झकिझकाऊ जानकी मन्दिर (तस्वीर कथा)
जनकपुरस्थित जानकी मन्दिर राम-जानकी विवाह महोत्सवका लागि झकिझकाऊ सजिएको छ।
महोत्सवको दोस्रो दिन २२ मंसीरमा जानकी मन्दिरस्थित विवाहमण्डपमा फूलबारी लीला गरियो। त्रेतायुगमा भगवान श्रीराम लक्ष्मणसँगै मिथिलाधाम घुम्न आउँदा पूजा आराधनाका लागि फूल टिप्न फूलबारीमा पुगेका बेला जानकीसित भेट भएको जनविश्वासमा उक्त धार्मिक विधि पूरा गर्ने गरिन्छ।
विवाहमण्डपस्थित फूलबारीमा ३ बालकहरूलाई श्रीराम, लक्ष्मण र जानकीको भेषमा सजाएर फूलबारी लीला गरिएको हो। रामायणका श्लोकलाई गीत र संगीतबद्ध गरी उत्सव हेर्न आएका भक्तजनलाई जानकी मन्दिरका पूजारीले मन्त्रमुग्ध बनाएका थिए।
साताव्यापी महोत्सवको तेस्रो दिन २३ मंसीरमा धनुष यज्ञ, चौथो दिन २४ मंसीरमा तिलकोत्सव, पाँचौं दिन २५ मंसीरमा मटकोर, छैटौं दिन स्वयम्बर र विवाहोत्सव तथा सातौं दिन अयोध्याबाट आउने जन्तीलाई बिदाइस्वरूप राम कलेवा गर्ने चलन छ।
ईश्वरचन्द्र झा, जनकपुर