अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अधिकारी नेपालमा, परमाणुको शान्तिपूर्ण उपयोगमा जोड
नेपालले गैर ऊर्जाको क्षेत्रमा पारमाणविक पदार्थको उपयोग बढाउनुपर्नेमा जोड दिइएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले परमाणुको शान्तिपूर्ण प्रयोगमा जोड दिएका हुन् ।
कार्यक्रममा बोेल्दै आईएईएका कार्यक्रम व्यवस्थापन अधिकृत माईकेई कुरिचुकीले खाद्य तथा कृषि, जनस्वास्थ्य, प्रविधि तथा उद्योग, जलस्रोत र पर्यावरण संरक्षणमा पारमाणविक वा रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोग बढाउनुपर्ने सुझाएका छन् ।
आईएईए महानिर्देशनालयका वरिष्ठ समन्वय अधिकृत सोता किमिसिमोले नेपालजस्ता आईएईएको सदस्यता लिएका मुलुकले विज्ञान र प्रविधिको प्रयोगमा सहभागिता बढाउन पारमाणविक ऊर्जाको सही उपयोग जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै विज्ञान तथा प्रविधि मन्त्रालयका सचिब कृष्णराज बिसीले आईएईएसँग समन्वय बढाउने सरकारको योजना रहेको बताए ।
केही समयभित्रै परमाणु ऊर्जासम्बन्धीको विधेयक संसद्मा पेश हुन लागेको जानकारी दिँदै उनले भने, “परमाणु क्षेत्रमा आर्जित अन्तर्राष्ट्रिय ज्ञान र अनुभवबाट नेपालले पनि आफ्नो तत्सम्बन्धीको नीति समायोजन गर्दै जानेछ ।”
हालसम्म नेपालमा शरीर भित्रको रोगको अवस्था पत्ता लगाउन (एक्स रे) गर्न, क्यान्सरको उपचार गर्न, बिउ विजन र पशुको उत्पादकत्व बढाउन पारमाणविक र रेडियोधर्मी पदार्थको प्रयोग हुँदै आएको छ ।
सन् १९५६ मा जारी भएको आईएईएमा नेपालले सन् २००८ मा हस्ताक्षर गरि सदस्यता लिइसकेको छ ।
सन् २००८ मा नेपालले परमाणु नीति समेत बनाइसकेको छ । नीतिमा कृषिजन्य उत्पादकत्व बढाउन र उपचारमा सहजता ल्याउन पारमाणविक पदार्थको उपयोगमा ध्यान दिइने उल्लेख छ ।
उक्त नीतिमा विकिरण उत्पादन गर्ने उपकरण र रेडियोन्यूक्लिसाइड उपयोग गर्ने व्यक्ति, त्यस्तो पदार्थमा काम गर्ने स्वास्थ्यकर्मीले अपनाउनुपर्ने उपायसम्बन्धी मापदण्ड निर्धारण गर्ने, रेडियोधर्मी फोहोरमैला तथा उपयोग गरिएको इन्धनको व्यवस्थापन सम्बन्धी मापदण्ड निर्धारण गर्ने उल्लेख छ ।
तर, परमाणु सम्बन्धी ऐन नबनेका कारण नीति पूर्ण रुपमा लागू गर्न कठिनाइ भएको अधिकारीहरु बताउँछन् ।
यसैबीच, परामाणु पदार्थको आयात, उपयोग र विसर्जनलाई नियमन गर्न तयार विधेयक संसदमा पेश हुन लागेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखाका प्रमुख ऋषि कोइरालाले बताएका छन् ।
आईएईए अन्तर्राष्ट्रिय रुपमा शान्तिपूर्ण, स्वास्थोपचार, ऊर्जा र उत्पादनमुलक कार्यको लागि पारमाणविक र रेडियोधर्मी पदार्थको उपयोगमा जोड दिने संयुक्त राष्ट्रसंघीय इकाई हो ।
आईएईएको स्थापना अघिसम्म पारमाणविक पदार्थको प्रयोग घातक हतियार बनाउन बढी गरिन्थ्यो । जापानको हिरोसिमा र नागासाकीमा सन् १९४५ को अगस्ट ६ र ९ मा खसालिएका परमाणु बमबाट लाखौंको ज्यान गएको थियो ।
तर, सन् १९५५ पछि भने पारमाणविक पदार्थको शान्तिपुर्ण विधिले जनस्वास्थ्य उत्पादनमुलक कार्यमा उपयोगबारे छलफल शुरु भएको थियो । त्यसको एक वर्षपछि १९५६ मा संयुक्त राष्ट्र संघको एउटा इकाईको रुपमा आईएईएको स्थापना भएको थियो ।
२४ मंसीरमा शुरु भएको आणविक ऊर्जा सम्बन्धी गोष्ठी दुईदिनसम्म चल्नेछ ।