ब्लगशनिबार, २२ मंसिर , २०७५

मनमोहनले एक्लै नारा लगाउँदा...

भैरव रिसाल

कोट–पाइन्टमा टिपटप मनमोहनजी नयाँसडक आउने बित्तिकै एक्लै नारा लगाउन थाले– ‘नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद ! पञ्चायत शासन मूर्दावाद !’

पञ्चायती शासन जल्दोबल्दो अवस्थामा थियो । राजनीतिक दल प्रतिबन्धित रहेको समयमा दलका नेताहरूमा आवेग चर्को थियो । त्यसमध्ये मनमोहन अधिकारी पञ्चायत विरुद्ध कडा रूपमा प्रस्तुत हुन्थे ।

कम्युनिष्ट पार्टीहरूमा खुट्टा तानातान र मतभेद हुने क्रम बढेपछि केही समयसम्म सुस्ताएका उनले २०३६ सालतिर आफ्नो छुट्टै दल नेपाल कम्युनिष्ट पार्टी (मनमोहन) खोलेका थिए । दल सानो भए पनि हिम्मत ठूलो !

एकदिन असन डबलीको पश्चिमतिर सडकमै भेटिए कमरेड मनमोहनजी । सामान्य शिष्टाचारपछि मैले कुरा गर्न खोजें । उनलाई अब यसले अन्तर्वार्ता लिने सुर कस्यो भन्ने लाग्यो क्यार । गम्भीर लवजमा भनिहाले, “हामीलाई जोगाएर राख्नोस् है । नत्र बीउ नै मासिएला !” म राष्ट्रिय समाचार समिति (रासस) को प्रमुख समाचारदाता थिएँ ।

सरकारी स्वामित्व भएको समाचार संस्थाको पत्रकारमाथि कम्युनिष्ट नेता सशंकित हुनु स्वाभाविकै थियो । दलका नेताको राजनीतिक वक्तव्य पूरा छापिंदैन, केही गरी छापिइहाले पनि तोडमोड गरेर आउँछ भन्ने लागेर उनले सजग गराउन माथिका कुरा भनेका रहेछन् । मैले अन्तर्वार्ता लिन खोजेको होइन भनेपछि बल्ल उनी सामान्य भए ।

विरोध प्रदर्शनमा एक्लै
अग्लो कद भएका कमरेड मनमोहनको व्यक्तित्व आकर्षक थियो । सधैं सुकिलो कोट–पाइन्ट र पालिसले टिलिक्क पारेका जुत्तामा देखिन्थे । भाषण गर्दा अनावश्यक कुरा नबोली विषयमा केन्द्रित भएर प्रखर बोल्ने । उनी मानिसहरूलाई बुझ्न सजिलो होस् भनेर सम्बन्धित विषयको संक्षिप्त इतिहास पनि उल्लेख गर्थे ।

मनमोहनजी एक्लै मूल सडकमा नारा लगाएर हिंडेका दुइटा घटना म झलझली सम्झन्छु । विद्यार्थी आन्दोलनले तातेको काठमाडौं शहरमा सुरक्षाकर्मीको तैनाथी हरदम रहन्थ्यो । चार जना पनि सँगै हिंड्न नपाइने । नयाँसडकमा कुन कुनाबाट कतिबेला जुलूस निस्कन्छ भनेर पूरा बजार नै प्रतीक्षामा थियो ।

त्यसै क्रममा कोट–पाइन्टमा टिपटप मनमोहनजी सुन्धारा हुँदै खिचापोखरीतिरबाट लम्किंदै आए । नयाँसडक टेक्नासाथै कोटको खल्तीबाट कम्युनिष्ट पार्टीको झण्डा झिकेर एक्लै नारा लगाउन थाले, “नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद ! पञ्चायत शासन मूर्दावाद !”

