अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतको रोमाञ्चक जित
अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतले ३१ रनको रोमाञ्चक जित हात पारेको छ।
एडिलेड मैदानमा भएको पहिलो टेस्टको पाँचौं दिनको खेल रोमाञ्चक मोडमा पुगेका बेला बाजी अन्ततः भारतले मारेको हो। यससँगै भारतले चार वटा टेस्ट म्याचको श्रृंखलामा १-० को अग्रता लिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा अलआउट हुँदै २५० रन जोडेको थियो। अष्ट्रेलियन फास्ट बलरहरूले सनसनीपूर्ण बलिङमार्फत् भारतको शीर्षक्रमको ब्याटिङ ध्वस्त पारे पनि चेतेश्वर पुजाराले एकपक्षीय रूपमा क्रिजमा टिक्दै टिमलाई २५० को स्कोरसम्म पुर्याएका थिए, जसले पहिलो इनिङमा १२३ रन बनाए।
पहिलो इनिङमा अष्ट्रेलिया २३५ रनमा समेटियो। ट्राभिस हेडले सर्वाधिक ७२ रन बनाए। दोस्रो इनिङमा भारतले ३०७ रन जोड्यो। त्यसमा पनि पुजाराले नै ७१ रनको शानदार पारी खेले। दोस्रो इनिङमा अष्ट्रेलियाका नाथन लाइनले ६ विकेट लिए।
३२३ रनको विजयी लक्ष्य पाएको अष्ट्रेलियाको ब्याटिङ फेरि एकपटक धर्मरायो। ६० रन बनाएका शन मार्सको विकेट गुमेपछि अष्ट्रेलियाको सम्भावना कमजोर बनेको थियो। तर, पुछारका ब्याट्सम्यानहरूले केही सुधारिएको प्रदर्शन गर्दै भारतलाई दबाबमा ल्याए। तर, रविचन्द्रन आश्विनले अष्ट्रेलियाको अन्तिम ब्याटिङ जोडीका रूपमा क्रिजमा रहेका लाइन र जोश हेजलउडको साझेदारी तोडेर भारतलाई जित दिलाए।
अष्ट्रेलियामा श्रृंखलाको पहिलो टेस्ट जितेपछि मनोबल उच्च बनेको भारतले दोस्रो टेस्ट पर्थमा खेल्नेछ।