अर्थ/बजारआइतबार, २३ मंसिर , २०७५

शेयरको अनलाइन कारोबार- प्रभावकारितामा अझै संशय

शरद ओझा

अनलाइन माध्यमबाट शेयर खरीद गर्न कारोबार सीमा र बिक्री गर्न डिम्याट खातामा शेयर हुनुपर्छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गएको २० कात्तिकबाट शेयर कारोबारमा अनलाइन प्रणाली सञ्चालनमा ल्यायो। तर, लगानीकर्ता आफैंले शेयर खरीद-बिक्री गर्न नपाएपछि अनलाइन कारोबारबारे अन्योल सिर्जना भएको छ। नेप्सेका अधिकारीहरू भने पहिलो चरणमा ब्रोकर कार्यालयमा सफ्टवेयर सञ्चालन गर्ने योजनाअनुसार काम भइरहेको र आगामी २३ मंसीरदेखि लगानीकर्ताले पनि घरैबाट शेयर कारोबार गर्न सक्ने बताउँछन्।

विगतमा निजी नेटवर्क इन्ट्रानेटबाट शेयर कारोबार हुने गरेकोमा अब सार्वजनिक नेटवर्क इन्टरनेटबाट हुनेछ, जसबाट ब्रोकर कार्यालयमा खाता खोलेपछि जुनसुकै ठाउँबाट शेयर कारोबार गर्न सकिने नेप्सेका आईटी विभाग प्रमुख निरञ्जन नायक बताउँछन्। “लगानीकर्ता आफैंले शेयर खरीद-बिक्री गर्ने र रकम लिने/दिने काम ब्याङ्किङ प्रणालीबाटै गर्न सकिने गरी अहिले नयाँ सफ्टवेयर ल्याएका छौं,” उनी भन्छन्।

लगानीकर्ताको चासो
लामो समयदेखि चर्चा चले पनि सफ्टवेयर निर्माण प्रक्रियाका कारण ढिलो गरी सञ्चालनमा आएको अनलाइन शेयर कारोबारबारे लगानीकर्ताहरू अन्योलमा छन्। नेपालको शेयर बजारमा यो प्रणाली नयाँ भएकाले लगानीकर्ता प्रष्ट नभएको इन्भेष्टमेन्ट फोरमका अध्यक्ष अम्बिका पौडेल बताउँछन्। उनका अनुसार शेयर कसरी किन्ने, पैसा कसरी तिर्ने भन्नेबारे अलमल देखिएको छ।

शेयर खरीद-बिक्रीका लागि अहिलेसम्म ब्रोकरकहाँ धाउनुपर्ने बाध्यता छ। अनलाइन प्रणाली सञ्चालनमा आएपछि अब इन्टरनेट भएका जहाँसुकैबाट सहज रूपमा कारोबार गर्न सकिने हो या होइन भन्नेमा अधिकांश लगानीकर्ताको चासो छ। घरबाटै अनलाइन कारोबार गर्नुअघि खाता खोल्न लगानीकर्ता एक पटक ब्रोकर कार्यालयमा पुग्नुपर्ने हुन्छ।

डिजिटल केवाईसी (नो योर क्लाइन्ट) सेवा प्रदायक एजेन्सी नभएको अवस्थामा कागजात प्रमाणीकरण र सम्झौता गर्न ब्रोकर कार्यालयमा जानैपर्ने स्टक ब्रोकर एसोसिएसनका उपाध्यक्ष टंक गौतम बताउँछन्। “डिजिटल केवाईसी भएमा लगानीकर्ताले डिम्याट खाता र अनलाइन कारोबार गर्ने खाता घरैबाट खोल्न सक्छन्,” उनी भन्छन्।

डिजिटल केवाईसीका लागि नेप्सेको सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेडले काम गरिरहेको छ। तर, तत्कालका लागि ब्रोकर कार्यालयमा जानुको विकल्प नरहेको नेप्सेका आईटी विभाग प्रमुख नायकको भनाइ छ।

यस्तै, शेयरको अनलाइन कारोबारमा सहज भुक्तानीबारे पनि लगानीकर्ताहरूको चासो छ। शेयर खरीद गर्दा ब्याङ्क खाताबाट तत्काल रकम तिर्ने र बिक्री गर्दा खातामा जम्मा हुने व्यवस्था उनीहरूले चाहेका छन्। शेयर बजारका जानकार तथा लगानीकर्ता आत्माराम घिमिरे उक्त व्यवस्था कार्यान्वयन नभए अनलाइन कारोबार प्रभावकारी नहुने बताउँछन्।

