अन्तर्वार्ता/विचारशुक्रवार, मंसिर २१, २०७५

“सभापतिज्यु, छेउ लाग्नूस्, नत्र कार्यकर्ताले धकेलिदिनेछन्”

“स्थानीय र प्रदेश तहका अधिवेशन सकेर महाधिवेशनमा जानुपर्छ”

हिमालखबर

तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघ २०६१ को कदम चालेर मुलुकलाई निरंकुशताको बाटोमा अगाडि बढाउँदा त्यतिबेलाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र गणतन्त्रको नारा घन्काएका थिए, युवा नेता गगन थापाले। यतिबेला तीन तहका चुनावमा हार व्यहोरेर थकित कांग्रेसलाई व्युँताउने अभियानमा छन्, थापालगायतका नेताहरू। र, पार्टीको अघिल्लो पुस्ताले बिश्राम लिए मात्र पार्टीले पुनर्जीवन पाउने बताइरहेका छन्, उनीहरू।

प्रस्तुत छ, कांग्रेसको आन्तरिक राजनीति, सार्वजनिक जीवनमा पार्टीको भूमिका, वर्तमान सरकारको कार्यशैलीप्रति कांग्रेसको धारणालगायत विषयमा केन्द्रित रहेर केन्द्रीय सदस्य थापासँग हिमालखबरका लागि उपेन्द्र पोखरेलले गरेको संवादको सम्पादित अंश-

तस्वीरहरू- बिक्रम रार्इ

कांग्रेस सार्वजनिक मञ्चहरूमा त्यति देखिँदैन, के गरिरहेको छ हिजोआज?
भर्खरै जिल्ला सभापतिहरूको भेला सम्पन्न भयो। त्यसअघि कोषाध्यक्षहरूको भेला भएको थियो। केन्द्रीय समिति महासमितिको तयारीमा छ। नेता-कार्यकर्ताहरू संगठित रूपमा महासमितिलाई प्रभावित गर्न खोजिरहनुभएको छ। पार्टीका सबै क्रियाकलाप महासमिति वरिपरि छ।

गुट-उपगुटका भेलाहरू भइरहेको देखिन्छ। के यो दौड महासमितिभन्दा आसन्न महाधिवेशनसम्मका लागि हो?
पार्टीभित्र अहिले भइरहेको ध्रुवीकरणले महाधिवेशनको पृष्ठभूमि तयार गरिरहेको छ। महासमितिको पूर्वसन्ध्यामा यो क्रम बढी भइरहेको छ र यो थप टडकारो बन्दै जानेछ। यसले महासमितिको पृष्ठभूमिलाई नै बढी उजागर गरिरहेको छ र महाधिवेशनको भूमि तयार गरिरहेको छ।

पार्टी संस्थापन पक्ष बाहेकका समूहहरूको बढी भेला भइरहेको पाइन्छ। खासमा संस्थापन पक्षसँग असहमति केमा हो?
नेतृत्व निर्वाचनबाट छानिने भएपछि यस किसिमका समूहगत भेलाहरू हुनुलाई स्वाभाविक मानौं। पार्टीसँग विभाजनको इतिहास भोगेर आएका ‘ब्यागेज’हरू पनि छन्। यसआधारमा पार्टीभित्र समूहहरू बन्ने क्रमलाई म स्वाभाविक रूपमा बुझिदिन आग्रह गर्छु।

तर, अहिलेको अवस्थालाई सामान्य र नियमित मान्न सकिन्न। अहिले भइरहेका यस्ता भेलाहरूको कारणचाहिँ नेतृत्वप्रतिको चरम असन्तुष्टी हो। हुन पनि, पार्टी सभापतिले सामान्यभन्दा सामान्य प्रयास पनि गर्नुभएको छैन।

नेकपा माओवादीसँग मिलेर बनेको सरकार तारिफयोग्य थियो। दुई कम्युनिष्ट मिलेर बनेको सरकार देशका लागि हितकर हुँदैनथ्यो। तर, त्यसपछि पार्टी सभापतिका क्रियाकलाप सहज र पार्टीका लागि हितकारी रहेनन्। पार्टीको हित हुनेछ भन्ने ठानेर चितवन भरतपुरका कांग्रेस कार्यकर्ताले नगरपालिकाको निर्वाचनमा माओवादीलाई मत दिएका हुन्। तर, त्यो पार्टी सभापतिको प्रधानमन्त्री हुने इच्छाअनुरूप मात्र भएको भन्ने पछि थाहा पाए, नेता-कार्यकर्ताले।

