माथिल्लो तामाकोशीको पैसा फिर्ता नपाएकालाई आवेदन दिन आग्रह
माथिल्लो तामाकोशीको साधारण शेयरमा आवेदन भरेका दोलखावासीले रकम फिर्ता नपाएको गुनासो गरेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीले आफ्नो दावीसहित आवेदन दिन आग्रह गरेको छ ।
कम्पनीले आज सूचनामार्फत रकम नपाएका आवेदकलाई आगामी १ पुसदेखि आवेदन दिन आग्रह गरेको हो ।
शेयर आवेदकको नाम नमिलेको, ब्यांंक खाता नम्बर नमिलेको, खाता रोक्का रहेको तथा ग्राहक परिचयपत्र नम्बर नबुझाएका र छ महीनाभन्दा बढी समयसम्म कारोबार नभएको खाताले गर्दा आवेदकले रकम प्राप्त गर्न सकेका थिएनन् ।
रकम खातामा फिर्ता नभएका आवेदकको हकमा पुनःतथ्याङ्क रुजु गरी सम्बन्धित व्यक्तिको विवरण सच्याउन कम्पनीले आग्रह गरेको छ ।
कम्पनीले रकम प्राप्त गर्न नसकेका आवेदकलाई दरखास्त बुझाएकै दोलखाका सङ्कलन केन्द्र तथा काठमाडौं उपत्यकामा सनराइज क्यापिटल कमलपोखरीमा चेकमार्फत फिर्ता लिन अनुरोध गरेको छ ।
चेकमार्फत रकम फिर्ता गर्दासमेत रकम फिर्ता भुक्तानी प्राप्त गर्न नसके सनराइज क्यापिटलमा सम्पर्क राख्न सूचनामा आग्रह गरिएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत १६ साउनदेखि २१ भदौसम्म आयोजना प्रभावित दोलखावासीका लागि साधारण शेयर बिक्री गरेको थियो ।
कम्पनीले दोलखावासीलाई रु एक अर्ब पाँच करोड ९० लाख बराबरको शेयर बिक्री गरेको थियो । उक्त शेयरमा दुई लाख ७६ हजार १९४ ले आवेदन दिएका थिए ।
कम्पनीले दोलखावासीलाई बिक्री गरेको शेयरको बाँडफाँट गत १४ कात्तिक मा गरिसकेको छ । १५ देखि १९ कात्तिकसम्म सर्वसाधारणलाई बिक्री गरेको साधारण शेयरमा नपरेको रकम फिर्ता गरिसकेको कम्पनीले जनाएको छ । रासस