अन्तर्वार्ता/विचारआइतबार, २३ मंसिर , २०७५

“सानो टिमले गरेको निर्णयको स्वामित्व संगठनले लिन सक्दैन” (अन्तर्वार्ता)

हिमालखबर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र पारदर्शिताको मुद्दा पेचिलो बनेको छ, अहिले। खासगरी, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गुनासो गर्ने ठूलो पंक्ति तयार भएको छ। दुई तिहाइ बहुमतको सरकार र त्यसलाई सञ्चालन गर्ने पार्टी विधि र प्रक्रियामा नचलेकामा असन्तुष्टी झांगिएको छ। उच्च तहकै नेताहरूबाट त्यस्तो असन्तुष्टी मुखरित भइरहेको छ। त्यसको अग्रपंक्तिमा देखिन्छन्, स्थायी कमिटी सदस्य घनश्याम भुसाल। नेकपा र सरकारको अहिलेको गतिबाट भुसाल त्यति आशावादी देखिँदैनन्। प्रस्तुत छ, सरकार र त्यसलाई सञ्चालन गर्ने नेकपाको कार्यशैली, सम्भावित परिणाम र समाधानका आयामहरूमा केन्द्रित रहेर हिमालखबरका लागि रामेश्वर बोहराले गरेको संवादको सम्पादित अंश-

नौ महिना पूरा गर्दै गर्दा सरकार ‘डिस्फंक्सनल’जस्तो देखिएको छ। यस्तो किन भएको होला?
नौ महिनाको कुरा गर्दा मलाई २०५१ सालको एमालेको अल्पमतको सरकारसँग जोड्न मन लाग्यो। त्यसबेला पार्टी घोषित विधिभित्र थियो, पद्धतिमा थियो, सामूहिकतामा थियो। सरकारका हरेक निर्णय ‘कलेक्टिभ्ली’ हुन्थे।

कमसेकम स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र संसदीय दलले त्यसलाई ग्रहण गर्थे। सम्पूर्ण पार्टीपंक्तिले त्यसमाथि आफ्नो स्वामित्व लिन्थ्यो। कुनचाहिँ राम्रो, कुन नराम्रो, राम्रोका लागि के गर्नुपर्छ भनेर छलफल हुन्थ्यो। त्यसबेलाको पार्टीको कार्यशैलीको हिसाबले भन्ने हो भने गल्ती पनि सामूहिक हुन्थ्यो, त्यसको श्रेय पनि सामूहिक नै हुन्थ्यो।

अहिले हामी असाध्यै सानो टिमबाट चल्दैछौं। पार्टीभित्रको अन्तरविरोधको भाषामा भन्दा हाम्रो पार्टी नेकपा अहिले सानो गुट बनाएर, छलफल नभएरै निर्णय हुने हिसाबले चलेको छ। स्वभावैले जति थोरै मानिसबाट चलाइन्छ, त्यति धेरै गल्ती हुने सम्भावना रहन्छ।

लोकतन्त्रलाई संसारभर नै किन राम्रो व्यवस्था मानिएको हो भने त्यसले धेरैको रोजाइको प्रतिनिधित्व गर्छ। त्यही भएर निरंकुशता, तानाशाही, फासिजमलाई नराम्रो भनेको हो, धेरैका रोजाइ, तिनका रुचि, दृष्टिकोण र विकल्पहरू त्यहाँ खेल्दैनन्।

यो सैद्धान्तिक पृष्ठभूमिमा हेर्दा वर्तमान सरकार बहुत सानो टिमबाट चलेको छ, प्रधानमन्त्रीबाट मात्रै चलेको छ। पार्टीमै हेर्दा पनि ९ जनाको निकै सानो टिम (सचिवालय) बनाइएको छ। सचिवालयका ९ जनामध्ये पनि कतिपयले सरकारबाट हुने नियुक्ति र अन्य निर्णयमा छलफल हुँदैन भन्ने गर्नुभएको छ। स्वयं ९ जनाले नै हामीकहाँ छलफल हुँदैन भनेपछि अन्त कहाँ छलफल भयो होला र? सरकार र पार्टीको ठूलो समस्या वा गुदी कुरा यही हो।

यसले गर्दा एक त राम्रो निर्णय हुन पाएन। दोस्रो, भएका कुराको पनि स्वामित्व हुने भएन। किनभने, भएकै कुराको पनि त्यसभन्दा राम्रो अर्को विकल्प हुन सक्थ्यो। राम्रा प्रस्ताव पनि हुन सक्छन्, त्यसभन्दा राम्रो निर्णय पनि गर्न सकिन्छ।