दुई कम्युनिष्ट पार्टी मिल्न नदिने पार्टी सभापतिको ध्येय थियो भने पनि उहाँ त्यसमा असफल हुनुभयो। पार्टीको छवि पनि राम्रो रहेन। आज प्रतिपक्षमा रहँदा आम जनताले सरकारसँगको विश्वास गिरेको अवस्थामा आशाको नजरका साथ कांग्रेसतिर हेरिरहँदा कांग्रेसले लिनुपर्ने बाटो उहाँले लिन सक्नु भएन।

महासमिति भेलाबाट चाहिँ हुने के हो?
केही पनि हुँदैन। तर, यो हाम्रो आवश्यकता हो। महासमितिपछि विधानबारेको छलफललाई अरू बढी गम्भीर ढंगले तलसम्म लैजानुपर्छ। महाधिवेशन २ वर्षपछि गरे पनि भयो। तर, दुई वर्ष कुर्नुपर्ने कारण म देख्दिनँ।

महासमितिले परिमार्जन गर्ने विधानको प्रावधानअनुसार स्थानीय तहका एकाइहरू गठन गर्नुछ। अनि, कांग्रेसको राजनीतिक प्रस्तावमा संविधानको स्वामित्वबारे पनि कुरा हुनुपर्छ। एउटा विरोधाभाष छ। एकातिर हामी सुशील कोइरालाको नेतृत्वमा संविधान बनायौं भन्छौं, अर्कातिर यो संविधानमार्फत कांग्रेसले आफ्ना मौलिक कुराहरू छाडेकामा एउटा ठूलो पंक्तिमा अपराधबोध पनि छ।

यसले कार्यकर्तालाई अल्मल्याएको छ, जसलाई नेताहरूका अभिव्यक्तिले मलजल गरिरहेका छन्। संघीयता र समावेशिताका कुरामा पार्टीलाई प्रष्ट पनि गर्नुछ। यो अल्मल्याईबाट पार्टीलाई बाहिर लैजानुछ। हामीले यो कुरा कार्यकर्ता र जनताको तहमा लैजानुछ। बाँकी कुरा त नियमित प्रकृयामा पर्छन्।

तल्ला तहका अधिवेशन गरियो भने महाधिवेशनको माग पनि गर्न सकिएला नि?
पक्कै पनि सकिनेछ। तल्ला तहका अधिवेशनले त्यस्तो माग पनि गर्न सक्नेछ। छाँटकाट हेर्दै गर्दा विधान परिवर्तन गर्ने र मनोनयनबाट तल्ला समितिहरू निर्माण गर्ने तयारीजस्तो देखिँदैछ। पार्टी सभापतिले एक वा दुई वर्ष लम्ब्याउन खोज्दै हुनुहुन्छ, म त्यसको कुनै उपादेयता देख्दिनँ। हामी संविधान बनाएर, निर्वाचन गरेर प्रतिपक्षमा बसेका हौं। अब तल्ला समितिहरूको अधिवेशन सकेर अघि बढ्छौं।

महाधिवेशनको माग पनि गर्नुहुन्छ?
तल्ला समिति बनाएर प्रदेश समिति बनाउनेछौं। सदस्यता वितरण पनि सिध्याउनुछ। यो सबै काम सक्न एक वा डेढ वर्षसम्म लाग्ला। स्थानीय र प्रदेश तहका अधिवेशन सकेपछि महाधिवेशनमा जानुपर्छ।

सदस्यता वितरणमा तपाईंहरूको फरक मत के हो?
संस्थापन वा सभापतिसँग रहनुभएका साथीहरूको भनाइ पदाधिकारीको संख्या थप्नु हुन्न भन्ने छ। अर्कातिर पार्टीको पदाधिकारीको संख्या बढाउनुपर्छ भन्ने छ। यो समूह-समूहको कुरा मात्र होइन। आदिवासी, अल्पसंख्यक, महिलाहरूका आफ्नै खालका माग छन्। तर, मलाई लाग्छ सदस्यताको ढाँचालाई धेरै खल्बल्याउनु हुन्न।

कांग्रेस कार्यकर्तामा आधारित पार्टी हो। पार्टीको आफ्नै परम्परा छ। पार्टीका सदस्यतालाई पूरै खुला गर्नुपर्छ। यसो भयो भने महासमितिपछि बनेका सदस्यहरूबाट निर्वाचित भएर नेतृत्व चुनिन्छ। अहिलेसम्मको परम्पराले नेतृत्वले चाहेको व्यक्ति नै फेरि पनि नेतृत्वमा स्थापित हुने गरी सदस्यता वितरण गर्न खोजिनेछ, अहिले भएका भेलाहरूले पनि त्यसैको संकेत गर्छन्।

