सुनसरीको खनारमा भीषण आगलागी
सुनसरीको इटहरी उपमहानगरपालिका-१० खनारस्थित लक्ष्मी फार्म उद्योगमा २५ मंसीर बिहान आगलागी हुँदा रु २ करोडभन्दा बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ ।
बिहान ४ बजे डोरमेट बनाउने उद्योगको तयारी वस्तु गोदाम क्षेत्रबाट आगो फैलिएको प्रहरीको प्रारम्भिक अनुमान छ । उद्योगमा मजदूर नभएको अवस्थामा आगो लागेको हो ।
उद्योगका प्रबन्धक शंकर ठाकुरका अनुसार आगलागीबाट तयारी डोरमेट, कच्चा पदार्थ र महत्वपूर्ण मेशिनमा ठूलो नोक्सानी भएको छ । इटहरी, धरान, इनरुवा, विराटनगर, दुहवी र सुन्दरहरैंचाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेतको प्रयासमा आगलागी नियन्त्रणमा आएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार आगलागीको कारण यकिन भइसकेको छैन । रासस