कला/साहित्यशनिबार, २२ मंसिर , २०७५

पुस्तक समीक्षा- जात्रामा जीवन्त संस्कृति

सविना देवकोटा

गीत-संगीत, नृत्य, पर्व र जात्राले समुदायलाई समृद्ध बनाएका हुन्छन्। अनगिन्ती नाचगान र जात्राले समृद्ध नेवार समुदायमा अनेकौं मौलिक जात्रा छन्, जसमध्ये केही जात्रालाई समेटेर फोटो पत्रकारद्वय रेखा शाक्य र शरण डंगोलले जीवन्त संस्कृतिहरू पुस्तक तयार पारेका छन्।

काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर, पनौती, दोलखा र पोखराका २५ जात्राबारे स्थलगत अवलोकन र अध्ययन गरी लेखकद्वयले पुस्तकलाई सूचनाप्रधान बनाएका छन्। यसर्थ पुस्तकलाई जात्रामार्फत नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक सम्पन्नता बुझ्ने आँखीझ्याल मान्न सकिन्छ।

यो फोटो पुस्तक जानकारीमूलक त छ नै, केही अद्‍भुत लाग्ने परम्पराका जानकारीले पाठकलाई रोमाञ्चित तुल्याउँछ। जस्तैः प्रत्येक वर्ष दशैंको नौरथाभरि मनाइने खोकनाको सिकाली अर्थात् सिद्धिकाली जात्राको पाँचौं दिन २४ घण्टासम्म निरन्तर जात्रा चलिरहन्छ।

जात्रा अवधिभरिमा २४ थरी नाच प्रदर्शन गरिन्छ। त्यस्तै, दोलखामा मनाइने लोकेश्वर जात्राका क्रममा ढुंगाको सिंढी भएको उकालो बाटोमा ३२ हात लामो दशतले रथलाई तल्लो टोलबाट माथिल्लो टोलसम्म तानेर पुनः तल ल्याइन्छ। बेलाबेला रथ बिग्रेर वा बाटोको जोखिमका कारण जात्रा सम्पन्न गर्न तीन महीनासम्म लागेको प्रसंग पनि पुस्तकमा छ। मकवानपुर, चित्लाङको कपु गाउँका करीब ५४ जनाको समूहले नाच्ने काति नाचका लागि चाहिने रु.४-५ लाख स्थानीय आफैंले व्यहोर्दा रहेछन्। यस्ता तथ्यले संस्कृतिप्रति नेवारहरूको लगाव झल्काउँछ।

कतिपय जात्रा एउटै भएर पनि ठाउँ अनुसार अलग-अलग नाम र तरिकाले मनाइँदै आएको प्रसंग रोचक छ। जस्तैः विक्रम संवतको नयाँ वर्षको स्वागत गर्ने दिनलाई भक्तपुरमा बिस्का जात्रा, काठमाडौंको टोखामा बिस्केट जात्रा र थिमीमा बिस्का बालकुमारी जात्रा अर्थात् जिब्रो छेड्ने जात्राको रूपमा मनाइन्छ।

पुस्तकले जात्राहरूको पुनरुत्थानप्रति बढेको उत्साहबारे पनि चर्चा गरेको छ। दोलखाको सयौं वर्ष पुरानो श्री करुणामयको रथ जात्रामा रकम र जनशक्तिको अभाव भएपछि २०३९ सालदेखि विश्राम लिई सानो रथमा मात्रै सञ्चालन हुन थाल्यो। तर, २०५५ सालमा स्थानीय कालिञ्चोक युवा क्लबले पुनः ठूलो रथ बनाई त्यसयता निरन्तर जात्रा सञ्चालन गरिरहेको विवरण संस्कृति संरक्षणमा नेवार युवाले देखाएको उत्साहको एउटा उदाहरण हो। पुस्तकमा यस्ता दृष्टान्त अरू पनि छन्।

नेवार समुदायमा लामो समयदेखि प्रचलित जात्राहरू इतिहास बुझ्ने आधार पनि हुन्। नेवार समुदायले धार्मिक सहिष्णुतालाई महत्व दिएको उदाहरण पनि पुस्तकमा छ। तान्त्रिक परम्परा रहेको सिकाली जात्रामा नाचिने सिकाली नाचमा बौद्ध र हिन्दू दुवै धर्मको अस्तित्व हुन्छ।

