सुधार गृहमा यातना दिने सञ्चालक पक्राउ, २१ जनाको उद्धार
महानगरीय प्रहरी परिसर काठमाडौंले सुधार गृहबाट २१ जनाको उद्धार गरेको छ।
काठमाडौं-४ सुकेधारास्थित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरूलाई उद्धार गरिएको हो। सुधार गृहमा रहेकाहरूलाई चरम यातना दिएको आरोपमा परिसरको टोलीले सञ्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पक्राउ गरेको छ।
मदिरा र लागूऔषध दुर्व्यसनमा फसेका व्यक्तिलाई समाजमा पुन:स्थापना गराउने उद्देश्यले उक्त सुधार गृह सञ्चालन भइरहेको छ। तर, त्यस्ता व्यक्तिलार्इ सुधार गर्नुभन्दा यातना दिएपछि सञ्चालकलाई पक्राउ गरी त्यहाँ राखिएका व्यक्तिलाई उद्दार गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिए।
“सुधारगृहमा रहेका ३४ मध्ये १३ जना भागेर प्रहरीको शरणमा आर्इ आफूले भोगेका समस्या बताएपछि र उनीहरूका परिवारले सञ्चालकलाई कारवाही गर्न निवेदन दिएपछि बाँकी २१ जनालाई उद्धार गरेका हौं,”एसएसपी लामाले भने, “उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको छ।"
जनही मासिक रु ३५ हजारका दरले एक वर्षको एकैपटक पैसा लिने र अभिभावकलाई भेट्न नदिई विभिन्न किसिमको शारीरिक र मानसिक यातना दिने गरेको अनुसन्धानबाट खुलेको एसएसपी लामाले बताए।
काठमाडौं कपनमा ५ वर्षअघि खुलेको उक्त सुधारगृह २ वर्षदेखि सुकेधारामा सञ्चालित छन्। पक्राउ परेका सञ्चालकलाई अपराध संहिता ऐनको दफा १६८ अनुसार कारवाही चलाइने प्रहरीले जनाएको छ। रासस