अरूले युथफोर्स, वाईसीएल बनाए। त्यही मेसोमा लागेर तपाईंहरूले पनि युवा कांग्रेस बनाउन लाग्नु भएको हो?
यो मैले बनाउन लागेको होइन। मलाई जानकारी भएसम्म कांग्रेसको इतिहास र सिद्धान्तमा गौरव गर्ने तर अहिलेको कार्य सञ्चालन शैली र संरचनामा जान नरुचाउने खासगरी काठमाडौंमा सामाजिक आन्दोलनमा सक्रिय युवाको अभियान हो यो।

यसलाई पार्टीले गम्भीरताका साथ लिएर ती युवालाई पार्टीमा जोड्नुपर्छ। तरुण दल, महिला संघ, नेविसंघमा समेटिन नचाहने त्यस्ता युवालाई पार्टीमा जोड्नुपर्छ। एउटा महत्वपूर्ण कुरा के भने अबको चुनावमा ३५ लाख नयाँ मतदाताले मतदान गर्दैछन्। अबको कांग्रेसले युवा भनेको २०६० सालको आन्दोलनबाट आएको गगन थापालाई देखाएर पुग्दैन।

१५ वर्ष भइसक्यो। ८-१० वर्षको फरकमा पार्टीमा नयाँ पुस्ता आउनुपर्छ। २०६० सालमा आएको मलाई युवा मान्नु मेरो पार्टीको दुःख हो। नेताहरू ७० माथिका छन्। हामीले २८-३० वर्षको उमेर समूहलाई कांग्रेससँग जोड्नुछ। सरकारको असफलताको लाभ भइहाल्छ भनेर कानमा तेल हालेर बसियो भने भोलि धोका खाइन्छ। त्यस्तो नहुन पनि सक्छ।

यसको मतलव युवा कांग्रेसको पछाडि तपाईंहरू हुनुहुन्छ ?
त्यस्तो होइन, उनीहरू स्वतःस्फूर्त आएका हुन्। म उनीहरूको इच्छाको सम्मान गर्छु। म आफैं पनि यस वर्ष ५० हजार युवालाई पार्टीमा भित्र्याउने अभियानमा छु। त्यसो भयो भने त पार्टीलाई राम्रै हुनेछ।

तपाईंको अभियान नेतृत्व सुधार्न कि सरकारविरुद्ध प्रदर्शनमा उतार्न हो?
दुवै थोक गर्नलाई हो।

अहिलेको सरकारप्रतिको कांग्रेसको ताजा धारणा के हो?
यो संख्यात्मक रूपमा बलियो र अवस्थाको हिसाबले सजिलो बेलामा बनेको सरकार हो। संविधान बनेको छ, शान्ति प्रकृयाका धेरै काम भएका छन्। अहिलेका प्रधानमन्त्री पार्टीभित्र पनि शक्तिशाली अवस्थामा भएको देखिन्छ। तर, सेवा प्रदायकको हिसाबले धेरै आशा गरिएको बेला हो।

यो सरकारबाट जनताले धेरै आशा गरेका थिए। सरकारको प्रभावकारिताले हाम्रो नेतृत्वलाई हिनताबोध होला भन्ने सोचेको थिएँ। तर, म गलत भएँ। यो सरकार तीव्र गतिमा अधोगतितिर लागेको छ। विश्राम लिने मनस्थितिमा पुगेका हाम्रा नेताहरू फेरि बौरिन थालेका छन्। हाम्रो पुस्ताको लागि यो अलिक दुर्भाग्यपूर्ण छ।

निर्मला पन्तको हत्यारा पक्राउ गर भनेर टाँसेको पम्प्लेट च्यात्न सरकार लाग्यो, विवादास्पद सम्मेलनमा प्रधानमन्त्री सहभागी भए, यो त ‘कमनसेन्स’ नभएकाले गरेको निर्णय हो।

सुनेको थिएँ, राजा ज्ञानेन्द्रले ‘कु’ गर्ने बेलामा बेलायतबाट ‘कन्सल्ट्यान्ट’ ल्याएका थिए रे। कति घण्टा फोन काट्ने हो भन्ने निर्णय कोठामा बसेर गर्थे रे। महाराजालाई सल्लाह दिने त्यो सल्लाहकार कस्तो थियो होला?