सामाजिक सुरक्षा योजनाकै कुरा गर्दा यसमा प्रधानमन्त्रीको एउटा खास टिमले बढी चासो लियो, जसका कारण सामाजिक सञ्जालहरूमा तामझाम बढी भयो, पाखण्डको प्रदर्शन भयो भनेर धेरैले टिप्पणी गरे। यही कुरा छलफलमा लगेर यसको महत्व के हो भन्ने पार्टीपंक्तिले नै स्वामित्व लिएको भए राम्रो कुराको अझै राम्रो प्रदर्शन हुन सक्थ्यो।

के नेतृत्वको सोच नै यो सरकार ‘डिस्फंक्सनल’ देखिनुको प्रमुख कारण हो?
त्यसमा शंकै छैन। मैले पटक-पटक भन्दै आएको छु, सय वर्षको कम्युनिष्ट आन्दोलन नियाल्दा हामी अहिले जुन ‘पोजिसन’मा छौं, निर्वाचन परिणामको हिसाबले यो संसारको सबैभन्दा उत्तम नतिजा हो। कम्युनिष्ट पार्टी बलियो भएर समाजवाद आउँछ, शान्ति र विकास निर्माण हुन्छ भनेर जनतालाई अनुभूति गराउने अहिले अवसर र सामथ्र्य दुवै छन्। तर, त्यो देखिइरहेको छैन। त्यसको अर्थ नेतृत्वको कार्यशैलीमा समस्या छ।

सिंगो पार्टीपंक्तिले नै नेतृत्वलाई कार्यशैली सुधार गर भन्न नसक्ने कारणचाहिँ के होला?
यसलाई धेरै हिसाबले व्याख्या गर्न सकिन्छ। प्रक्रियागत हिसाबबाट पार्टी एकता प्रक्रिया शुरु भएपछि हामीभित्र आन्तरिक लोकतन्त्र असाध्यै खुम्चिँदै गएको छ। हिजो माओवादीको संगठन जसरी चल्थ्यो, त्यसभित्र लोकतन्त्र खुम्चिएकै थियो। नवौं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष निर्वाचित भएर आएपछि हिजोको एमालेमै पनि यो खुम्चिन थालेको थियो। अहिलेको कुरै नगरौं।

उहाँको नेतृत्वमा अरू धेरै कुरा हुन सक्छन् तर यो कार्यशैलीले समाजवादचाहिँ आउँदैन। तपाईं केही नयाँ कार्यक्रम पनि ल्याउनुहोला, प्रचारप्रसार पनि गर्नुहोला, तत्काल लोकप्रिय कार्यक्रम पनि होलान्। तर, संसारमा लोकप्रिय कार्यक्रमहरू आएका, धेरै लोकप्रियताका साथ आएका नेताहरूले जब समूहहरूलाई चलाउन सक्दैनन्, हामीले त देशको ठूलो जनसंख्यालाई चलाउनुपर्नेछ।

नेकपा हिले पोखरीजस्तो छ, कुनै तरंग छैन। ढुंगा वा ठूलै इँटा फाल्नुभो भने ढ्याप्प गर्छ। यसलाई फेर्नुपर्छ, फेर्न सकिन्छ र फेरिन्छ।

 आफ्नै पार्टीलाई नचलाएपछि त्यसले जनताको ठूलो समूहलाई कसरी परिचालित गर्छ? यदि कुनै नाराले पपुलर भइहाल्यो भने पनि अन्ततः यस्तो लोकप्रियता दुई दिनको हुन्छ। ‘पपुलिजम’ त कहीँ न कहीँ गएर ठक्कर खान्छ।

सरकार र पार्टीले कहिलेकाहीँ निर्णयहरूमा गल्ती गर्छ। तर, संगठनले त्यो गल्तीका कारण हुने क्षतिबाट बचाउँछ। राम्रो गर्‍यो भने त्यसलाई पूँजीकृत गर्छ। यो दिगो र टिकाउ कुरा हो। समाजवादका लागि त यो अझै अनिवार्य कुरा हो। त्यसका लागि सहकार्य, सहभागिताकै बाटोबाट जाने हो।

मलाई १० हजार या १० लाख जनाले जय-जयकार गर्लान्। त्यस्तो कुराबाट म प्रेरित हुँदै गएँ भने मैले जय-जयकार मात्र खोज्छु। तर, मलाई मान्छेले सम्झेला भनेर ‘पपुलिस्ट’ हुने हो भने एक दिन म मर्छु, मलाई जय-जयकार गर्ने मान्छे पनि समयक्रममा मर्छन्। के अर्थ छ त्यो दुई दिनको जय-जयकारको? म शालिक राख्छु, तीन पुस्तापछि कसको शालिक हो भन्ने थाहा हुन्न। चराले बिस्ट्याउने मात्र त्यो शालिक हुन्छ। यस्ता मूर्ति खडा गर्न, जय-जयकार गर्न हिँड्ने तरिका समाजवादको बाटो होइन।

