पूर्वमन्त्री बिक्रम पाण्डेसहित २१ विरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बिक्रम पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। राष्ट्रिय गौरवको परियोजना सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै आयोगले शुक्रबार मुद्दा दायर गरेको हो।
अख्तियारले नहर निर्माणमा संलग्न कम्पनी कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डेसहित आयोजना प्रमुखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलिपबहादुर कार्की, रमेश बस्नेत, आयोजनाका इन्जिनियरहरू, सिँचाइ विभागका ३ इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
पाण्डेले रु. २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० भ्रष्टाचार गरेको बताउँदै सो रकम बिगो माग गरिएको छ। अख्तियारले आयोजना प्रमुख सरोजचन्द्र पण्डितले रु. ५९ करोड ३४ लाख भ्रष्टाचार गरेको बताउँदै त्यसबराबरको रकम बिगो माग गरेको छ।
आयोजनाका अर्का प्रमुख दिलिपबहादुर कार्कीविरुद्ध रु. १ अर्ब ५६ करोड ८२ लाख भ्रष्टाचारको मुद्दा लगाएको छ। अख्तियारले ठेक्का सम्झौताविपरित ठेकेदार कम्पनी र सिँचाइ आयोजनाका पदाधिकारीहरूले नहर निर्माणमा अनियमितता गरेको अभियोगपत्रमा उल्लेख गरेको छ।
परीक्षणकै क्रममा दुई पटक नहर भत्किएपछि सिक्टा सिँचाइको विषयमा ऊर्जा मन्त्रालयले अनुसन्धान गरेको थियो। परियोजनाको मूल नहरको डिजाइनमै त्रुटि र निर्माणका क्रममा लापरवाही गरेको अख्तियारले निष्कर्ष निकालेको छ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ र ऐनको दफा २३ बमोजिमको कसुरमा दफा ८ को उपदफा ४ बमोजिम सजाय माग गरिएको छ।