दुई–चार पटक नारा लगाउन के भ्याएका थिए, प्रहरीले कठालो समातिहाल्यो । उनलाई झ्याइँकुटी पारेर भ्यानमा हालियो र हनुमानढोका प्रहरी कार्यालयतिर लगियो ।

त्यस्तै अर्को घटना सम्भवतः २०३६ सालको आन्दोलनताकाको हो । मनमोहनजी वीर अस्पतालतिरबाट भोटाहिटी मोडमा आए । उसैगरी कम्युनिष्ट पार्टीको हँसिया हथौडा अंकित झण्डा निकालेर एक्लै नारा लगाउन थाले । प्रहरीले तत्कालै समातेर झण्डा खोस्यो र भ्यानमा राखेर दौडाइहाल्यो ।

यसरी मनमोहनजीले असनमा भएको भेटमा भने जस्तै साँच्चै कम्युनिष्ट आन्दोलनको बीउका रूपमा भूमिका निर्वाह गरे । कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको निधन भएपछि उनको पार्टीसँग एकता भएर २०४३ सालमा कम्युनिष्ट पार्टी (माक्र्सवादी) बन्यो, जसको महासचिव मनमोहन बने । अलिपछि भने उनले ‘कम्युनिष्ट’ नाम ट्रेडमार्क मात्र हो भन्न थालेका थिए ।

मनमोहनजीले २०४५ सालमा पञ्चायत विरुद्ध नेपाली कांग्रेससँग मिलेर आन्दोलन चर्काउने प्रस्ताव गरेछन् । तर, गणेशमान सिंहजीले ‘कम्युनिष्ट पार्टीहरू धेरै छन्, कुनलाई लिने बरु मिलेर आए विचार गरौंला’ भनेछन् ।

त्यसै क्रममा २०४६ सालको आन्दोलन अगाडि मनमोहन नेतृत्वको नेकपा माक्र्सवादी, मदन भण्डारी नेतृत्वको नेकपा माले र अन्य समूह मिलेर संयुक्त वाम मोर्चा बन्यो र कांग्रेससँग मिलेर पञ्चायत विरुद्ध संयुक्त आन्दोलन गर्‍यो ।

जनआन्दोलनको सफलतापछि माले र माक्र्सवादी पार्टीबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्यो, जसको पहिलो अध्यक्ष मनमोहनजी भए । २०५१ को मध्यावधि निर्वाचनमा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा (एमाले) बाट उनी प्रधानमन्त्री पनि भए ।

त्यो भूमिगत बसाइ
मनमोहन अधिकारीसँग मेरो चिनजान २००९ सालदेखि नै थियो । त्यतिबेला सग्लै पार्टी थियो, नेपाल कम्युनिष्ट पार्टी । मनमोहनजी पार्टीका महासचिव थिए ।

उतिबेला म संस्कृत छात्र संघमा आबद्ध थिएँ । आलुमा दोहोरो भन्सार महसुलको विरोधमा मकवानपुर, भीमफेदीका व्यापारीहरूले गरेको आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन म पनि भीमफेदी गएको थिएँ । चार वटा विद्यार्थी संघबाट चार जना गएका थियौं ।

त्यहाँ मेरो सक्रियता देखेपछि नेपाल कम्युनिष्ट पार्टीले मसँग सम्पर्क बढायो । समर्थक हुँदै २००९ सालमा पार्टीको सदस्य नै भएँ ।

जेल तथा सिंहदरबार कब्जा गर्ने के.आई. सिंह काण्डसँग मुछेर सरकारले पार्टीलाई अवैध घोषित गरेपछि हामीले भूमिगत रूपमा काम गर्न थाल्यौं । पोलिटब्यूरोमा मनमोहनसँगै पुष्पलाल, तुलसीलाल अमात्य, कमर शाह, शैलेन्द्रकुमार उपाध्याय थिए ।

पुष्पलाल, मनमोहनहरूले हामी सदस्यहरूलाई हप्ताको दुई–तीन दिन प्रशिक्षण दिन्थे । जिल्ला कमिटीका सम्मेलनहरूमा पोलिटब्यूरो सदस्यहरू प्रायः सहभागी हुन्थे ।

यस्तो सम्मेलनमा हामी सुकुलमा सुत्थ्यौं । इँटाको सिरानी लगाउँथ्यौं । ओढ्ने कुरा भने सहभागी आफैंले लगिन्थ्यो ।
त्यति पुरानो चिनजान भएकाले पनि होला, मनमोहनजीले ‘बीउ जोगाउन’ मलाई सजग पारेका । 

प्रतिकृया दिनुहोस