तर, अहिले त रिझाउने होइन कि सरकारका प्रत्येक कदममा असन्तुष्टि र आक्रोश देखिन्छ नि?
नेतृत्वमा सांस्कृतिक चेतनाको कुरा पनि जोडिन्छ। दुनियाँलाई शक्ति प्रदर्शन गर्ने कुराबाट पपुलिजम शुरु हुन्छ। राम्रो वा नराम्रो जे होस्, दुनियाँलाई शक्ति देखाउने मनोविज्ञान हुन्छ। किन पटक-पटक पार्टीहरू सरकारमा आउँछन्, नाराहरू दिन्छन्, फेरि किन बिग्रिन्छन् भन्ने कुरा विश्वव्यापी अध्ययनको विषय हो।

राजनीतिमा मान्छे अनेक हिसाबले लाग्छ। जस्तो- कसैको भैंसीले मेरो चार गाँज धान खाइदियो, तेरो भैंसीले धान खाइदियो भनेर मैले चार वटा गाली गरें, उसले पनि मलाई चार वटै गाली गर्‍यो र हामी रिसायौं। ऊ कांग्रेस थियो, म कम्युनिष्ट पार्टीमा लागें। सामान्यतया पार्टीमा मान्छेहरू यसैगरी लाग्छन्।

तर, त्यो मान्छे, जसको भैंसीले धानको गाँज खाइदिएको थियो, त्यो मान्छे जसको धान खाइदिएको थियो, पार्टीले त त्यो चार गाँज धानबाट त्यसको चेतनालाई मास्तिर उठाउँदै लिएर जानुपर्छ। मामला चार गाँजको होइन, यो त समाजको हो। समाजका रीतिथिति, मूल्य, चेतना, एकता, विभाजन र तिनका कारणहरूको हो भनेर बताउने प्रक्रियामा मान्छे विकसित हुँदै गयो भने त्यो रूपान्तरण हुँदै गयो।

तर, जहिल्यै चार गाँजमै रह्यो भने भोलि साँधका लागि र पर्सि तलब कम भयो भनेर झगडा गर्छ। फेरि आफू आउँदाखेरि चार जना मान्छे उठेनन् भनेर झगडा गर्‍यो। म यत्रो पदमा पुगें, मेरो चाकडी गर्न आएन भनेर रिसायो। उसले जतिबेला पनि यही कुरा सोचिराख्ने भो। र, भैंसीले चार गाँज खाइदिएको खेतबाट ऊ नेता बनिराखेको हुन्छ।

पार्टीभित्रको अन्तरविरोधको भाषामा भन्दा हाम्रो पार्टी नेकपा अहिले सानो गुट बनाएर, छलफल नभएरै निर्णय हुने हिसाबले चलेको छ। स्वभावैले जति थोरै मानिसबाट चलाइन्छ, त्यति धेरै गल्ती हुने सम्भावना रहन्छ।

मैले ठ्याक्कै यहीँ ल्याएर यो कुरा जोडिहाल्नु त राम्रो हुँदैन तर पनि नेता बन्ने प्रक्रिया भनेको आफूलाई कसरी विस्तारित गर्दै जान्छ भन्नेमा निर्भर हुन्छ। आफूलाई विस्तारित गर्दै जाने हो, खुम्च्याउँदै जाने होइन। समाजलाई आफूभित्र ल्याउने हो, आफूभित्र कब्जा गर्ने होइन। उसले समाजका दुःख र सुखसँग आफूलाई गाँस्दै लिएर जानुपर्छ। लाखौं जनताका दुःख र सुखसँग मेरा दुःख र सुखलाई गाँस्न सकियो भने त्यो नेताको चेतना र सांस्कृतिक स्तर माथि हुन्छ।

‘पपुलिजम’ले आफ्ना सुख दुनियाँका सुख हुन् र आफ्ना दुःख दुनियाँका दुःख हुन् भनेर बुझ्छ। समाजवादले दुनियाँका दुःख मेरा दुःख हुन्, दुनियाँका खुशी मेरा खुशी हुन् भन्छ। मुख्य फरक यहाँ छ।

जस्तो- राष्ट्रपति भवनमा मान्छेले घुँडा टेके। हामीले कस्तो मान्छे बनाउँछौं भन्ने कुराको असाध्यै उम्दा उदाहरण यो हो। मेरा अगाडि तपाईंले घुँडा टेकेको देखेर मलाई आनन्द हुने हो भने त त्यो ‘स्याडिजम’ हो। अर्काको मानमर्दन गरेर आफू खुशी हुने तरिका समाजवाद होइन।

