ओली र दाहाल नआउँदा बसेन नेकपाको सचिवालय बैठक
अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू नै अनुपस्थित भएपछि २२ मंसिरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्न सकेन।
बैठकका लागि निर्धारित समय दिउँसो ३ बजे बालुवाटार पुगेका सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सदस्यहरू नारायणकाजी श्रेष्ठ र वामदेव गौतम १५ मिनट बैठक कक्षमा बसेर बाहिरिए।
“अध्यक्षद्वय र महासचिव आउनुभएको थियो भने बैठक हुन्थ्यो,” सचिवालय सदस्य श्रेष्ठले हिमालखबरसँग भने, “उहाँहरू नै आउने निधो नभएपछि हामीले पनि पर्खिरहन जरुरी ठानेनौं र बैठक कक्षबाट बाहिरियौं।”
पार्टी संगठन र पद्दति ठूला नेताहरूले नै अवज्ञा गर्ने गरेको उल्लेख गर्दै श्रेष्ठले दुःख व्यक्त गरे। गृहमन्त्री रामबहादुर थापासहित नेकपाको सचिवालय ९ सदस्यीय छ। २२ मंसिरको बैठकमा नेकपाका पार्टी र जनवर्गीय संगठनहरूको एकीकरणको बाँकी काम टुंगो लगाउने विषयमा छलफल हुने अजेण्डा थियो।