प्रिमियर लिगः डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको पहिलो हार, चेल्सी २–० ले विजयी
डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको इङलिस प्रिमियर लिगको जारी सिजनको अपराजित यात्रामा विराम लागेको छ । यो सिजन कसैले हराउन नसक्ने टिमको छबि बनाएको सिटीलाई शनिबार राति सम्पन्न लिगको १६ औं खेलमा लन्डन क्लब चेल्सीले २–० गोलले पराजित गरेको हो ।
सिटीको पहिलो हारसँगै लिगमा अपराजित टिमका रुपमा बाँकी लिभरपुल मात्र छ । लिभरपुलले शनिबार नै सम्पन्न खेलमा बर्नमाउथलाई ४–० ले पराजित गरी लिगमा पहिलो पटक शीर्षस्थान ओगटेको छ । चेल्सीसँग पराजित भएसँगै सिटी दोस्रो स्थानमा झरेको छ । समान १६ खेलबाट लिभरपुलको ४२ र सिटीको ४१ अंक छ ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा सिटी शुरुदेखि नै खेलमा हावी भएको थियो । पहिलो १० मिनेटभित्रै प्राप्त अवसरलाई रहिम स्टर्लिङले गोलमा परिणत गर्न नसकेपछि सिटी शुरुवाती अग्रता लिन चुकेको थियो ।
पहिलो हाफको आधा समय खेल पूर्णतः सिटीको नियन्त्रणमा थियो । तर, त्यसपछि चेल्सीले सुधारिएको प्रदर्शन गर्यो । पहिलो हाफको ४५ औं मिनटमा चेल्सीले बनाएको सुन्दर मुभमा एंगोलो कान्टेले शानदार गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
पहिलो हाफमा चेल्सीले सिटीको पोस्टमा गरेको प्रहार यही नै थियो । त्यो गाेलमा इटालिनयन प्रशिक्षक माउरिजियो सार्रीले चेल्सीको नेतृत्व सम्हालेपछि चर्चित हुन पुगेको ‘सार्री बल’को प्रदर्शन भएको थियो र अन मार्क कान्टेलाई इडेन हजार्डले शानदार पास उपलब्ध गराइदिएका थिए ।
चेल्सीको यो गोलसँगै हजार्ड प्रिमियर लिगको यो सिजनमा सर्वाधिक १५ गोलमा संलग्न हुने पहिलो खेलाडी बनेका छन् । हजार्डले ७ गोल आफैले गरेका छन् भने ८ गोलमा अन्तिम पास उपलब्ध गराएका छन् ।
दोस्रो हाफमा दुवै टिमले सुधारिएको प्रदर्शन गरे पनि त्यसमा चेल्सी हावी भयो । ७८ औं मिनटमा प्राप्त कर्नर किकमा डेबिड लुइजले सुन्दर हेडर गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे । सिटीको बलियो रक्षापंक्ति तोडेर लुइजले गरेको हेडर रोक्न सिटीका गोलरक्षक एडरसनले कुनै मौका नै पाएनन् ।
यो जितसँगै पछिल्ला तीन खेलमा धर्मराएको चेल्सी लयमा फर्किएको छ । तीनमध्ये दुइटा खेलमा चेल्सीले पराजय व्यहोरेको थियो । यो जितपछि चेल्सी ३४ अंकसहित लिग तालिकाको चौंथो स्थानमा छ । तेस्रो स्थानमा रहेको टोटनहमको ३६ अंक छ भने समान ३४ अंक नै रहेको आर्सनल गोलअन्तरमा चेल्सीभन्दा पछाडि छ ।