टिप्पणीबुधबार, २६ मंसिर , २०७५

देहातको सञ्चारधारा

चन्द्रकिशोर

केपी ओलीले बोलेको शब्दलाई जस्तो अर्थ दिएर आन्दोलनरत समुदायसमक्ष पुर्‍याइयो वा उनीहरूले जे बुझे त्यसले आक्रोश र उत्तेजना फैलायो।

समृद्धि, सशक्तीकरण, जागरूकता, साझेदारी, निगरानी जस्ता शब्द गैरसरकारी संस्थाहरूले निकै प्रयोग गर्छन् । तर, के यी शब्दको भाव लक्षित समुदायले ग्रहण गर्छन् त ?

आम मानिससँग सरोकार राख्ने जुनसुकै संस्था वा संगठनले आफ्ना अभियानमा आम मानिसलाई भागीदार गराउन वा लक्षित उद्देश्य प्राप्त गर्न उनीहरूसमक्ष सार्थक सन्देश पुर्‍याउनुपर्छ । र, सामान्य मान्छेलाई ब्युँझाउन, लोभ्याउन, उक्साउन वा उद्वेलित पार्न सके मात्र सन्देश सार्थक हुन्छ । राजनीतिक दल/नेताले पनि संगठन विस्तार गर्न वा लोकप्रिय हुन सार्थक सन्देश आम जनतामाझ् पुर्‍याउनै पर्छ ।

सञ्चारको सार लक्षित समूहको समझ्दारीको स्तरलाई समात्ने योग्यतामा निहित हुन्छ । कुन शब्द वा भाषाको कस्तो प्रस्तुतिले निश्चित समुदायमा बढी पहुँच पाउँछ वा उनीहरूले त्यसप्रति अपनत्व ग्रहण गर्छन् भन्ने ज्ञान सम्बन्धितमा हुनैपर्छ । जुन समुदायमा छिर्न खोजिएको छ, त्यो समुदायको निजी अनुभव वा बुझइ भन्दा बाहिरको कुरा अभिव्यक्त गरिंदा प्रत्युत्पादक हुनसक्छ ।

मधेश आन्दोलनताका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा भनाइले ठूलै तरङ्ग ल्यायो तर, नकारात्मक रूपमा । संघर्षरत मधेशी शक्तिहरूले त्यो शब्दलाई निकै उछाले । प्रम ओलीले त्यो शब्द कुन सन्दर्भ र अर्थमा प्रयोग गरे भन्दा पनि त्यसलाई जस्तो अर्थ दिएर आन्दोलनरत समुदायसमक्ष पुर्‍याइयो वा उनीहरूले जस्तो अर्थमा ग्रहण गरे त्यसले आक्रोश र उत्तेजना फैलायो ।

यहाँ प्रम ओलीको मधेश दृष्टिकोणबारे टिप्पणी गर्न लागेको होइन । तर, उनको अभिव्यक्तिमा परेको ‘माखेसाङ्लो’ शब्द आन्दोलनरत मधेशीलाई ‘घाइतेमाथि वाण’ जस्तै भएको थियो । नेपाली बृहत् शब्दकोशमा ‘माखेसाङ्लो’ लाई यसरी अथ्र्याइएको छ– १. दुईतिरबाट च्यापेर बीचमा अँठ्याउने काम वा काइदा । २. रहस्य वा मेसो थाहा नपाई फुकाउन नसकिने एक किसिमको साङ्ली । ३. अप्ठेरो वा उम्कन नसकिने अवस्था, जटिल समस्या, असमञ्जस स्थिति ।

यस अनुसार माखेसाङ्लो शब्दले मधेशीजनमा जुन भयानक प्रतिक्रिया जन्मायो त्यसो नहुनुपर्ने हो । तर, ‘माखेसाङ्लो’ सँग सर्वथा अपरिचित समुदायले यो शब्दलाई माखो अर्थात् झि‌ंगाको रूपमा बुझ्यो । र, समुदायलाई झिंगा भनेर अपमानित गरेको रूपमा अथ्र्याइयो । त्यसैले शुरूमै भनियो, लक्षित वर्गको अनुभव वा परिचयभन्दा बाहिरको सन्देश सम्प्रेषण भयो भने त्यसले नकारात्मक परिणाम दिन्छ ।

महात्मा गान्धीलाई प्रभावशाली सञ्चारक मानिन्छ । गान्धीलाई त्यसबेलाका भारतीय जनताको बुझाइको स्तरबारे राम्रो ज्ञान थियो । त्यसैले उनी गम्भीर विषयलाई पनि आम जनताका अगाडि उनीहरूकै भाषा र शैलीमा अभिव्यक्त गर्थे ।

गान्धीले जुन बिम्व भारतीय जनताका सामुन्ने प्रस्तुत गर्न चाहन्थे त्यसका लागि नयाँ शब्दहरू पनि रचे । सन् १९१५ मा उनी दक्षिण अफ्रिकाबाट भारत फर्कंदा अग्ला कदका नेता थिए बालगंगाधर तिलक ।

तिलकको नारा थियो, ‘स्वराज हाम्रो जन्मसिद्ध अधिकार ।’ बेलायती साम्राज्यबाट मुक्तिका लागि चलाइएको त्यो नाराले देहातका जनलाई तान्न सकिरहेको थिएन । गान्धीले ‘स्वराज’ को ठाउँमा ‘रामराज्य’ भने । यो शब्दको जादू बिजुलीको तरंग जस्तो फैलियो ।

फेरि आफ्नै गाउँ–देहाततिर फर्कौं । के हामीले जनसञ्चारका माध्यमहरूको उपयोग परिवर्तन र विकासको सन्देश फैलाउनका लागि गरिरहेका छौं ? के त्यसो गरिरहँदा उपयुक्त भाषा र शब्दको चयन भइरहेको छ ? अनुभवले के देखाउँछ भने राजनीतिकर्मी, सामाजिक अभियन्ता वा मिडियाले पनि प्रायः ती शब्दहरूको प्रयोग गर्छन् जसबाट आमजन अपरिचित छन् ।

निरन्तर सुनिरहँदा ती शब्दसँग परिचित भए पनि त्यसको भावार्थ ग्रहण गर्न सकिरहेका छैनन् । त्यसैले यो एउटा चुनौती हो । देहात आफैंमा सञ्चारको एउटा समानान्तर धारा छ । जहाँ प्रवेश गर्ने काइदा जान्न सके तत्काल देहाती मनमा छिर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस