प्रदेश अख्तियारमा ३ महिनामै ७८० उजुरी, सबैभन्दा धेरै रूपन्देहीका
बुटवलस्थित प्रदेश-५ को अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयमा सबैभन्दा धेरै उजुरी रूपन्देहीका पर्ने गरेका छन्। सबैभन्दा कम भने पूर्वी रुकुमका छन्।
कार्यालय प्रमुख रविलाल पन्थका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मा ७८० वटा उजुरी परे। तिनमा रूपन्देहीका २५७ वटा छन्। सबैभन्दा कम पूर्वी रुकुमका ५ वटा छन्।
यस्तै, कपिलबस्तुका १५८, नवलपरासी पश्चिमका ११३, अर्घाखाँचीका ७१, गुल्मीका ५०, पाल्पाका ४८, नवलपरासी पूर्वका ४१, रोल्पाका २६ र प्युठानका ११ वटा उजुरी दर्ता छन्।
उजुरीको प्रकृति हेर्दा अन्य जिल्लाको तुलनामा रूपन्देहीमा सबैभन्दा बढी भ्रष्टाचार र अनियमितता हुने गरेको छ। प्रदेश-५ का ९ र प्रदेश-४ को नवलपरासी पूर्व गरी १० जिल्लामा आयोगको कार्यक्षेत्र छ।
आएका उजुरीमध्ये २७६ उजुरी फर्स्योट गर्न सफल भएको आयोगले जनाएको छ। बाँकी ५०४ वटा अनुसन्धानको क्रममा छन्। अख्तियार दुरुपयोगसम्बन्धी ६० प्रतिशत उजुरी बेनामी आउने गरेको कार्यालय प्रमुख पन्थले बताए।