लगानीकर्ताले आफैं शेयर खरिद बिक्री गर्न पाएनन्
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २३ मंसीरदेखि लगानीकर्ता आफैंले शेयर खरिद बिक्री गर्न सक्ने उद्घोष गरेको थियो। तर, आइतबार ब्रोकर कम्पनीसँग सम्झौता गरी अनलाइन कारोबारका लागि लगानीकर्ताको अर्डर सिस्टमले लिन मानेन।
बजार खुलेको २० सम्म कुनै लगानीकर्ताले कारोबार गर्न सकेनन्। ब्रोकरको अर्डर पनि कार्यान्वयन भइरहेको थिएन। गत साता कुनै पनि समस्या नआएको सफ्टवेयरबाट कारोबार हुन नसक्दा लगानीकर्ता र ब्रोकर अलमलमा देखिए।
शेयर खरिदमा समस्या नभए पनि डिम्याट खातामा रहेको शेयर हेर्ने फिचरले काम नगर्दा समस्या देखिएको हो। ब्रोकर कम्पनीले मात्र शेयर कारोबार गर्दा डिम्याट खातामा रहेको शेयर हेर्ने फिचर सक्रिय गरिएको थिएन।
लगानीकर्ताले खातामा भएको भन्दा बढी शेयर बिक्री गर्ने जोखिम हुने भएकाले उक्त फिचर सक्रिय गरिएको थियो। तर, उक्त फिचरले प्रभावकारी काम गर्न नसकेपछि कारोबारमा अलमल आएको हो। नेप्सेले उक्त फिचर निष्क्रिय गरेपछि मात्र ब्रोकरहरूले सहज रूपमा कारोबार गर्न सकेका थिए।
नेप्सेका आईटी विभाग प्रमुख निरञ्जन नायकले भने, “लगानीकर्ताले एउटै डिम्याट खाताबाट धेरै ब्रोकर कम्पनीमा शेयर कारोबार गरेका छन्। त्यस्तो डाटा एउटै ठाउँमा नदेखिएकाले शेयर बिक्रीमा समस्या देखिएको हो।”
अनलाइन कारोबार गर्दा एउटा डिम्याट खाता एउटा ब्रोकर कम्पनीमा मात्र प्रयोग गर्नुपर्ने उनको भनाइ छ। तर, नेपाल लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल डिम्याट खाता जति ठाउँमा प्रयोग भए पनि सफ्टवेयरले आफैंले कति शेयर छ भनेर थाहा पाउने व्यवस्था मिलाउनुपर्ने बताउँछन्। “सिस्टमले सर्पोट गर्दैन भन्ने नाममा लगानीकर्तालाई बन्धनमा पार्नु हुँदैन,” उनले भने।
हाल नेपाल धितोपत्र बोर्डले दुई वटा मात्र डिम्याट खाता खोल्न पाउने व्यवस्था गरेकाले अब लगानीकर्ताले दुईभन्दा बढी ब्रोकर कम्पनीबाट शेयर कारोबार गर्न नसक्ने भएका छन्। अर्याल यस्तो व्यवस्था शेयर बजार विकास र विस्तारविरुद्ध रहेकाले तत्काल सुधार गर्नुपर्ने बताउँछन्।
लगानीकर्ताले जति पनि डिम्याट खाता खोल्न सक्ने व्यवस्था बनाए अनलाइन कारोबारलाई प्रभावकारी बनाउन सहयोग पुग्ने स्टक ब्रोकर एसोसिएसनका उपाध्यक्ष टंक गौतमको भनाइ छ। नायक भने नेप्सेले धितोपत्र बोर्डलाई दुई वटा मात्र खाता खोल्न दिने विषयमा आग्रह गरिने बताउँछन्।
बजार दोहोरो अंकले उकालो
आइतवार कारोबार शुरु हुँदा अलमल देखिए पनि नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। कारोबार रकम रु. २२ करोड ३७ लाखमा सीमित हुँदा नेप्से परिसूचक १०.८५ अंकले बढेर ११३१.७० अंकमा पुगेको छ।
बढेको बजारमा रु.२ करोड ७७ बराबरको शेयर खरिद बिक्री भएको नेपाल ब्यांक लिमिडेट धेरै कारोबार गर्ने कम्पनी बन्दा ‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स पनि १.१३ प्रतिशतले उकालो लाग्यो।