नेपाल स्टक ब्रोकर एसोसिएसनका उपाध्यक्ष गौतम भने शेयर किनेलगत्तै खाताबाटै पैसा काटिने र बिक्री गरेलगत्तै खातामा पैसा जम्मा हुने प्रणाली कतै नभएको दाबी गर्छन्।

एक दिनमा त्यही शेयर किन्न र बेच्न सक्ने व्यवस्था सफ्टवेयरका कारण नभई ‘इन्ट्रा डे ट्रेडिङ’ लागू नभएकाले सम्भव नरहेको गौतमको भनाइ छ। अनलाइन शेयर कारोबारलाई सहज बनाउन भुक्तानी प्रणालीका लागि नेशनल पेमेन्ट गेटवे बन्नुपर्ने उनको धारणा छ। “अहिले भने शेयर खरीद-बिक्रीवापत अनलाइन ब्याङ्किङ र नेपाल क्लियरिङ हाउसको माध्यमबाट रकम भुक्तानी गर्न सकिन्छ,” उनी भन्छन्।

सानिमा ब्याङ्कका डिजिटल ब्याङ्किङ प्रमुख विक्रम श्रेष्ठ पनि एउटा ब्याङ्क तथा वित्तीय संस्थामा रहेको रकम अर्कोमा सजिलै सार्न सकिने नेशनल पेमेन्ट गेटवे बने शेयर बजारमा मात्र नभई समग्र क्षेत्रमा सुविधा हुने बताउँछन्। नेपाल राष्ट्र ब्याङ्कको पेमेन्ट एण्ड सेटलमेन्ट डिपार्टमेन्टका प्रमुख देवकुमार ढकालका अनुसार आगामी वर्षसम्ममा पेमेन्ट गेटवे सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

उक्त प्रणाली नभए पनि अनलाइन शेयर कारोबारमा आर्थिक कारोबार गर्न खासै समस्या नरहेको विभिन्न ब्याङ्क तथा वित्तीय संस्थामा भुक्तानी व्यवस्थापनको काम गर्दै आएको नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधान बताउँछन्। उनका अनुसार ७५ ब्याङ्क तथा वित्तीय संस्थामा ब्रोकर कम्पनीले एनसीएचएल आईपीएसबाट लगानीकर्ताको खातामा पैसा पठाउन सक्ने र ४७ ब्याङ्क तथा वित्तीय संस्थाबाट कनेक्ट आईपीएसको माध्यमबाट भुक्तानी लिन सकिन्छ।

कस्तो छ सफ्टवेयर ?
अनलाइन शेयर कारोबारसम्बन्धी नेप्सेको सफ्टवेयरका २० वटा भाग छन्। यसमध्ये नेप्से अनलाइन टेड्रिङ सिस्टम (नट्स) महत्वपूर्ण हो। नट्स- ब्याङ्क, ब्रोकर, डिम्याट खाता, सीडीएस एण्ड क्लियरिङ लिमिटेड, नेप्सेमा सूचीकृत कम्पनी र डाटा सेन्टरसँग जोडिएको हुन्छ। नट्सभित्र रहेका म्याचिङ इञ्जिन, सर्भिलेन्स र जोखिम व्यवस्थापन प्रणाली शेयर खरीद-बिक्रीसँग सम्बन्धित महत्वपूर्ण भाग हुन्।

लगानीकर्ता आफैंले वा ब्रोकर कम्पनीका प्रतिनिधिले शेयर खरीद-बिक्री गर्न दिएको अर्डर म्याचिङ इञ्जिनमा मिलेपछि मात्र कारोबार हुन्छ। कारोबार म्याचिङ हुन शेयर खरीद वा बिक्री गर्न चाहेको संख्या र मूल्य मिल्नुपर्छ।

यस्तै, सर्भिलेन्स भागले लगानीकर्ता, ब्रोकरलगायतले गरिरहेका कारोबारको गतिविधि विश्लेषण गरेर अवैध कार्य गर्नेलाई कारबाही गर्न सघाउँछ। कसले कति रकमको कारोबार गरेको छ, कुन स्रोतबाट लगानी गरेको छ आदि सबै तथ्यांक हेर्न सकिने भएकाले शेयर बजारलाई पारदर्शी बनाउन सर्भिलेन्स फिचरले भूमिका खेल्ने आईटी विभाग प्रमुख नायक बताउँछन्।

