शेयर परिसूचक फेरि घट्यो, अर्थमन्त्री भन्छन्– होल्ड गर्नसक्ने गरी मात्र लगानी गर्नुस्
आइतबार र सोमबार लगातार उकालो चढेको शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) घटेको छ । आज बजार ३ अंकले घटेर १ हजार १४१ विन्दुमा आइपुगेको छ ।
रु. ३८ करोड ३२ लाख ९३ हजारको शेयर किनबेच भएको बजारमा फाइनान्स, उत्पादनमूलक र अन्य सूचक उकालो चढे भने बाँकी सबै सूचक ओरालो झरेका छन् ।
आजको कारोबारबाट गुहेश्वरी मर्चेन्टका लगानीकर्ताले सबैभन्दा धेरै साढे ८ प्रतिशत कमाएका छन् भने प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य पनि करीब ६ प्रतिशतले बढेको छ ।
तर, सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सका लगानीकर्ताले सात प्रतिशतले गुमाए । त्यसैगरी, नेपाल सेवा लघुवित्तको शेयर मूल्य पनि साढे पाँच प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढि नेपाल ब्यांकको रु. १३ करोड ४८ लाख मूल्यको शेयर कारोबार भएको छ ।
शेयर बजारका लगानीकर्ताहरुको मनोबल खस्किइरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले भने शेयर लगानीकर्ताहरुले आफ्नो क्षमताअनुसार लगानी गर्न सुझाव दिएका छन् । डा. खतिवडाले होल्ड गर्न सक्ने शेयर मात्र खरिद गर्नुपर्ने बताएका हुन् ।
संसद्को अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले शेयर बजार व्यापार चक्र भएको र लगानीकर्ताले धैर्य गर्न सक्नुपर्ने बताए । “ओभर ड्राफ्ट लिएर १५ दिनमा शेयर बढ्ने भनेर शेयर किन्नु भएन, लामो समय शेयर होल्ड गर्नसकिने गरी लगानी गनुपर्याे ”–अर्थमन्त्री खतिवडाले भने ।
शेयर बजारको बारेमा अध्ययन गर्न कार्यदल गठन भएको र कार्यदलले शुक्रबार सुझावसहितको प्रतिवेदन दिने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागेपछि संसदको अर्थसमितिले यसबारेमा छलफल गर्न अर्थमन्त्री डा. खतिवडालाई आज बोलाएको थियो ।
पूँजीबजारमा देखिएको समस्याबारे अध्ययन गर्न अर्थ मन्त्रालयले २० मंसिर मा नेपाल राष्ट्र ब्यांकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउने कार्यादेश छ ।
पूँजीबजार बजार निरन्तर घट्दै गएपछि सुधारका लागि शेयर लगानीकर्ता दबाब समूहले तीन दिनदेखि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को गेटबाहिर रिले अनशन जारी राखेका छन् ।