परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा जाँदै, अमेरिकी समकक्षीसँग भेटवार्ता हुने
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अमेरिकाको भ्रमणमा जाने भएका छन् ।
मन्त्री ज्ञवालीले भ्रमणका क्रममा डिसेम्बरको तेस्रो साता वासिङटन डिसीमा उच्चस्तरीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
अजेण्डाबारे नखुलाए पनि मन्त्री ज्ञवालीले यो महीनाभित्र अमेरिकाको भ्रमणमा जान लागेको पुष्टि गरे ।
हिमाल खबरसँगको कुराकानी गर्दै मन्त्री ज्ञवालीले अमेरिकी विदेश मन्त्रीसँग भेटवार्ता तय भएको जानकारी दिए ।
परराष्ट्र मन्त्री ज्ञवालीको अमेरिकी समकक्षीसँगको भेटवार्तालाई निकै अर्थपूर्ण मानिएको छ ।
मन्त्री ज्ञवालीसँगै परराष्ट्र सचिव शंकरदास बैरागी पनि अमेरिका भ्रमणमा जानेछन् ।
सचिव बैरागीले अमेरिकी विदेश मन्त्रालयका समकक्षीसँग द्विपक्षीय परामर्श बैठक समेत गर्ने बताइन्छ ।
परराष्ट्रमन्त्रीको भ्रमणमा सहयोग गर्न नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरी पनि यही साता वासिङटन डीसी जाँदैछन् ।
भेटवार्ताका क्रममा अमेरिकी सहयोगमा नेपालमा सञ्चालनक्रममा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेसनकाबारे पनि छलफल हुनेछ ।
अमेरिकाले नेपालको ऊर्जा र सडक पूर्वाधारका परियोजनामा सघाउन मिलेनियम च्यालेन्ज कर्पोरेसनमार्फत रु. ५१ अर्बभन्दा बढी सहयोग दिने सम्झौता गरेको छ ।
यो नेपाल सरकारले कुनै पनि विदेशी निकायबाट एकै परियोजनाका लागि प्राप्त गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग रकम हो ।