हामीले ओली वंशको भेला गर्यौं। दुनियाँले के देख्छ? हामी मंगोल वा किराँत वा मधेशी वा थारू वा बाहुन वा क्षत्री वा गुरुङ। हामी सबै बराबर हौं, कसैका दुःख पनि हाम्रो राष्ट्रिय दुःख हो भनेर भन्नुपर्ने कम्युनिष्टहरूले, मैले भुसाल वंशमा गौरव गर्न थालें भने के हुन्छ? त्यसदिन म समाजवादी रहन्छु? म भुसाल भएकाले विशेष छु भन्न थालें भने यसभन्दा घोर पिछडिएको र २१ औं शताब्दीको दुनियाँमा असभ्य चेतना के हुन्छ?

त्यसकारण, हामी जता जाँदैछौं, हाम्रो नेतृत्व जता जाँदैछ, मचाहिँ यसलाई डरलाग्दो देख्छु। हामी जस्तो बोल्छौं, ठूल्ठूला नेताहरू टीभीमा हेर्दा जति घोचपेचमा उत्रिरहेका देखिन्छन्, एकखालको आक्रोश र कुण्ठा व्यक्त गरिरहेका छन्, विद्वेष पस्किरहेका छन्। यसले समाजलाई विभाजन सिकाउँछ, लड्न सिकाउँछ, तेरो र मेरो भन्न सिकाउँछ। त्यसकारण राजनीतिमा संस्कृति र संस्कारको बहस चलाउन पनि आवश्यक छ।

सरकारमाथिको विश्वास किन धर्मराउँछ?
एउटा कुरा अपारदर्शिता हो। जस्तो- फिडेल क्यास्ट्रो आएपछि हामी नेताका नाममा कुनै बाटो नबनाउनू, कुनै स्कूल नखोल्नू, केही नगर्नू, कुरा केही व्यक्तिको होइन है भनेको कुरा हामी पढ्छौं। उनी रक्सी खान्छन् कि, सिगार खान्छन् कि, कस्तो बिछ्यौनामा सुत्छन्, कस्ता व्यक्तिसँग भेट्छन्, कस्ता अजेण्डामा कुरा गर्छन् भन्ने कुरा दुनियाँलाई थाहा छ।

मेरो नेताले मसँग लुकाएको केही छैन, कहीँ गल्ती देख्यो भने आत्मालोचना गरेको छ, नभएको ठाउँमा ‘कन्भिन्स’ गर्ने प्रयत्न गरेको छ भने यस्तो पारदर्शिताले पार्टीपंक्तिलाई नै बेग्लै ऊर्जा दिन्छ। नेल्शन मण्डेलाले ८० वर्षमा बिहे गरे। श्रीमतीसँग पारपाचुके भएपछि अर्को मुलुकको राष्ट्रपतिको विधवासँग बिहे गर्दा पनि सबैले सजिलै किन लिए भने उनमा पारदर्शिता थियो।

त्यसकारण, सरकारका मात्र होइन, व्यक्तिका पनि निर्णय प्रक्रिया कति पारदर्शी छन् भनेर दुनियाँले हेर्छ। मैले राम्रो निर्णय गरें भनेर मात्र हुन्न, त्यसको प्रक्रिया राम्रो थियो कि थिएन भनेर पनि मान्छेले हेर्छन्। बलात्कारबाट छोरो जन्मियो भने छोरो त जन्मिसक्यो, त्यसलाई बचाउनुपर्छ एउटा कुरा हो। तर, बलात्कारले दार्शनिक जन्मियो भनिदिन मिल्छ?

त्यसकारण, मैले राम्रो निर्णय गरें भन्ने कुराको कुनै औचित्य छैन। किनभने, हरेक राम्रो वा नराम्रो निर्णय सामाजिक हुन्छ। त्यो समाजले उत्पन्न गर्छ, समाजमा मान्छेले वहन गर्ने भूमिकाले उत्पन्न गर्छ। त्यसकारण, पारदर्शिता र निर्णयमा सहभागिता नेतृत्वका लागि असाध्यै महत्वपूर्ण हुन्छ।

स्थायी कमिटी र सचिवालयलाई लुकाएर निर्णयहरू भएपछि कसैले पनि स्वामित्व लिँदैन। राम्रा निर्णय नै भए पनि स्वामित्व नलिन सक्छन्। मान्छे काम गरिरहेको हुन्छ, हाम्रै प्रधानमन्त्री पनि म काम गरिरहेको छु, दौडिरहेको छु भन्नुहुन्छ। उहाँको स्वास्थ्यको यस्तो अवस्थामा पनि उहाँ दौडिराख्नुभएको छ, ४-५ वटा लामा-लामा बैठकमा सहभागी भइरहनुभएको छ, मान्छेहरूका कुरा सुनिरहनुभएको छ। व्यक्तिका हिसाबले यो राम्रो कुरा हो। तर, त्यसको नतिजा के भयो त?

