भारतीय केन्द्रीय ब्यांकका गभर्नरद्वारा राजिनामा
भारतको केन्द्रीय ब्यांक ‘रिजर्भ ब्यांक अफ इन्डिया’का गभर्नर उर्जित पटेलले राजिनामा दिएका छन् ।
“निजी कारणबाट मैले तत्काल प्रभावित हुने गरी पदबाट राजिनामा दिएको छु,” पटेलको राजिनामा पत्रमा उल्लेख छ ।
रिजर्भ ब्यांकका डेपुटी गभर्नर विरल आचार्यले गत महीना आफ्नो भाषणमा खुलेर केन्द्रीय ब्यांकको स्वायत्तताको वकालत गरेका थिए । नगद उपलब्धता, ऋण प्रवाह तथा सरकारी नियन्त्रणको मुद्दामा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार र केन्द्रीय ब्यांकबीच मतभेद रहेको आकलन त्यतिबेलै गरिएको थियो ।
केही समययता मोदी सरकार र गभर्नर पटेलबीच मनमुटावका समाचार सार्वजनिक हुँदै आएका थिए । सरकारले रिजर्भ ब्यांक ऐनको धारा-७ अन्तर्गत् आफ्नो विशेषाधिकार लागू गरेका कारण केन्द्रीय ब्यांकको स्वायत्ततामाथि हस्तक्षेपका रूपमा विश्लेषण गरिएको थियो । उक्त धाराले जनहीतको मुद्दामा रिजर्भ ब्यांकका गभर्नरलाई निर्देशन दिने अधिकार दिएको छ ।
सरकारले रिजर्भ ब्यांकसँग ३ लाख ६० हजार करोड भारु माग गरिरहेको समाचार पनि सार्वजनिक भएको थियो, जसको गभर्नर पटेलले विरोध गर्दै आएका थिए । यिनै खिचातानीबीच गभर्नर पटेलले ९ नोभेम्बरमा प्रधानमन्त्री मोदीसँग संवाद गरेका थिए । गत महीना रिजर्भ ब्यांक बोर्डको ९ घण्टा लामो बैठक पनि चलेको थियो ।
बीबीसी हिन्दीबाट