ईपीएलमा रनको वर्षा, भैरहवाले टी २० मा २१६ को लक्ष्य समेत पूरा गर्यो
काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत् आइतवारको खेलमा रनको वर्षा भएको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न व्याट्सम्यान हावी आइतवारको खेलमा बाजी भने भैरहवाले मारेको छ । पोखरा राइनोजले २० ओभरमा दिएको २१६ रनको लक्ष्य सहजै पार गर्दै भैरहवा ग्लाडियटर्सले दर्शकलाई टी २० क्रिकेटको भरपुर मनोरञ्जन दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै २१५ रन जोडेको थियो । पोखरा राइनोजबाट खेलिरहेका दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचर्ज लेबीले पहिलो विकेटमा काइल कोएट्जरसँग मिलेर शतकीय साझेदारी गरेपछि पोखराले प्रतियोगितामा शानदार शुरुवात गरेको थियो । लेबीले ३६ बलमा ७९ रन र कोएट्जरले ३७ बलमा ४७ रन जोडे । त्यसैगरी सुनील धमलाले ३८ रन बनाए ।
२० ओभरमा २१६ रनको लक्ष्य भैरहवाका लागि सहज थिएन । नवौं ओभरमा ७१ रन बनाउँदा चार विकेट गुमाइसकेको भैरहवा दबाबमा थियो । तर, रवि इन्दर सिंहले ६० बलमा अविजित १२५ रन बनाएपछि भैरहवाले दुर्इ बल बाँकी छँदै लक्ष्य पूरा गर्यो । आइतवारको पहिलो खेलमा ललितपुर प्याट्रियट्सले चितवन टाइगर्सलाई ११ रनले पराजित गर्यो ।