अर्को महत्वपूर्ण भाग जोखिम व्यवस्थापनको मुख्य काम शेयर कारोबार गर्दा हुने जोखिमलाई न्यूनीकरण गर्नु हो। शेयर कारोबार गर्न लगानीकर्ता र ब्रोकर कम्पनीलाई कारोबार सीमा (ट्रान्जेक्सन लिमिट) आवश्यक हुन्छ। ब्रोकर कम्पनीले नेप्सेबाट र लगानीकर्ताले ब्रोकर कम्पनीबाट पाउने कारोबार सीमा ६० प्रतिशत प्रयोग भएपछि जोखिम व्यवस्थापन प्रणालीले सीमा बढाउन जानकारी दिन्छ। १०० प्रतिशतको सीमा प्रयोग गरेपछि पनि शेयर कारोबार गर्न खोजे र कारोबारका नियम पटक-पटक उल्लंघन गरे सिस्टम आफैंले कारोबार रोक्का गर्छ।

कसरी गर्ने कारोबार ?
लगानीकर्ताले अनलाइन शेयर कारोबारको महत्वपूर्ण भाग ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा गई शेयर खरीद वा बिक्री गर्न सक्नेछन्। यसका लागि युजरनेम र पासवर्ड चाहिन्छ। शेयर कारोबार शुरू गर्नुअघि लगानीकर्ताले युनिक युजर कोड (यूयूसी) लिनुपर्छ। यूयूसी कोड लिन लगानीकर्ताले ब्रोकर कार्यालयमा आफ्नोबारे विस्तृत विवरण दिनुपर्छ। ब्रोकर कार्यालयले नेप्सेमा लगानीकर्ताको नागरिकता सम्बन्धी विवरण पठाएपछि यूयूसी जारी हुन्छ।

ब्रोकर कम्पनीले यूयूसीका आधारमा लगानीकर्तालाई क्लाइन्ट कोड र पासवर्ड उपलब्ध गराउँछन्। लगानीकर्ताले खाता खोल्दा दिएको इमेलमा आउने युआरएल लिंकबाट पासवर्ड परिवर्तन गरेर युजरनेममा क्लाइन्ट कोड राखी शेयर कारोबार गर्न सक्छन्।

शेयर खरीद गर्नुअघि लगानीकर्ताले ब्रोकर कार्यालयमा सम्झौता गरी कारोबार सीमा लिनुपर्छ। यस्तो सीमा लिन शेयर खरीद गर्न चाहे बराबरको न्यूनतम २५ प्रतिशत रकम ब्रोकरको ट्रेडिङ खातामा अग्रिम जम्मा गर्नुपर्छ। यदि लगानीकर्ताले कारोबार सीमा लिएर पनि शेयर कारोबार नगरी रकम फिर्ता लिन चाहेमा टीएमएसबाट ब्रोकर कम्पनीलाई आग्रह गर्नुपर्छ। ब्रोकर कम्पनीले उक्त आग्रह सदर गरेपछि ब्याङ्कले लगानीकर्ताको खातामा रकम जम्मा गरिदिन्छ।

शेयर बिक्री गर्न डिम्याट खातामा शेयर हुनुपर्छ। टीएमएसमा अर्डर प्रविष्ट भए पनि जोखिम व्यवस्थापन प्रणालीले डिम्याट खातामा शेयर नभएको अर्डरलाई निष्क्रिय पार्छ। टीएमएस ब्याङ्क र सीडीएस एण्ड क्लियरिङ लिमिटेडसँग जोडिने भएकाले शेयर रहे/नरहेको र सीमा भए/नभएको जानकारी सहजै प्राप्त हुन्छ।

हाल नेप्सेले राफसाफ गर्ने सम्झौता गरेका प्रभु ब्याङ्क र नेपाल इन्भेष्टमेन्ट ब्याङ्क नेप्से अनलाइन टेड्रिङ सिस्टम (नट्स) मा जोडिइसकेका छन्। यसैले उक्त दुई ब्याङ्कमा खाता भएका लगानीकर्ताले अनलाइनबाट शेयर कारोबार गर्न पाउनेछन्। राफसाफ सम्झौता भएका ग्लोबल आईएमई ब्याङ्क र सिद्धार्थ ब्याङ्क नट्स सिस्टममा जोडिने क्रममा छन्। नेप्सेका आईटी प्रमुख नायक भन्छन्, “सबै वाणिज्य ब्याङ्कलाई नट्समा क्रमशः जोड्ने गरी काम भइरहेको छ।”

प्रतिकृया दिनुहोस