ब्लगआइतबार, २३ मंसिर , २०७५

रुबी भ्याली रिपोर्ट

कनकमणि दीक्षित

उत्तर धादिङको यो विकट ठाउँ विपन्न हुनुपर्ने कारण छैन, तर विपन्न छ ।

धादिङको उत्तरी भेकमा पर्ने खोंचमा, गणेश हिमालको फेदैमा छ, रुबी भ्याली गाउँपालिका । काठमाडौंबाट हप्ता दिन हिंडेर पुगिने ठाउँ अहिले मौका मिले हेलिकप्टरबाट आधा दिनमै घुमफिर गर्न पाइन्छ । यस्तै जुर्‍यो, जब काडूरी च्यारिटेबल ट्रष्टका भूकम्प पुनर्निर्माण निर्देशक (ब्रिटिश गुर्खा) मेजर जुद्धबहादुर गुरुङको एसएमएस निम्ता आयो ।

काठमाडौं उपत्यकाको उत्तर–पश्चिम किनारमा पर्ने ककनी र रानीपौवा बस्ती छिचोल्दै त्रिशूली नदी कटेर हामी बूढीगण्डकीको पानीढलो पस्यौं । तुवाँलोलाई तल छाडेर दाहिने पर्वतको काखतिर हेलिकप्टर मोडियो । गणेश हिमालको फेदमै पुग्दा भिरालो पाखा र खर्क मात्रै देखिए । क्याप्टेन सिद्धार्थ गुरुङले त्रिभुवन विमानस्थलबाट २३ मिनेटको उडानमा हामीलाई लिन्जो गाउँमा झारे ।

लिन्जो र छेउकै पुरु गाउँमा १२ वैशाख २०७२ को भूकम्पले प्रायः सबै घर ढालेको रहेछ । चार जनाको ज्यान गएछ । झोलुंगे पुल, साना जलविद्युत् निर्माण र कृषि प्रवर्द्धनमा पहिल्यैदेखि यहाँ लागिपरेका मेजर जुद्धबहादुरले पुनर्निर्माणको कार्यक्रम थालिहाले ।

उत्तरी धादिङको यो भेकलाई काठमाडौंका प्रशासक र बौद्धिकले पञ्चायतकालदेखि नै परैबाट भए पनि नियाल्दै आएका हुन् । सोमदाङ भन्ने ठाउँमा एउटा खानी सञ्चालन गरिएको थियो भने यो क्षेत्रमा राजदरबार मातहतको सेतो ‘आलुएट’ हेलिकप्टर खूब ओहोरदोहोर गर्थ्यो ।

गणेश हिमालमुनिको यो इलाकामा रुबी र अन्य बहुमूल्य रत्न पाइने बताइन्छ । स्थानीय जनता र राष्ट्रिय ढुकुटीलाई ‘बाइपास’ गर्दै यसको गोप्य रूपमा निकासी भइरहेको हल्ला धेरै वर्ष चलेकै हो ।

उतिबेला नै यो ठाउँ चर्चामा आउने अर्को कारण थियो- धर्म परिवर्तन । विकट र विपन्न दुवै भएकोले शायद यो क्षेत्र यस्तो कार्यका लागि आकर्षक बन्यो । आज यो ठाउँमा इसाई धर्म पनि एउटा ‘परम्परा’ बनिसक्यो । बुझेसम्म यहाँका तामाङ र घले समुदायमध्ये करीब आधा आधा बुद्धमार्गी र इसाई छन् । नेपालको यो अनकन्टार कुनाका इसाईहरू तीन उप-समूहमा बाँडिएका छन्- क्याथोलिक, पेन्टकोस्टल र चर्च अफ क्राइस्ट ।

नयाँ संविधानअन्तर्गत राज्य पुनर्संरचनामा यहाँका विभिन्न गाविस र वडाहरूलाई मिलाएर एउटा नाम दिनुपर्दा ‘रुबी भ्याली गाउँपालिका’ नै रोजियो । यसो हुनुको कारण रुबी उत्खननको इतिहास नै हुनुपर्छ । सबै गाउँ मर्स्युङ लेकको उत्तरी मोहडामा अवस्थित छन्- सबैभन्दा माथि लिन्जो, अनि पुरु, लाप्दुङ, सेर्तुङ, टिप्लिङ (ठूलो गाउँ) र लावा । खोलापारि बस्ती नभई भेडीगोठ मात्र छन् । किनकि यहाँबाट गणेश हिमालको उचाइको भिरालो पाखो शुरु हुन्छ ।

१२ वैशाख २०७२ को भूकम्पमा मृत्यु भएका चुलीमाया तामाङ र विकास तामाङको स्मृतिमा पुरु गाउँमा खडा गरिएको चौतारो । तस्वीरः कनकमणि दीक्षित

