सरकारलाई दिएको समर्थन पुर्नविचार हुन्छः महन्थ ठाकुर
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले पार्टीको विस्तारित बैठकमा सरकारलाई दिएको समर्थनबारे निर्णय हुने बताएका छन् ।
आज जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै ठाकुरले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अहिलेसम्म पार्टीमा छलफल नभएको बताएका हुन् ।
उनले भने, “सहमति बमोजिम सरकारले मधेशको माग पुरा गर्न तत्परता नदेखाए समर्थनमा पुर्नविचार गर्न सकिन्छ ।”
त्यस्तै, राजपाको अध्यक्ष मण्डलको संयोजकबाट हटाइएकोबारे ठाकुरले भने – “विधान बमोजिम सर्वसम्मत अध्यक्ष चयन हुन नसकेकोमा चिन्तित छु ।” उनले आफूमा पदको लोभ र आकांक्षा नभएको पनि बताए ।
राजपा नेपालको अध्यक्षमण्डलको पछिल्लो बैठकले ठाकुरलाई हटाउँदै राजेन्द्र महतोलाई संयोजक चयन गरेको थियो ।
ईश्वरचन्द्र झा, जनकपुर