कला/साहित्यशुक्रवार, मंसिर २१, २०७५

काठमाडौं माउन्टेन फिल्म फेस्टिवल शुरु

हिमालखबर

‘काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल’ (किम्फ)को सोह्रौं संस्करण २१ मंसीरदेखि शुरु भएको छ ।

राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा २५ मंसीरसम्म सञ्चालन हुने फिल्म फेस्टिबल पहिलो टेम्पो चालक लक्ष्मी शर्मा, गायिका आनी छोइङ डोल्मा र तबला वादक दावा योङजुङ शेर्मालगायतले सामूहिक रूपमा उद्घाटन गरे। अष्ट्रेलियाली निर्देशक जेनिफर पिडमको डकुमेन्ट्री ‘माउन्टेन’को विशेष प्रदर्शनी गरी महोत्सवको उद्घाटन गरिएको थियो ।

‘माउन्टेन’मा पर्वतको सौन्दर्य, रहस्य र अद्‍भुत शक्तिलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । फेस्टिवलमा नेपाललगायत ३१ वटा देशका ७० भन्दा बढी फिल्म देखाइनेछ । यस वर्ष पनि किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्म देखाइनेछ ।

काठमाडौं महानगरपालिका सह-आयोजक रहेको किम्फ २०१८ को नारा ‘वुमन मुभ माउन्टेन्स’ भन्ने छ । महोत्सवका अध्यक्ष वसन्त थापाले महोत्सवको उद्देश्य समाजमा महिलाको भूमिका र सहभागिता फिल्मको माध्यमद्वारा अगाडि ल्याउनु रहेको बताए ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्ममध्येबाट उत्कृष्ट तीन फिल्म र नेपाल पानोरमाअन्तर्गत परेका २० वटा फिल्मबाट उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्र छनोट गरिने छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमशः अमेरिकी डलर एक हजार ५००, एक हजार र ५०० प्रदान गरिनेछ ।

नेपाल पानोरामाअन्तर्गत आख्यान र गैरआख्यान विधामा क्रमशः रु १ लाख र रु ७५ हजार पुरस्कार व्यवस्था छ । महोत्सवमा प्रदर्शित उत्कृष्ट पर्वतीय फिल्मलाई १ हजार अमेरिकी डलरका पुरस्कार दिइनेछ । किम्फको उत्कृष्ट साहसिक फिल्मलाई आपा शेर्पा फाउण्डेशनले १ हजार अमेरिकी डलरको पुरस्कार प्रदान गर्नेछ र सबैभन्दा बढी दर्शकको रोजाइमा पर्ने फिल्मलाई ‘अडियन्स अवार्ड’ का साथ रु ५० हजार प्रदान गरिने छ । रासस

प्रतिकृया दिनुहोस