काठमाडौंमा अन्तर्राष्ट्रिय बडी बिल्डिङ च्याम्पियनसिप हुँदै
आगामी ३-४ फागुनमा काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको बडी बिल्डिङ च्याम्पियनसिप आयोजना हुने भएको छ।
प्रतियोगिताको आयोजना ‘आईएफबीबी-प्रोफेशनल लिग’को नेपाल च्याप्टर ‘आईएफबीबी लिग-नेपाल’ले गर्न लागेको हो। ‘आईएफबीबी-प्रोफेशनल लिग’ हलिउड स्टार तथा शारीरिक सुगठनका बादशाह मानिने आर्नोल्ड स्वेज्नेगर आबद्ध रहेको संस्था हो।
प्रतियोगिताको नाम ‘आईएफबीबी-प्रोफेशनल लिग नेपाल, बडी बिल्डिङ च्याम्पियनसिप-२०१९ (प्रो क्वालिफायर)’ राखिएको छ। जसमा अन्तर्राष्ट्रिय बडी बिल्डिङका हस्तीहरूलाई सम्मिलित गराउने आयोजक संस्थाको तयारी छ।
प्रतियोगिताको सञ्चालन प्रतिष्ठित बडी बिल्डर बब चिकोरिलोले गर्ने भएका छन्। उनले ‘मिस्टर ओलम्पिया’ सञ्चालन गर्दै आएका छन्। ‘आईएफबीबी लिग-नेपाल’का अध्यक्ष सानु गुरुङद्वारा प्रकाशित प्रेस विज्ञप्तिअनुसार प्रतियोगितामा २० भन्दा बढी मुलुकका करीब २ सय खेलाडी सम्मिलित हुनेछन्।