अहिलेको अवस्था हेर्दा म व्यस्त भएँ भनेर प्रधानमन्त्रीले भन्नुभयो भने त्यसले उहाँको आफ्नो टिमका लागि मात्र अर्थ राख्छ। हो, उहाँले खाना खान पाउनु भएको छैन होला। मलाई थाहा नै छैन, उहाँले खाना खान पाउनु भएको छ कि छैन भनेर।

यस्ता धेरै स-साना कुरा छन्। हामी किन यो सरकारले काम गर्न सकेन भनेर ठूल्ठूला कारण मात्र खोज्छौं।

सरकारले राम्रा काम र निर्णय नगरेको हो या गर्ने ढंग नपुर्‍याएको हो?
राम्रो र नराम्रो हेर्ने के मा भन्ने हो। हेगेललाई मार्क्स गुरु मान्छन्। हेगेलले मार्क्सलाई भनेका थिए, ‘गुरु, तपाईंले भनेको कुरा सही होला। चिन्तन, सोच र चेतनाका हिसाबले तपाईं जहाँ-जहाँ देख्नुहुन्छ, त्यो दुनियाँले देख्दैन होला, त्यो कुरा मानें। तर, तपाईंले के देख्नुभयो भन्ने प्रमाणित गर्नुपर्छ होला नि त?’ दर्शन र ज्ञान चेतनामा यो भनाइको धेरै ठूलो योगदान छ। भनेका कुरा व्यवहारमा देखाउनुपर्छ।

प्रधानमन्त्री ओली राम्रो हुनुहोला, सरकार राम्रो होला, यसले राम्रो गरेको पनि होला, त्यो त प्रमाणित हुनुपर्ला नि। त्यो भनेको देखिने होला नि, छुन, सुन्न वा अनुभूति गर्न सकिने होला नि। यो सरकारले राम्रो गरेको थियो वा नराम्रो भन्ने प्रश्न काल्पनिक हिसाबले गर्छौं भने उत्तर पनि काल्पनिक हुन्छ। यदि यसलाई व्यावहारिक प्रश्न मान्ने हो भने प्रमाणित गर्नुपर्छ।

तपाईंले हेर्दा अहिले सरकारमाथि आम मानिसको विश्वास धर्मराएको देख्नु हुन्छ?
म जहाँ छु, त्यहाँबाट भन्दा यो सरकारमाथिको विश्वास धर्मरायो वा खत्तम भयो भनिहाल्न मिल्दैन। तर, हामीले राम्रो गरेका छैनौं।

यस्तै भइराख्यो भने के हुन्छ?
अरू त धेरै कुरा होलान्। यसमा लाग्ने मान्छेहरूका कुरा छन्। ती कार्यकर्ताको कुरा छ। तिनको संकल्पको कुरा छ। यो समाजको संकल्पको कुरा छ। विभिन्न तह र तप्काका मान्छे, महिला, गरीब, खान-लाउन नपाएका मान्छे, दलित, ५२ डिग्रीको धुपमा अरबमा ऊँट चराउँदै गरेका मान्छे छन् र त्यहाँ पनि बाँच्न नपाएर बाकसमा फर्किरहेका मान्छे छन्।

हाम्रा चेलीहरू छन्, जो विदेशी डान्सबार र वेश्यालयमा नारकीय जीवन बिताइरहेका छन्। त्यहाँबाट फर्कंदा पनि लुटिएर फर्केका छन्। हामीले राम्रो काम गर्न सकेनौं भने यी सबै ठाउँमा प्रभाव पर्छ। तिनको जिन्दगीमा प्रभाव पर्छ। कर्णालीमा स्लाइन पानी नपाएर मरिरहेका मान्छे, जवानीसमेत नदेखेर हुर्केका र १७ वर्षमा बूढी भइसकेका छोरी र दिदी-बहिनीहरू, यिनको जिन्दगीमा फरक पर्छ।

यिनको जिन्दगीमा हामी एक कदम भए पनि प्रभाव पार्न सक्थ्यौं होला। कमसेकम स्लाइन पानी दिन सक्थ्यौं होला। कर्णालीमा झिंगा र जुठेल्नासँग खेल्दै हुर्केकी बहिनीलाई स्याउ उद्योगमा ल्याएर काम गर्ने वातावरण दिन्थ्यौं होला, उसले महिना-महिनामा पैसा बुझ्थी होला। पटुकामा पैसा राखेर घर फर्किन्थी होला, त्यो पैसाले बच्चो पढाउँथी होला। त्यो बच्चोले नयाँ कुरा सुन्थ्यो होला, काठमाडौंमा गणतन्त्र र जनताको शासन आयो भनेर पढ्थ्यो होला। यी सबै कुरामा यसबाट प्रभाव पर्छ।

