‘ए’ डिभिजन लिग- मनाङको लागातार सातौं जित
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले लगातार सातौं जीत निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा २४ मंसीरमा भएको खेलमा मछिन्द्र युथ क्लबलाई १-० गोलले पराजित गर्दै मनाङले लगातार सातौं जित हासिल गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मनाङले ८४औं मिनटमा ओवावाले अफिजको गोलमार्फत अग्रता कामय गर्यो। भिक्टोरको पासमा डी-बक्सभित्रबाट अफिजले प्रहार गरेको बलले जाली चुमेको थियो।
खेलको ६१औं मिनटमा मनाङले पेनाल्टीको अवसर पाएको थियो। मनाङका अडिलाजालाई मछिन्द्रका डिफेन्डरले लडाएपछि प्राप्त पेनाल्टीमा अञ्जन विष्ट गोल गर्न असफल रहे। जितसँगै मनाङ ७ खेलमा शतप्रतिशत जितका साथ तालिकामा २१ अंक जोडेर शीर्ष स्थानमा यथावत छ। मछिन्द्र भने ३ अंकसहित तालिकाको १३ औं स्थानमा छ। रासस