित्यनाथले साढे ११ बजेसम्म जनकपुरस्थित जानकी मन्दिरमा पूजापाठ गर्नेछन्। साढे ११ बजेदेखि १ बजेसम्म प्रदेश सरकारले आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछन्, जहाँ उनलाई मिथिला भोजन गराइनेछ।
प्रदेश सरकारले मधेश भवनमै अयोध्याबाट आएका जन्ती तथा साधुसन्तलाई भोजन र अंग वस्त्र प्रदान गर्नेछ। उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ २ बजे जनकपुरको रंगभूमि मैदानमा आयोजना हुने स्वयम्बर कार्यक्रममा सहभागी हुनेछन्।
एक घण्टा मैदानमा विवाह महोत्सवमा सहभागी भएपछि उनी लखनऊ फर्किने कार्यक्रम छ। योगीको आगमनलाई लिएर सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाका करीब ३ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
विवाह महोत्सवअन्तर्गत् राति ८ बजे जानकी मन्दिरको प्रांगणमा वैदिक परम्परा एवं मन्त्रोच्चारण गरी राम र जानकीको विवाह हुनेछ।