काठमाडौंमा बसेका, घुमेर खाएकाहरूलाई त धेरै असर नगर्ला। स्वास्थ्योपचारमा पनि उनीहरू मेदान्ता वा अपोलो जालान् वा थाइल्याण्डको समितिभेज जालान्, तिनलाई खासै फरक नपर्ला। किनभने, काठमाडौंबाहिरको नेपालमा बाटो नबनेर तिनलाई समस्या भएको छैन। तिनलाई कहीँ जानुपर्ने पनि छैन, कहीँबाट केही ल्याउनुपर्ने पनि छैन। तिनले आफूले उत्पादन गरेको सिमी ल्याएर यहाँ काठमाडौंमा बेच्नुपर्ने पनि छैन। सर्पले टोकेर अस्पताल लैजानुपर्ला भन्ने अवस्था पनि तिनलाई छैन।

बाटो त कसलाई चाहिन्थ्यो भने जसलाई सर्पले टोकेर रातविरात आधा घण्टामै अस्पताल पुर्‍याउन सकिँदैन। हाम्रो विकास पनि तिनलाई चाहिने हो। तिनलाई जोड्ने अर्को शक्ति छैन भनेर हामीले जोड्छौं भनेका हौं। अब हामी असफल हुने भनेको तिनको जिन्दगी असफल हुनु हो। त्यसकारण २१ औं शताब्दीमा हाम्रा जनताको जुन नारकीय जीवन छ, त्यसलाई सकारात्मक प्रभाव पार्ने जुन सम्भावना थियो, त्यो तुहिन्छ। समाजवाद, समृद्धिका गफको त कुरै छाडिदिऊँ, हामी बर्बाद हुन्छौं भन्ने मलाई लाग्छ।

हामी त्यतैतर्फ उन्मुख छौं त?
एक वर्षलाई सम्पूर्ण मूल्यांकन गर्नु हुँदैन। तर, एक वर्ष मात्रै हेर्दा हामी त्यतै छौं। यद्यपि, हामी सकियौं भन्ने मलाई अहिले किन लाग्दैन भने मान्छे विश्वास पनि छिट्टै गर्छन्, अविश्वास पनि छिट्टै पलाउँछ। हाम्रै पार्टीका करिब ८ लाख संगठित सदस्यमध्ये १ लाखले जब यो भएन भन्ने बुझ्छन् नि, त्यसपछाडि अहिलेको नेतृत्वले या त ती १ लाख मान्छेले ठीक गरेनन् भनेर यहीँबाट कान समातेर उठबस गर्न लगाएर ठीकठाक पार्छन्। या ती कार्यकर्ताले नै यो नेतृत्वको काम छैन भन्ने सावित गर्छन् र नयाँ नेतृत्व बनाउँछन्। त्यो दुइटै गर्न सकेनन् भने नेकपाले आफ्नो ऐतिहासिक भूमिका गुमाउँछ।

राष्ट्रपति भवनमा मान्छेले घुँडा टेके। हामीले कस्तो मान्छे बनाउँछौं भन्ने कुराको असाध्यै उम्दा उदाहरण यो हो। मेरा अगाडि तपाईंले घुँडा टेकेको देखेर मलाई आनन्द हुने हो भने त त्यो ‘स्याडिजम’ हो।

सरकार भनेको यस्तै हुन्छ भन्ने मनोविज्ञान पनि छ नि?
मलाई अहिले पनि के लाग्छ भने मध्यमवर्गसम्म रहेको तर राम्रै गरी जिन्दगी बिताइरहेको समाजको एउटा तप्कालाई केही फरक परेको छैन। फरक पर्दैन पनि। एक अर्थमा त्यो खुशी पनि होला। मालपोत, नापी, भन्सार, सीडीओ कार्यालय, मन्त्रीहरूदेखि फाइल, सरुवा बढुवामा सबै उस्तै छ भने यसमा रमाइरहेको एउटा संख्या १० लाख होला, १५ लाख होला, तिनलाई खासै फरक नपरेको होला। मिडियामा पनि त्यसको पहुँच छ, राज्यमा, पुलिस प्रशासनमा सबैतिर। त्यसलाई खासै फरक नपर्ला। त्यसले सरकार भनेको यस्तै हो भन्छ।