जात्रा नेवार समुदायको सामाजिक चेत झल्काउने माध्यम पनि बनेको छ। पनौतीको इन्द्रेश्वर जात्रामा देखाइने महादेव र भद्रकालीको समागम दृश्यले नेवार संस्कृतिभित्र रहेको खुला समाजको झल्को दिएको प्रसंग पुस्तकमा उल्लेख छ। उक्त जात्रामा रथलाई तीन-चार पटक ठोक्काउने प्रचलन रासलीलाको प्रतीक भएको तथ्य लेखकद्वयले उजागर गरेका छन्।

समयसँगै जात्रामा आएका कतिपय परिवर्तनका प्रमाणहरू पनि पुस्तकले पस्केको छ। ललितपुरको पाँच सय वर्ष पुरानो जल प्यांख (हरिसिद्धि) नाच शुरुमा तीन महीनासम्म देखाउने गरिएकोमा बीच-बीचमा रोकिँदै पछि एक दिनमा सीमित हुन पुगेको तथ्य तिनैमध्येको एउटा उदाहरण हो। अर्कातिर, पोखराको नवदुर्गा गं प्याखं: पहिले १२ वर्षको अन्तरालमा निकालिने गरेकोमा पछिल्लो पुस्ताले त्यसलाई छोट्याएर ६ वर्षको अन्तरमा गर्न थालेको छ।

पुस्तकले नेवारी परम्परामा कायम आचारसंहिता र नियमबद्ध रीतिरिवाज पनि दर्शाउँछ। जस्तो कि, सिकाली नाचमा सहभागी हुने सबै गणले जीवनभर जुँगा, दाह्री र कपाल पाल्नुपर्ने, नृत्य चलुञ्जेल सेतो पगरी, जामा र भोटो लगाउनुपर्ने अनि जुत्ता लगाउन नहुने नियम छ। यस्तै, कीर्तिपुरको गं मखाः गु प्याखं जात्रामा नाचका सहभागी पुरुषहरूलाई गठेमंगलदेखि दशैंको दशमीमा नाच नसकिँदासम्म श्रीमतीसँग शारीरिक सम्बन्ध वर्जित गरिएको छ।

जात्राको जीवन्त संस्कृतिमा केन्द्रित पुस्तक विषयअनुसारको प्रस्तुतिमा भने विकेन्द्रित देखिन्छ। साँखुको बज्रयोगिनी जात्रामा स्थानीय सात गाउँका किसानले चार दिनसम्म काम गर्न नहुने मान्यताबारे पुस्तकमा उल्लेख छ। तर, यस्ता मूल्य-मान्यता के कारणले स्थापित हुन पुगे र तिनको व्यावहारिकता के कति सिद्ध भएको छ भन्नेबारे खोतलिएको छैन।

त्यस्तै, सेतो मत्स्येन्द्रनाथको जात्रामा १० तलाको ३२ हात लामो रथ बनाउन लाग्ने समय, श्रम र साधनबारेको खुल्दुली नमेटिँदा खल्लो महशूस हुन्छ। स्थलगत अवलोकन गरेर लेखिएको भए पनि अधिकांश जात्राहरूको विवरणमा स्थानीय स्वाद र सुगन्ध कमै पाइन्छ।

१२ वर्षे हल्चोक भैरव जात्राको नाचका लागि स्थानीय पुतवार समुदायले ऋणपान गरी करीब १४-१५ लाखसम्म खर्चंदै मौलिक परम्परालाई जोगाउने प्रयास गरिरहेका छन् भन्ने जानकारी पनि अपुरो लाग्छ। यो विषय उठाइसकेपछि जात्राको सामाजिक अर्थतन्त्रबारे पुस्तकले संक्षेपमै भए पनि उत्खनन् गर्नुपर्थ्यो। अधिकांश किंवदन्तीको प्रसंगमा वाक्य गठन अमिल्दो भएकाले सम्पादन पक्ष फितलो लाग्छ।

यी कमजोरीका बाबजूद पुस्तकको सबल पाटो भने हरेक जात्राका चित्ताकर्षक तस्वीरहरू हुन्। लेखकद्वयका अनुसार यस पुस्तकका लागि उनीहरूले खर्चेको सात वर्षको अवधिमा खिचिएका तस्वीरहरूले नै पुस्तकको नाम 'जीवन्त संस्कृतिहरू'लाई सार्थक तुल्याएका छन्।

पुस्तक- जीवन्त संस्कृतिहरू (जात्रासंग्रह)
लेखक- रेखा शाक्य र शरण डंगोल
प्रकाशक- डा. हेरम्बबहादुर राजभण्डारी र स्नेहलता राजभण्डारी
पृष्ठ- २२८ मूल्य रु.१०००

प्रतिकृया दिनुहोस