नेपाल कम्युनिष्ट पार्टीमा ठीक त्यस्तै अवस्था छ। योगेश भट्टराई, घनश्याम भुसालहरूले भनेर केही हुनेवाला म देख्दिनँ। प्रधानमन्त्रीका लागि गगन थापा, योगेश भट्टराई र घनश्याम भुसाल सबै एकै पाराका विरोधी भए। प्रधानमन्त्रीलाई साहसी ठानेका थियौं तर उहाँ त अति प्रशंसाको अत्यन्तै भोको र आत्मस्लाघाले ग्रसित हुनुहुँदो रहेछ। प्रधानमन्त्रीलाई भनिदिन सक्ने मान्छे चाहियो कि ‘महाराजा तपाईं धेरै नै नांगिइसक्नुभएको छ।’ तर, यस्तो अवस्थामा पनि ‘तपाईं यति राम्रो हुनुहुन्छ’ भन्नेहरू उहाँका वरिपरि छन्।

प्रतिपक्षले पनि त भन्न किन सकिरहेको छैन?
यसबेला प्रतिपक्षले पनि आफ्नो मञ्चको प्रयोगमा क्षमता राखेको देखिएको छैन भन्ने म मान्छु। प्रतिपक्षको पनि नेताको अनुहार हेरिँदो रहेछ। प्रतिपक्षको मुल नेताले राष्ट्रिय मुद्दा बोल्न नसकेको हो। सुशील कोइरालालाई कमजोर नेता भनिए पनि पार्टी सभापति भएको बेला पार्टी देशैभरि परिचालित थियो।

आज सरकारले काम गर्न नसकेको बेला त्यो खाली ठाउँमा कांग्रेस जानुपर्थ्यो। निर्मला पन्तको बलात्कार र हत्याको विषयलाई हेरौं, सरकारले सुरक्षा र न्याय दिन सकेको छैन। यो कांग्रेसले पूरा सञ्जाल परिचालन गर्न सकिरहेको छैन। हामी संसद र सडक दुवै ठाउँमा सकृय हुन सकिरहेका छैनौं।

यस्तो किन त?
पार्टीको मुख्य नेतृत्वले यो विषयलाई बुझिरहेको छैन। पार्टी सभापतिलाई कुरा बुझाउन सकिएको छैन। बुझ्ने र बुझाउने चरणबाट हामी गुज्रिसकेका छौं। उमेर र परिस्थितिका कारण अब उहाँले विश्राम लिनुपर्छ।

तर, म यो निरपेक्ष रूपमा भनिरहेको छैन, गिरिजाप्रसाद कोइरालाले नेताको रूपमा उमेरको लामो चरण पार गरेपछि देशलाई शान्ति प्रकृयामा ल्याउनुभएको थियो। तर, अहिलेका सभापतिबाट त्यस्तो आशा गर्न सकिन्न। अब पार्टीका नेताहरूको एउटा पुस्ताले पार्टी बचाउनका लागि विस्तारै छेउ लागि दिनुपर्छ। नत्र कार्यकर्ताले उहाँहरूलाई सानोतिनो धक्का दिनुपर्छ।

कांग्रेस र प्रजातन्त्र एकअर्काका पर्याय हुन् भनिन्थ्यो। कांग्रेसको ‘स्पेस’ त साह्रै खुम्चिएको देखियो। कतै प्रजातन्त्रकै ‘स्पेस’ खुम्चिएको हो भन्नुहुन्छ कि?
केही समय अघिसम्म हामी एमालेलाई हामीजस्तै ठान्थ्यौं। तर, आज उहाँहरू अर्को हुनुभएको छ। हिजोको एमाले आज नेकपा बनिसक्दा कताकता अधिनायकवादको धारमा जान खोजेको देखिँदैछ। हिजोका एमाले र माओवादीभित्रका खराब कुराहरूले आज टाउको उठाउन पाएका छन्।

हिजो कांग्रेसले कम्युनिष्टहरू मिल्दा अधिनायकवाद आउँछ भन्दा धेरैले हाम्रा नेताहरूको उपहास गरेका थिए। तर, आज धेरैले त्यही कुरा भन्न थालेका छन्। हिजो त उहाँहरू मौका नपाएर पो बढी लोकतान्त्रिक देखिनुभएको रहेछ।

कांग्रेससँग आशा गर्ने ठाउँ अझै बाँकी छ त?
संविधानको ट्रयाकबाहिर देशलाई जान नदिने, सरकारलाई सेवा प्रदायक बन्नका लागि बाध्य पार्ने। कांग्रेसका जिम्मामा यी काम छन्। सँगै कांग्रेसले भोलि के गर्नेछु भनेर जनतालाई भरपर्दो ढंगले बुझाउनुपर्छ। त्यसैले कांग्रेससँग आशा गर्ने ठाउँ बाँकी छ।

प्रतिकृया दिनुहोस