तर, हामी आफैंले कबोल गरेर करिब ५० लाख जनताको मत लिएका छौं। हामीले त धेरै ठूलो संकल्प पो सिर्जना गरेका छौं त। मान्छेहरूमा राष्ट्रिय माग सिर्जना गरेका छौं। त्यो धेरै राम्रो गरेका हौं भन्ने लाग्छ। किनभने, यसपालिको आम निर्वाचनमा भारत र चीनलाई हाम्रो बाटोबाट जोड्ने, रेल ल्याउने कुरा भए। हामीले निर्वाचनमा कर्णाली, मधेश, महिला, दलित र जनजातिको जीवन फेर्छौं भन्ने संकल्प गरेका छौं नि। यो असाध्यै महत्वपूर्ण राष्ट्रिय संकल्प हो।

तर, सरकार त्यो दिशातर्फ गइराखेको छैन, त्योचाहिँ चुनौती हो। हामीले साँच्चै क्रान्तिकारी काम गर्‍यौं भने अघि भनिएको १० लाख पंक्ति हामीसँग रिसाउला, त्यतिखेर हामीले हिम्मत गर्नुपर्छ। यी कम्युनिष्ट भनेका पनि हामीजस्तै रहेछन् भनेर अहिले त्यो १० लाख खुशी छ।

साँच्चै कम्युनिष्ट पार्टीले जस्तै सरकार चलेको भए ऊ दुःखी हुने थियो। ऊ जोसँग, जुन वर्ग र उसका मागसँग डराउँथ्यो, डराउनु नपर्ने भयो। यसर्थ यो खुशी छ। आम रूपमा जनतालाई हामीले जे दिने भनेका छौं, त्यो दिइराखेका छैनौं। यो ठूलो चुनौती हो।

जनतामा अपेक्षा चुलिनु पनि समस्या हो त?
नचुलिनु पनि समस्या हो। चुलिनु, पूरा नगर्नु पनि समस्या हो। अझै ठूलो समस्या चुलिनु तर यिनीहरूले समस्याको समाधान गर्न खोज्दैछन् भनेर समेत बुझ्न नसक्नु वा जनताले त्यस्तो नदेख्नु राजनीतिमा अझ ठूलो समस्या हो।

मनोवैज्ञानिक रूपमा भन्ने हो भने त्यसले ठूलो समस्या ल्याउँछ। मान्छे भनेको आफैंमा शक्ति हो, त्यो कि उकालो लाग्छ कि ओरालो। तपाईंले उकालो बाटो दिनु भएन भने त्यो ओरालो हिँडिहाल्छ। त्यसले तपाईंलाई पनि घचेट्छ। तपाईंले या त पूरा गर्नुपर्छ, या त पूरा गर्दैछु भनेर देखाउनुपर्छ। तपाईंले भन्नुपर्‍यो- ‘रेल ल्याउने भनेको यो यो समस्या रहेछ, आज होइन भोलि ल्याउनु पर्नेरहेछ, के गर्ने भनेर तपाईं भन्नूस्।’

‘यहाँ दूध डेरी खोलेर देशभरका ४ लाख मान्छेलाई जागिर दिने कुरा आज एकदमै जरुरी भयो, नत्र हामीले त्यो पैसा रेलमा हाल्नुपर्ने भयो, के गरौं ल भन्नूस् त’ भनेर सोध्यो भने दूध डेरीको कुरा जनता आफैंले गर्नेछन्। यसले बनाउन खोजेको रेल पनि हो, अहिले सकेको छैन भन्छन् र मान्छन् पनि।

जस्तो- सांसद र राजनीतिक पार्टीका मान्छेहरूले हाम्रो बजेटको विरोध गरे, जनस्तर चुपचाप बस्यो। किनभने, जनताले शंकाको सुविधा हामीलाई दिए। तर, हामीलाई ठग्यो भन्ने जनताले थाहा पाए भने भड्किन्छन्। नेपाली जनमत अझै छिटो भड्किन्छ।

त्यसकारण, ठूला आकांक्षाहरू हामीले गर्न सक्ने कति हो, त्यति भन्दिऔं न- आज गर्न सक्ने यति हो तर जानेचाहिँ त्यतै हो। हामीलाई रेल पनि चाहिन्छ, हाम्रो पानीजहाजचाहिँ प्रशान्त महासागरमा होला, राम्रै होला।

हामी सबैलाई त्यसबाट खुशी पनि मिल्ला। तर, मेरो छोरा वा छोरीको जिन्दगी, यहाँका दलित, खान र पढ्न नपाएको, परित्यक्त, भोकमरीमा हुर्केको बच्चाले त्यो जहाजसँग आफ्नो जिन्दगी देख्नुपर्‍यो, त्यो बनाउनुपर्‍यो। त्योचाहिँ हामीले गरिराखेका छैनौं।

