समाचारशनिबार, २२ मंसिर , २०७५

नेपाली बाजाका जापानी साधक

मुकेश पोखरेल

नेपाल आएर यहाँका लोकबाजा बजाउन सिकेका जापानीहरूले संस्था नै गठन गरेर जापानमा नेपाली वाद्यवादनलाई निरन्तरता दिइरहेका छन् ।

जापानको टोक्योमा भएको जापान फेस्टिवलमा नेपाली पोशाक र बाजाका साथ जापानी कलाकार ।

जापानको टोक्यो र ओसाकामा जापानीहरूले खोलेको संस्था छ, भान्सा परिवार । नाममा भान्सा जोडिए पनि यो संस्थाले खाना होइन संगीत पस्किन्छ ।

विभिन्न प्रयोजनमा नेपाल आएर यहाँका लोकबाजा बजाउन सिकेका जापानीहरूले नेपाली संगीतलाई निरन्तरता दिन भान्सा परिवार गठन गरेका हुन् । यो परिवारका सदस्यहरू साताको एक दिन भेला भएर सारङ्गी, मादल, बाँसुरीलगायतका बाजा बजाउँछन् । नेपाली संगीतबारे छलफल गर्छन् ।

भान्सा परिवार ले नेपालबाट प्रशिक्षक बोलाएरै प्रशिक्षण दिने काम पनि गरिरहेको छ । अधिकांशको रुचिमा सारङ्गी परेकाले काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक एवम् सारङ्गीवादक भरत नेपाली भान्सा परिवार को निम्तोमा तीन पटक जापान पुगेर प्रशिक्षण दिइसकेका छन् । भन्छन्, “नेपाली संगीतलाई उनीहरूले धेरै माया गरेका छन्, नेपालमा अलिक हेपिएको सारङ्गीले त्यहाँ राम्रै महत्व पाएको छ ।”

सारङ्गीमा बढेको मोह
हिरोमी कातासुई नेपाल आएको तीन वर्ष भयो । हाल एक गैरसरकारी संस्थामा कार्यरत उनी अझै दुई वर्ष नेपालमै रहनेछिन् । कातासुईको ठूलो रहर छ– यो अवधिमा राम्रो सारङ्गीवादक बन्ने । हरेक शनिबार दुई घण्टा सह–प्राध्यापक नेपालीसँग प्रशिक्षण लिइरहेकी उनी दैनिक बिहान–बेलुका पनि सारङ्गी रेटिरहेकी हुन्छिन् । उनी भन्छिन्, “सारङ्गीको धुन मनमै बसेको छ, त्यसैले फुर्सदको समय यसमै बिताउँछु ।”

नेपालीसँगै प्रशिक्षण लिइरहेकी कुमिको कासागीलाई पनि नेपाल आएपछि मात्रै देखेको सारङ्गीको धुनले मन छोयो । उनी भन्छिन्, “भायोलिन भन्दा सानो तर उस्तै खालको सारङ्गीकोे धुन सुनेपछि यो बजाउने रहर पलायो ।” दुई वर्षअघि नेपाल आएकी आयाका तानाका पनि अहिले सारङ्गी बजाउन जान्ने भइसकेकी छन् ।

ललितपुरको सानेपामा नेपाली बाद्यबाधन सिक्दै जापानी कलाकार । तस्वीरः मुकेश पोखरेल

नेपाली भाषा राम्रै बोल्ने उनी भन्छिन्, “सारङ्गी बजाउन सिक्नु मेरा लागि ठूलो उपलब्धि भएको छ ।” तानाकाले पनि स्कूल पढ्दा भायोलिन बजाउन सिकेकी थिइन् । उनीहरू सबै जापान फर्केपछि भान्सा परिवार मा आबद्ध भएर सारङ्गीवादनलाई निरन्तरता दिने योजनामा छन् ।

सह–प्राध्यापक नेपालीका अनुसार अहिलेसम्म करीब ५०० जापानी नागरिकले उनीबाट सारङ्गीवादनको प्रशिक्षण लिइसकेका छन् । उनी भन्छन्, “विभिन्न कामको सिलसिलामा नेपाल आएका जापानीहरूको रुचि सारङ्गीमा बढी देखिन्छ ।”

नेपाल आएपछि मात्र देखेको सारङ्गीप्रति जापानीले यस्तो मोह देखाउनुको कारण के होला त ?

जवाफमा नेपाली भन्छन्, “जापानमा भायोलिन लोकप्रिय छ, स्कूलदेखि नै भायोलिन सिकेका अधिकांश जापानीहरू उस्तै देखिने सारङ्गीप्रति आकर्षित हुन्छन् ।” देख्दा उस्तैउस्तै र रेटेरै बजाउने भए पनि भायोलिन र सारङ्गीले निकाल्ने आवाज भने फरक हुन्छ । नेपाली अगाडि भन्छन्, “नेपालको मौलिक बाजा भएको र अन्यत्र नदेखेकाले पनि उनीहरूमा सारङ्गीप्रति मोह भएको हुनुपर्छ ।” सारङ्गी प्रशिक्षार्थी कातासुई विद्यालय पढ्दा ताकाको भायोलिनसँगको सम्बन्ध १० वर्षपछि सारङ्गीले जोडिदिएको बताउँछिन् ।

त्यसो त सारङ्गी मात्र होइन मादल र बाँसुरी सिक्ने जापानीहरू पनि छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मा कार्यरत कोहोई ताकाहासीले दुईवर्षे नेपाल बसाइका क्रममा मादल बजाउन सिकेका छन् ।

मादल बजाउन सिकेकोमा खुशी देखिने उनी भन्छन्, “मादल पहिलो पटक नेपालमै देखें, शुरूमा गाह्रो लागे पनि अहिले लोकगीतमा ताल दिनसक्ने भइसकेको छु ।” उनी पनि जापान फर्केपछि भान्सा परिवार मा आबद्ध हुने बताउँछन् । भन्छन्, “नेपाली बाजा मौलिक छन्, त्यसैले राम्रो लाग्छ ।” 

प्रतिकृया दिनुहोस