बीबीएल खेल्न सन्दीप अष्ट्रेलियातर्फ
नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग (बीबीएल) खेल्न आज अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
बीबीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी सन्दीपले काठमाडौंमा भइरहेको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियट्सबाट दुई खेल खेलेर अष्ट्रेलियातर्फ लागेका हुन् ।
२२ मंसीरको उद्घाटन खेलमा सन्दीपले विराटनगर वारियर्सविरुद्ध दुई तथा आइतबार चितवन टाइगर्सविरुद्ध तीन विकेट लिएका थिए ।
सन्दीपले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्न लागेका हुन् । बिग बास लिग ४ पुसदेखि शुरु हुँदैछ । बीबीएलभन्दा अगाडि नै बाङ्लादेश प्रिमियर लिग बीपीएलमा अनुबन्ध भइसकेका सन्दीपले बीबीएलको केही खेले खेलेर बाङ्लादेश जाने छन् । लामिछाने बाङ्लादेश र युएर्इको लिगमा समेत आबद्ध भइसकेका छन् ।
इण्डियन प्रिमियर लिग (आइपिएल) खेलेपछि विश्वभर चर्चित बनेका सन्दीपले क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० क्यानडा लिग, अफगानिस्तान प्रिमियर लिग र टी–२० लिग खेलिसकेका छन् । रासस