निर्मला हत्या प्रकरणको वास्तविकता कञ्चनपुरबाटै सार्वजनिक गर्ने तयारी
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले पक्राउ परेका २ युवकको डीएनए रिपोर्ट प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाटै वास्तविकता सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
कसुर स्वीकार गरेको भनिएका महेन्द्रनगरका प्रदीप रावल र विशाल चौधरीको डीएनए रिपोर्ट आएपछि कञ्चनपुर लगेर वास्तविक सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको हो।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरज शाहीले घटनाको अनुसन्धान जिल्ला प्रहरीले गरिरहेकाले अनुसन्धानपछिको वास्तविकता पनि उसैले सार्वजनिक गर्ने बताए। “हामीले आवश्यक प्राविधिक सहयोग मात्र गरिरहेका छौं,” उनले भने।
नेपाल प्रहरीमा अनुसन्धानको क्षेत्रका कार्यरत बहालवाला र केही अवकाशप्राप्त अधिकारीहरू भने डीएनए रिपोर्टलाई मात्र आधार बनाएर अनुसन्धान केन्द्रीत गर्न नहुने बताउँछन् । अवकाशप्राप्त प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मी अनुसन्धानको सम्पूर्ण प्रमाण डीएनएबाट मात्र वास्तविकता पत्ता नलाग्ने सम्भावना रहेको बताउँछन्।
“अहिले डीएनए मिलेको व्यक्ति नै अभियुक्त हो भन्ने हिसाबले काम भएजस्तो देखिन्छ,” उनी भन्छन्, “अनुसन्धान पूरा हुँदा कथा बन्छ र कथालाई ‘सर्पोट’ गर्ने प्रमाण र घटनाक्रमले हो।”
प्रहरीले अहिलेसम्म यो घटनासँग जोडिएको शंकामा १२ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ भने ९ जनाको डीएनए परीक्षण गरेको छ।