‘ए’ डिभिजन लिग– आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित
शहीद स्मारक 'ए" डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत २४ मंसीरको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइजलाई १-० गोल अन्तरले पराजित गरेको हो। आर्मीको जितमा टंक बस्नेत नायक बने। उनले खेलको ६७औं मिनटमा टेकबहादुर बुढाथोकीको पासलाई सदुपयोग गर्दै हेडिङमार्फत गोल गरेका थिए।
खेलको म्यान अफ दी म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए। जितपछि आर्मी ७ खेलबाट १७ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ। पराजित ब्रिगेड ब्वाइज समान ७ खेलबाट चार अंकसहित तालिकाको एघारौं स्थानमा छ।