समाचारशुक्रवार, मंसिर २१, २०७५

काठमाडौंको रातोपुलमा प्रहरीले गोली चलायो, डकैतीका फरार अभियुक्त पक्राउ

हिमालखबर

डकैतीका ६ वटा घटनामा संलग्नताको अभियोग लागेका एक युवकलाई नियन्त्रणमा लिन प्रहरीले २१ मंसीरमा काठमाडौं रातोपुलमा गोली चलाएको छ।

राजन लिम्बू

महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी इटहरीका राजन लिम्बूलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गोली प्रहार गर्दा उनको दुवै खुट्टामा चोट लागेको छ।

उनको साथबाट चिनियाँ पेस्तोल र ४ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी डकैती र लुटपाटका ६ वटा घटनामा संलग्न छन्।

लिम्बूको समूहले १२ मंसीरमा सुनसरी इटहरीका मनी ट्रान्सफर सञ्चालक सविन दाहाललाई छुरा प्रहार गरी रु. ३ लाख लुटेको थियो। यस्तै, २० भदौ २०६३ मा उनीसहितका ४ जनाले काठमाडौंमा रोवल को-अपरेटिभ लिमिटेडको कार्यालयबाट पेस्तोल देखाउँदै रु. ११ लाख ३० हजार लुटेको जाहेरी पनि परेको छ।

२१ असोज २०६३ मा काठमाडौंको एक गेस्टहाउसको काउन्टरबाट पेस्तोल देखाउँदै रु. ३ लाख ६१ हजार बराबरको धनमाल लुटेको जाहेरी पनि परेको प्रहरीले जनाएको छ। ३० साउन २०६३ मा काठमाडौंकै अर्को गेस्टहाउबाट हतियार देखाएर रु. ८६ हजार ५ सय लुटेको खुलेको छ।

१५ फागुन २०७३ मा झापाको काँकडभिट्टास्थित जीवन विकास लघुवित्तका कर्मचारीलाई पेस्तोल देखाई घर्रामा रहेको रु. १० हजार र कारोबार गर्न आएका वीरबहादुर प्रधानको साथमा रहेको ९० हजार गरी रु. १ लाख लुटेको जाहेरी पनि रहेको प्रहरीले जनाएको छ।

यसैगरी, २ कात्तिक २०६२ मा काठमाडौंमा सन्तोष लिम्बूलाई नियन्त्रणमा लिई नगद र जिन्सी लुटेर लगेको जाहेरी पनि परेको छ।

उनी एक हत्याको घटनामा पनि संलग्न रहेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए। “थप अनुसन्धान भइरहेको छ,” एसपी राठौरले भने।

प्रतिकृया दिनुहोस