म यो पार्टीको स्थायी कमिटीको सदस्य हुँ, ‘हाइरार्की’को हिसाबले ठूलो नेता भन्नुपर्यो। पार्टी एकतादेखि अहिलेसम्म पार्टीले मलाई एउटा पनि काम यो तपाईंले हेर्नुहोला भनेको छैन। मसँग त केही खास कारणले नभन्लान्, मलाई काम नदेलान्। तर, कसैलाई पनि भनेका छैनन्।

सचिवालयका मान्छेहरू पनि बैठकमा बस्छन्, असन्तुष्टि व्यक्त गर्छन्। अनि, कहीँ गएर उद्घाटन आदिमा व्यस्त हुन्छन्, यस्तै मात्र देखेको छु। ६-७ महिना बित्दाखेरि एक महिनामा सकिने एकीकरणको काम अहिलेसम्म गर्न नसक्नेहरू पनि हाम्रो पार्टी भन्दैछन्, हामीले तिनलाई नेता भन्दैछौं। नेकपा चलेको छ त? चलेकै छैन। यो त हिले पोखरीजस्तो छ, कुनै तरंग छैन। ढुंगा वा ठूलै इँटा फाल्नुभो भने ढ्याप्प गर्छ। यसलाई फेर्नुपर्छ, फेर्न सकिन्छ र फेरिन्छ। म किन यसो भनिरहेको छु भने हामीसँग ठूलो जिम्मेवारी छ, जिम्मेवारी मात्र छैन, हामीसँग अथाह साधन र स्रोत पनि छ।

यही नेतृत्वले कुनै बेला आशा पनि जगाएको हो। उकालो लागेको थियो, ओरालो लाग्यो भन्नुभो। फेरि उकालोमा लैजान गर्ने के त?
२०६२-०६३ को आन्दोलनअघि राजाले सत्ता लिएपछि तत्कालीन एमालेले बुटवलमा ठूलो भेला गर्ने निर्णय गर्‍यो। त्यसका लागि मलाई २ महिना नवलपरासी पठाइएको थियो। म त्यहाँ गएर बसें। शुरुमा जिल्ला कमिटीको बैठक राखेर अब आन्दोलन गर्नुपर्‍यो, राजाले यसो गरे भन्दाखेरि २ वटाजति बैठकमा जिल्ला कमिटी तयार भएन।

तर्क के थियो भने हामी फेरि पनि मरिमेटेर काम गरौंला, यो सारा गरेपछि जनतालाई जगाउँला पनि, राजाबाट त्यो सबै अधिकार पनि खोसौंला। फेरि पनि हाम्रो नेतृत्वले के ठान्नेछ भने यो यसै हाम्रा बुताले आयो, यो हाम्रो कमाइ हो, हाम्रा बर्कतले ल्याइयो भन्छ र फेरि यसले लिएर राजालाई नै बुझाउने हो। त्यसकारण यो नेतृत्वले अझै २-४ चोट पाओस् भनेर दुई वटा बैठकमा निर्णय नै हुन सकेन। लगातार प्रयत्न भएपछि तेस्रो बैठकमा सहमति जुट्यो।

भन्नुको अर्थ, तलको ग्राउण्डलाई जगायो भने गर्न सकिन्छ। समस्या माथि छ। जे आएको हो, त्यो मैले ल्याएको भन्छ उसले। आजको चुनौती पनि त्यही संस्कार हो। नेतृत्वले यो सबै बुझिदियो भने केही समस्या छैन।

त्यस्तो पंक्ति आज पनि छ, तल्लो तहमा?
अहिले पनि छ। हाम्रा कर्मले गर्दा अलि निराश छ। त्यो पंक्ति क्रमशः कमजोर बन्दैछ किनभने हामीले त्यसलाई सम्बोधन गरिराखेका छैनौं। हिजोआज त हामी उनीहरूसँग छलफल नै गर्दैनौं। त्यसपछि त्यहाँ जाने हामीलाई फुर्सद नै भएन। फेरि पनि अघि मैले भनेजस्तै धेरै मान्छे, आम मान्छे असल नै हुन्छन्। लोकतन्त्रले मान्ने यही हो। त्यस हिसाबले हरेक युगको राजनीतिक चेतना हेर्दा त्यो पंक्ति आज पनि छ।

समाधान त्यही पंक्तिले नै दिने हो?
हो, स्वभावैले त्यही हो। या त्यो पंक्तिले नेतृत्वलाई सुधार्छ, या त्यो पंक्तिले आफ्नो नेता बनाउँछ। इतिहास यसैगरी हिँड्छ अगाडि।

प्रतिकृया दिनुहोस