धेरैलाई थाहा भएकै कुरा हो, हिमालका ‘फेद वासी’ हरूमध्ये हिमशिखरको आफ्नै मौलिक पुरानो नाम हुन्छ, जसलाई परैबाट नेपाली नाम दिइन्छ, कि त विदेशी पर्वतारोहीले नामकरण गरिदिन्छन् । (जस्तै, चोमोलोङ्गमा नामलाई सगरमाथा र एभरेष्ट भनियो ।) गणेश हिमाल शृंखलाको सन्दर्भमा गणेश १, २, ३ को समूहलाई पाबिल भनिन्छ, र पूर्वको पर्वतलाई पाल्डोर । सोध्दै गर्दा रुबी भ्यालीको खोंचमा बस्ने धेरैले आसपासका शिखरको पुरानो नाम बिर्सिसकेको भान हुन्छ । एक घले युवाले आफ्नो हजुरबुवाले सुनाएको भन्दै बल्लतल्ल सम्झने चेष्टा गरे- पाबिल भनिएको हिमाललाई ‘शायद’ लाप्साङ गर्बो भनिन्थ्यो ।

‘पाबिल’ नाम कसरी आयो भन्नेमा एउटा तर्क भेटियो- माथि हिउँमुनिको खर्कलाई ‘बाबुल खर्क’ भन्दा रहेछन्, स्थानीय । हुनसक्दछ, काठमाडौंका प्रशासक अथवा विदेशी पर्वतारोहीहरूले ‘बाबुल’ को अपभ्रंश गरी हिमाली चुचुरालाई नै ‘पाबिल’ नामकरण गरिदिए ।

पर्वतारोहीको कुरा गर्दा यस भेकको भविष्य पर्यटन प्रवर्द्धनमा आधारित हुनुपर्ने हो । तर, लिन्जो गाउँका एक ठालु भन्छन्, “यहाँ के गर्न सकिन्छ भनेर हामीलाई कसैले बताउँदैन, त्यसैले कतार र मलेशिया जान बाध्य छौं ।”

उनलाई कसले भनिदेओस्, २००५-०६ सालतिर मोहनशमशेरको शासनकालमा पश्चिमा पर्वतारोहीको नेपालमा पहिलो ‘एक्सपिडिशन्’ यहीं आएको थियो । बेलायती एच्. डब्लु. टिल्म्यान् एक नामुद आरोही तथा राम्रा लेखक थिए, जसले टोलीसहित गणेश हिमाल चढ्न कोशिश गरे ।

असफल भएपछि पूर्वतिर लाङटाङ र जुगल हिमाल क्षेत्रको अनुसन्धान गर्दै इन्द्रावती उपत्यका झरे । उनले लेखेको पुस्तक ‘नेपाल हिमालय’ नै यस रुबी भ्यालीको चिनारीको पहिलो स्रोत सामग्री मानौं ।

घाम ढल्कँदै जाँदा हामी पनि ठीक २३ मिनेटको हेली यात्रामा काठमाडौं उपत्यका फर्कियौं । क्याप्टेन सिद्धार्थ गुरुङको हातमा यसपालि बूढीगण्डकीको खोंच नभई सीधै मस्र्युङ लेक छिचोल्ने गरी हेलिकप्टर आकाशियो ।

लिन्जो र पुरु गाउँ माथिको जंगल-पाखामा चक्कर लगाउँदै हामीले पाङसाङ भञ्ज्याङ काट्यौं, करीब १२ हजार फिट नाघेर । तल हेर्छु त यतिको उचाइ र अनकन्टारमा पनि अन्यत्र जस्तै डोजर-निर्मित बाटो बन्दै !

उत्तरी धादिङमा मोटरगाडी प्रवेशले थप विपन्नता र पलायन होइन, आर्थिक-सामाजिक ऊर्जा भित्र्याउनुपर्छ । यसको सम्भावना मुख्यतः पर्यटन र पर्वतारोहणबाट पूरा हुने देखिन्छ, जबकि शुरुआत समेत हुनसकेको छैन । केही युवासँग कुरा गर्दा भने रुबी भ्याली गाउँपालिकामा एक किसिमको भाग्यवादले अड्डा जमाएको देखियो– “हामीलाई केही थाहा छैन सर, कता के कसरी गर्ने हो ।”

तर गर्ने कुरा धेरै देखिन्छन् । अधिकांश परिवारले आफ्ना बालबच्चा धादिङबेंसी अथवा काठमाडौं पठाउँदा रहेछन् यहाँको सरकारी स्कूलमा भरोसा नभएर । सडक जोडिन लागेको यस क्षेत्रमा तरुणहरू फर्केर यतै इलम गर्ने अवस्था सृजना गर्नु नै पहिलो योजना हुनुपर्‍यो ।

यसको लागि गणेश हिमालमा आधारित पर्यटन र पर्वतारोहणको सम्भावना छ । यहाँका घले र तामाङ युवा पर्यटन र पर्वतारोहण पथप्रदर्शकमा आकर्षित हुनुपर्‍यो, गराउनुपर्‍यो ।

प्रतिकृया दिनुहोस