जनकपुर आए अयोध्याका जन्ती
राम-जानकी विवाह महोत्सवमा सहभागी हुन २४ मंसीरमा अयोध्याबाट जन्ती जनकपुर आइपुगेका छन्।
घोडासहितको रथमा सवार श्रीराम र लक्ष्मणको भेषमा सजिएका २ बालकलाई लिएर साधु महन्थहरूको समूह जनकपुर आइपुगेको हो। धनुषाको जटही सीमामा जानकी मन्दिरका महन्थका सहयोगी रामरोशन दासले जन्तीलाई स्वागत गरेका थिए।
नगराइन नगरपालिकाका मेयर परमेश्वर यादव र स्थानीय बासिन्दाले फूलमाला पहिर्याएर स्वागत गरे। ३ दिनसम्म बस्ने जन्तीको बासको व्यवस्था जनकपुरस्थित मारवाडी सेवा समितिमा गरिएको छ।
२४ मंसीरमै तिलकोत्सव समारोह सम्पन्न भएको छ। तिलकोत्सवमा जनकपुरस्थित राम मन्दिरको प्रांगणमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास र राम मन्दिरका महन्थ राम गिरीबीच सम्धी मिलन कार्यक्रम गरियो।
तिलकोत्सवका लागि सोमवार अपरान्ह जानकी मन्दिरका महन्थ दासको नेतृत्वमा १५१ परिकारका मिष्ठान्न र फलफूल राम मन्दिर पुर्याइएको थियो।
महोत्सवको पाँचौं दिन २५ मंसीरमा मटकोर र छैटौं दिन २६ मंसीरमा स्वयम्बर तथा वैवाहिक कार्यक्रम हुनेछन्।
ईश्वरचन्द्र झा, जनकपुर